सामाजिक क्रान्तिका लागि लोकप्रिय जन सहभागिताको नितान्त आवश्यकता पर्दछ । इटालीका समाजवादी विचारकका विचार अहिलेको हाम्रो समाजका लागी कति सान्दर्भिक हुन्छन् अनुमान गरौं त एक छिन ।
जागिर र ब्यवसायिक जिवनमा कहाँ कहाँ पुगियो तर यसरी मानिसको ठप्प जिन्दगी देखिएको थिएन । अहिले सम्म ठ्याक्कै याद त छैन तर जहाँ जहाँ पुगियो मानिस बिना केही पनि कल्पना गरिएन । यतिबेला जो जहाँ जहाँ हुनुहुन्छ ‘लक डाउन’को पालना गर्दै स्वास्थ्यको सुरक्षामा ख्याल गरौं ।
संसार ठप्प भए के होला ? भन्ने सोंच मेरो मनमा पटक पटक आउँथ्यो ! तर कारण खोज्दिनथें ! यो पटकको ‘लक डाउन’ साँच्चिकै मैले सोचेको जस्तो संसार ठप्प नै हो । अब गरिवले के खाँदै होलान, मजदूर कसरी जिउलान वा कामगरी खाने वर्ग कसरी बाँच्न सक्लान् भन्ने कुरालाई म एक्लैले सम्बोधन गर्न सक्ने हैसियत राख्दिन । म पनि यीनै कोटिमा पर्ने साधारण ब्यक्ति न हुँ ।
वास्तवमा मनिसका इच्छा र चाहनाको सिमा अर्थशास्त्रीहरुले ब्याख्या गर्ने विषय होला । जब म गाउँघरमा ब्यवसायिक र जागिरको शिलशिलामा पुग्थें त्यति बेला यो संसारमा केही काम नगरेर बस्ने ठाउँ वा दिन पनि कतै होला की भनेर फगत कल्पना गर्थें ।
हुन त मानिसको कल्पनाशिलताले नै नयाँ नयाँ आविस्कार, खोज र अुसन्धान अघि बढनउने गर्छ भन्ने मान्यता छ । विकास, सेवा, सुविधा अक्सर कल्पनाशिलता कै अभिन्न पाटो हो ।
जब सल्लेरीको उकालोमा स्वास फेर्नै मुस्किल पर्ने बाटोमा पुग्थें अनि पिठ्युँमा बोकेको झोलाको छेउमा झुण्ड्याइएको पानीको भाँडोबाट केही घुट्का पानी पिउँदै थकाई मार्ने गर्दा यो संसार ठप्प भईदिए क्या आनन्द हुन्थ्यो होला भन्ने सोंच हावी भएर मलाई बेमौसमी बर्षाको बादलले झैं ढाक्थ्यो । त्यति नै बेला जब झरी बर्सिन्थ्यो मन चङ्गा भएर नाच्न थाल्थ्यो ।
मानिसको जीवन सधैं केही नयाँ काम प्रगति, उन्नति र फाइदा अनि घाटाको हिसाबले चल्ने भएपनि प्रकृतिलाई चुनौति दिने काम नरोकिनुले हामी आँफै आफ्नो अस्तित्वमाथि धावा बोलिरहेका छौं ।
मानिस हिंजो भन्दा आज र आज भन्दा भोलिको जिन्दगी सुखि सुरक्षित बनाउने ध्याउन्नमा रहन्छ अक्सर । महामारी कै बीचमा मैले बुझेको मानिसको शरिरमा भाइरससँग लड्ने एक विशेष प्रकारको वंशाणुगत जिन भन्ने हुन्छ, जसलाई किलर इमिनो ग्लोबलिन भनिन्छ । यो जिनले कोरोना भाइरसलाई सर्न नदिई शरीरमै नष्ट गर्ने क्षमता राख्दछ ।
केही अध्ययनले नेपालमा प्रकृतिले आफैँ प्राकृतिक प्रतिरक्षा (नेचुरल इम्युनिटी) उत्पादन गर्छ भन्नेकुरा डा. प्रकाशराज रेग्मीबाट सुनें । जसले कोरोना भाइरसलाई सतहमै नष्ट गर्न मद्दत गर्नुका साथै यसलाई नियन्त्रण समेत गर्छ ।
केही महिना यता जसरी संसार नियमित प्रक्रिया काम, धन्दा, अन्वेषण, ब्यापार, ब्यवसाय, जागिर, मानव अधिकार आदी ईत्यादी सबै लगभग ठप्प छ । यो अवस्थामा प्रकृतिले भने निकै आनन्द मानेको होला । अधिकार र कर्तब्यका कुरा एक्कासि गौण भईदिए ।
भारतीय समुन्द्रि तटमा लाखौं कछुवाहरु मस्तले घुमिरहेका दृश्य, जंगलमा बस्ने जन्तुहरु जंलबाट बाहिर निस्किएर सडकमा मज्जाले घुमेका दृश्य अनि धमिलिएको वातावरणबाट कोषौं टाढा रहेका हिमाल देखिन थालेका समाचारले प्रकृति आफ्नो सन्तुलन मिलाउँदै छ भन्ने आभाष हुन्छ ।
महामारीले संसारका बेग्ला बेग्लै ठाउँमा पटक पटक आक्रान्त बनेका घटना दर्जनौं छन, तर मानिसको जिवन आयु निश्चित भएकाले ति कुराहरु ईतिहांसमा दर्ज भएपनि साक्षातकार भएकाहरु हामी माँझ रहँदैनौ, त्यसैले पुराना घट्नाक्रम हाम्रालागी उपन्यास वा दन्तय कथा झैं लाग्ने गर्दछ । अबको १ सय बर्ष पछि कसैले कोभिड १९ को कुरा गर्नु भनेको त्यस्तै हुनेछ ।
आजकाल इण्टरनेट, टेलिभिजन, एफएम, पत्रपत्रिका जहाँ तहीं कोरोना भाईरसको संक्रमणका विषयमा आवश्यक र अनाबश्यक चर्चा भइरहेकै छन् । अनि श्रब्य दृश्यमा कोभिड १९ को काल्पनिक झैं लाग्ने तस्विर गोलो सूर्य आकारमा काँडा झै देखिने तस्विर यत्रतत्र इण्टरनेट मार्फत देखिन्छ ।
कोरोना भाईरसको संक्रमणबाट संसारभरी १.७०लाख भन्दा मानिसको मृत्यु भईसकेको छ भने प्रभावित र संक्रमित भएकाहरुको संख्या अनगिन्ति रहेको विश्व स्वास्थ्य संगठनले बताइरहेको छ । विश्व स्वास्थ्य संगठन, अमेरीका र चीन विवाद फेरी अर्कै बहसको विषय होला ।
केही वैज्ञानिकहरुले चमेरोबाट मानिसमा यस्को संक्रमण भएको बताउँछन् भने कतिपयले कोभिड १९ प्रयोगशालामा बनाइएको कृत्रिम भाइरस भएको अडकलबाजि गरिरहेका पनि छन् । म मेडिकल साइन्सको ज्ञाता होइन, न त म स्वास्थ्य क्षेत्रको विशेषज्ञ त्यसैले कोरोना संक्रमनबाट बच्ने विषयमा म कुनै पनि सुचना दिन सक्दिन । विज्ञहरुबाट आधिकारिक सुचना मात्रै लिउँ भन्छु म त ।
युभल नोआ हरारीले आफ्नो पुस्तक ‘२१ लेसन फर द २१ सेन्चुरी’ मा सूचना प्रविधिले निकट भविष्यमा मनुष्य मात्रलाई असान्दर्भिक बनाउने भयावह अवस्था आउन सक्ने तर्फ संकेत गरेका छन् । उनको पुस्तक मुलतःक्रिटिकल थिङकिङ, कम्युनिकेसन, कोलाबोरेसन, क्रियटिभिटी विषयमाथि केन्द्रित छ । कुनै बेलाकी सिल्भिया ब्राउनको पुस्क ‘इण्ड अफ डेज’ कोरोना भाइरसको संक्रमणमा चर्चा कमाय जस्तै,डीएन कुट्जंको अर्को पुस्तक ’द आईज अफ डार्कनेस’ को चर्चा छ अहिले विश्वभरी । यी पनि कल्पनाशिलताका कृति हुन् ।
