अलविदा श्याम दाई । मृत्यु मानिसको समग्र जीवन–समीक्षा हो । एउटा मानिसभित्र अनेकौँ मान्छे हुन्छन् । अब भने २००७ सालको ‘जनमुक्ति सेना नलेखिएको एउटा इतिहासको’ वाचक मात्रै हैन् नोभेम्वर क्रान्तिको अन्तिम योद्धा कमाण्डर पनि रहेन् । ०७ सालको जनयोद्धाका कथा ठाकुर पुरण सिंह खवासले लेखे । विष्णुबहादुर मानन्धरले लेख्दैछन् । श्याम तामाङद्धारा “नलेखिएको एउटा इतिहास“ पुस्तक लेखियो ।अर्को पुस्तक पाण्डुलिपीमा छ । इतिहास लहडको खेलकथा हैन् न चिहानघारीको यात्रा हो, न मृतकको कथा मात्र । इतिहास पात्र र परिवेशको बुइ चढेर समयसंगै आप्mनो यात्रा गर्छ । अब भने उहाँ कृतिशेष हुनु भो ।


हरेक मान्छेका आफनैखाले जीवन कथा हुन्छन् । जीवनका घुम्ती र मोड हुन्छन् । श्याम दाईको ९० वर्षीय सचेत जीवन र सकृय भूमिका अनेकौ त्यस्तै घुम्ती र मोड छिचोल्दैको एउटा महाकाब्य बन्यो । जसले राणाविरुद्द युद्ध लडयो, उथलपुथलको समय झेल्यो । सत्तारक्षक, पञ्चायतको हुकुमीकाल, संसदीय ब्यवस्था, जनयुद्ध र अहिलेको अवस्था सकृय तरिकाले देख्यो, भोग्यो । हरेक कालखण्डमा द्रष्टामात्र बनेन् कुनै न कुनै भूमिकामा रह्यो । त्यसैले बनिबनाएका किताबी सुत्रमा उहाँलाई पढ्न वा समेटिन सकिदैन् ।


श्याम दाईलाई अध्ययन गर्न त्यसबेलाको राजनीतिक परिस्थिति, सांस्कृतिक र सामाजिक चेतना, आर्थिक सम्बन्ध नियाल्नु पर्ने हुन्छ । म यस संक्षिप्त लेखमा उनका जीवनका ठूला घुम्तीको विवेचन मात्र गर्ने छु । एउटा क्रान्तिकारी चेत क्रान्ति पछ्याउदै जन्मथलो आउँछ । इतिहासको सङ्गीन मोडमा क्रान्तिमा हेलिन्छ । अग्रर्मोचामा सामेल हुन्छ । सत्ताका रुप फेरिन्छन्,तब उस्को भूमिका पनि फेरिन्छ । सत्ता फेर्न गएको मान्छे फेरिएको सत्ताको रखवाल बन्न पुग्छ । कालान्तरमा आप्mनै सह योद्धालाई गिरफ्तार गर्नु, आन्दोलनको दमनमा उत्रिनु, सहानुभूति एकातर्फ अर्कातर्फ भूमिका सत्तारक्षकको नियति भोग्नुपर्छ ।


जन्म,चेतना र स्वदेश आगमन


भाग्य अर्जाप्न र सुख खोज्न दोलखाको मकैवारीबाट उनका बराजु भारतको दार्जलिंगमा हेलिन्छन । चियाबारी जिन्दगीका कथा सुरु हुन्छ । भारतमा स्वतन्त्रता संग्राम मच्चिंदा प्रवासी नेपालीमा पनि चेतनाको राँको दन्किन्छ । तन्नेरी सपना देख्न थाल्छन् । तब निर्मल लामा (मस्तराम) डोनस ग्राङ्गदान र श्याम क्रान्ति खोज्दै नेपाल पस्छन । इक्षाशक्ति सहित राजनीतिमा हेलिनु यूवाहरुको परिचय बन्छ ।


जनमुक्ति सेनाको भूमिकाःजनमुक्ति सेना गठनको प्रमुख पहल बाबुक्रृष्ण शर्मा (धनेश्वर शर्मा) गरेकाथिए । त्यसको ब्यवस्थापन प्रजातान्त्रिक कांग्रेसले गरेको थियो । सुवर्ण शमशेर, महेन्द्रविक्रम शाह र आजाद हिन्द फौजका ठाकुर पुरणसिंह खवासको कलकत्ता वार्तापछि मुक्ति सेनाको गठन भएको हो । राष्ट्«िय कांग्रेस र प्रजातात्रिक कांग्रेस एकताले नेपाली कांग्रेस बनेता पनि राष्ट्रिय काग्रेसलाइ धेरैपछि मात्र सेनाबारे जानकारी दिइएको थियो । नेपालमा ०७ सालको नोभेम्वर क्रान्ति छेड्ने (११ नोभेम्वर) जनमुक्ति सेनाका डिक्टेटर मात्रिका प्रसाद कोइराला, होलसोल फौजी कमाण्डर ठाकुर पुरण सिंह खवास, पूर्वी कमाण्डका राजनीतिक कमिसार बीपी कोइराला, पश्चिम कमाण्डका कमिसार महेन्द्रविक्रम शाह थिए भने सो संगठनका संस्थापक सहसचिव श्याम तामाङ फिल्डमा थिए ।


