बाँके, बर्दियामा कोरोनाको आशंकमा हालसम्म गरिएको जाँचको सबै रिपोर्ट नेगेटिभ आएको छ । बाँकेमा ९२ जनाको परीक्षण गरिएकोमा ८४ को नेगेटिभ र ८ को रिपोर्ट आउन बाँकी रहेको हो । ‘रिपोर्ट आउन बाँकी रहेका ८ जनाको भेरी अस्पताल नेपालगन्जमा नै परीक्षण गरिएको हो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने । त्यस्तै, बर्दियामा परीक्षण गरिएका २३ जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको छ ।
बर्दियामा पछिल्लो पटक ६ जनाको कोरोना आशंकामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तीनदिन अघि गुलरियाका २, ठाकुरबाबाका १, राजापुरका १, बाँसगढीका १ र बढैयातालका १ गरि ६ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि बुटवल पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जानकारी दिएका छन् । रिपोर्ट नेगेटिभ आएकाहरू मध्ये अधिकाँश स्थानीय क्वारेन्टाइन र केही होम क्वारेन्टाइनमा बसेका हुन् ।
पछिल्लो पटक ६ जनाको स्वाब परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै बर्दियाबाट स्वाब परीक्षण गरिएकाहरूको संख्या २३ जना पुगेको हो । यसअघि बर्दियाका विभिन्न पालिकाले बनाएका क्वरेन्टीनमा रहेका १७ जनाको परिक्षण गरिएको थियो ।
यस्तै बर्दियाका ८ वटै पालिकाका क्वारेन्टीनमा पुगेर अहिलेसम्म ३५८ जनाको र्यापिड टेस्ट गरिएकोमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएका छन् । बर्दियामा अहिलेसम्म गरिएको परीक्षण रिपोर्टमा कोरोना संक्रमण कसैलाई पनि भेटिएको छैन ।