तर सबै भन्दा पहिले १९६४ मा कोरोना भाइरसको खोज गर्ने एक महिला वैज्ञानिक डा.जून अल्मीडाले इलेक्ट्रा‘निक माइक्रोस्कोपमा हेरिरहँदा सूर्यको आकारमा काँडा उम्रिएको एक किसिमको भाईरस देखेकी थिइन् ।
डा.जून अल्मीडाको जन्म १९३० मा स्कटल्याणडको ग्लासगो शहर नजिक उत्तर–पूर्व स्थित साधारण परिवारमा भएको थियो । उनका बाबु चालक थिए । घरको आर्थिक स्थिति कम्जोर भएकाले जून अल्मीडाले १६ बर्षको उमेरमा विद्यालय छाड्नु परेको थियो ।
सन् १९२६ देखि १९३७ सम्म जेल बसेका एक विचारक एन्टोनियो ग्राम्स्किको सन् १९७१मा प्रकाशित’ सेलेक्सन फ्रम द प्रिजन नोट बुक’ पुस्तक पढ्दै गर्दा सामाजिक क्रान्तिमा जनसहभागिताको कुरा गजबले उठाएका भेटिन्छन् । तर अहिलेको अवस्थामा समाजलाई जोगाउन जनसहभागिता बिलकुल आबश्यक छैन ।यो समय समयको माग हो । समाज अहिले बेग्लै क्रान्तिको परिस्थितिबाट गुज्रिरहेको छ,जहाँ बाँच्नु नै ठुलो क्रान्ति हो । राजनीतिक आनदोलनका क्रान्तिका गाथा खुबै पढियो अनि देखियो र देशमा ब्यवस्था परिवर्तनका आन्दोलनमा सहभागि पनि नभएको कहाँ हो र ।
लक डाउनकै अवधिमा नेपालगन्ज देखि काठमाडौं सम्मको अत्यन्तै जरुरी कारणले यात्रा गर्नु पर्दा नागरिकका समस्या,बाटोमा पैदल हिंडीरहेका वालबालिका, वृद्ध, त्यसमाथि पनि गर्भवति महिलाको अवस्थाले मानिसलाई बाँच्नु पनि कति पीडादायी छ भन्ने कारुणिक दृश्य देखिए । म राज्यले के गरीरहेको छ वा के गरेको छैन भन्ने प्रश्न उठाउँदिन, तर राज्यले अभिभावकत्व लिनबाट यो मुस्किलको समयमा कन्जुस्याँई गर्नु हुँदैन भन्छु । महामारी विशेषज्ञ माइकल टी. अस्ट्रहोम र क्याट्लिन रिवर्सका विचारहरु अनलाईनमा खुब पढ्दैछु ।
एक्काईसौं शताब्दिको यो संसार यसरी स्थिर होला भन्ने कुरा कल्पनामा सम्म आउने कुरै थिएन । सायद विश्व युध्द पछि फेरी संसार झण्डै ठप्प छ । १९१४–१८ सम्म चलेको विश्वयुद्धको गाथा अझैं पढिन्छ । १९३९–४५ सम्मको दोश्रो विश्व युद्धका घाउका डोभहरुमा विज्ञानको फड्कोले मलम लगउँदै आयो । अबका बर्षहरुमा कोरोना भाईरसबारे भविष्यका सन्तानले सन् २०२० लाई पढनेछन् ।
यसबीचमा ‘डक्ट्रिन अफ न्याचुरल राइट्स’का बारेमा पनि खुबै चाख जागेर आयो । आन्द्रे तार्कोभिस्किले १९८६मा निर्देशन गरेको चलचित्र ’स्याक्रिफाईज’ले पनि लक डाउनमा सहायता प्रदान गर्यो । मैले सोच्ने गरेको ‘संसार ठप्प भए’ भन्ने बिचारलाई अब फेरी कल्पनामा पनि आउन नदिने प्रयास गर्नेछु ।
यति नै बेला मलाई विजय बातेको शेर सम्झन मन लाग्यो
कल के बारे में ज्यादा सोचना अच्छा नहीं,
चाय के कप से लबों का फÞासला है जिंदगी ।