रक्षा दल देखि पुलिसको भूमिकासम्म नेताहरुसंगै मुक्तिसेना पनि ०७ साल फागुन ४ गते काठमाडौं आयो । श्यामदाई पनि त्यमध्ये एक थिए । सोहीदिन साँझ थिरबम मल्लको पानी पोखरी नजिकको घरमा बसेको नेपाली कांग्रेसको वैठकले जनमुक्ति सेनाको फेरिएको भूमिका रक्षा दलमा लैजाने निर्णय ग¥यो तर मुख्य कमान्डर ठाकूर पुरण सिंहले भने राजनीतिक भूमिकाको माग गर्दा स्वीकार गरिएन । रक्षादलको गठन २८ फागुनमा भयो र सोही दल २०१२ आश्विनमा नेपाल पुलिसमा फेरियो ।


एक विडम्वनाःक्रान्तिकारीले जब सत्ताको रक्षा गर्नुपर्छ क्रान्तिकारीहरु मुक्ति सेना, रक्षा दल हुँदै नेपाल प्रहरीमा फेरिन्छन । ०९७ का शहीदलाई फाँसी दिने नर शमशेरको कमाण्ड स्वीर्कानुपर्छ । त्यही रक्षा दलले भीमदत्त पन्तलाई गिरप्mतार गर्न पर्छ । अझ ०१७ सालपछि आफनै मातृ संगठन काँग्रेसलाई समेत दमन गर्नुपर्छ । आफनै कमाण्डमा आफ्नै साथी, नेता, सहयोद्धालाई जेलमा कोच्नुपर्छ । एउटा कुनै समयको क्रान्तिकारीलाई खेप्नुपर्ने उफ् …इतिहासले दिएको यो कस्तो विडम्बना ।

रिटायर्ड जीवनः २०२७ मा उनी रिटायर्ड भए तर टायड भएनन् (थाकेनन्)। पूर्वपश्चिम राजमार्गको वेलायती निमार्ण क्षेत्रको लाइजन अफिसर र पुलिस एकेडेमी साँगाको निर्माणमा सक्रिय भए ।
भूटानको गोप्य कुटनीति गिरजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भूटानी शरणार्थी समस्या समाधानको गोप्य दूत बनाएर थिम्पु पठाइयो । दिइएको सल्लाह नेपाल पक्षलाई स्वीकार भएन ।


रहस्यको बाकस
एउटा बाकस गोप्यरुपमा राख्न गिरिजाबाबुले उनलाई सुम्पिएका थिए । २ वर्ष सो बाकस नेपालगन्जको कारकाँदो स्थित श्यामदाईको घरमा रह्यो । त्यसको रहस्यबारे दाईले भनेको कुरा उनी जिवितै हुँदा मैले पत्रकार हेमन्त कर्माचार्यलाई भनेको थिएँ । श्यामदाईले भनेका थिए–राजको राज रहने दो ।


इतिहास रक्षाले सताइदाः
म माओवादी जनयुद्धमा खुलारुपमा भूमिगत सरिक भएको हुँदा जनयुद्धका गौरवता र सौन्दर्य इतिहासद्धारा पुष्ठि गर्न ०७ सालको जनमुक्ति सेनाका गौरवता र भूमिका प्रकाश गर्ने योजना अन्तरगत उहाँसंग नजिक हुँदै गएँ । देशैभरीका बिद्रोहका कथा, बिद्रोहीका गौरवता लेख्नेक्रममा ०७ सालका नायकहरु बाबुकृष्ण शर्मा, दीलमान सिंह थापा, श्याम तामाङ,ड ोनस ग्राङ्गदान, रुपसिह सिजापति, गोपाल कर्माचार्य, गणेश कर्माचार्य, जनक कर्माचार्य, शेखर शर्मा, मुलायम बेहनाका कथा लेखिँदै गइयो । ती कालपृष्ठ, जनमत, युगवोध, नेपाल समाचारपत्र, जनादेशमा छापिँदै गए ।


उहाँ एकातर्फ डिएसपी अर्कातर्फ क्रान्तिकारीप्रतिको सहानुभूति । अभाव र तनावमा रहेको रुपसिह सिजापतिको परिवारलाई गोप्यरुपमा सहयोगको सदा उहाँ सम्झना गरिरहनुहुन्थ्यो । उहाँका अनुसार– नेपालगन्ज जेलबाट आत्मासर्मपण नगरी छुटनेमा सिजापतिमात्रै रहे ।’
एकदिन प्रसंगमा मैले भनें– श्यामदाई, रक्सौलमा हत्या गरिएका तेजबहादुर अमात्यको हत्यामा तपाईलाई आरोप छनि ’। तब, श्यामदाई रातोपिरो भएर हत्याको अवस्था र हत्यारा ग्रुपबारे विस्तारपूर्वक बताउनु भयो । त्यसै रन्थनाहटको उपलब्धी एउटा गम्भीर कृति जन्मियो–जनमुक्ति सेना नलेखिएको इतिहास ।


उहाँ जनमुक्ति सेनाको गौरवताको लागी संगठन बनाएर हरेक नोभेम्वर ११ मा जन्मदिन मनाउन नेतृत्व गर्नुहुन्थ्यो । श्याम दाई स्वयम्मा समकालीन नेपालको एउटा गम्भीर पुस्तक हो । ०६३ पछि उहाँको कांग्रेस मोह भंग भयो । उहाँले माओवादी समर्थनमा सार्वजनिक सभामा बोल्नुमात्र भएन सेना समायोजनबारे शीर्ष नेतृत्वलाई सल्लाह पनि दिनुभो । तर जति आशा गर्नुहुन्थ्यो, पछि उहाँ माओवादीसंग पनि अत्यन्तै निराश हुनु भयो । उहाँबारे लामो लेख आवश्यक छ । अलविदा श्यामदाई । उहाँबारे स्वयम उहाँले नै बोल्नु भएका ४ भागमा रहेका प्रसंग जिज्ञासुले सुन्न सक्नुहुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया