बिक्रम संवत २०७६ सालको अन्त भएको छ । नयाँ बर्ष २०७७ को आगमन भएको छ । पुरानो बर्ष २०७६ ले सधैँ झैं घटना परिघटनाहरु मात्रै हाम्रो स्मृतिमा छोडेर गएको छैन । एउटा ठूलो महा विपत्तिको, कम्तिमा पनि यो पुस्ताका लागि जीवनको मूल्य सिकाउने पाठ पढाएर बिरासतमा यो नयाँबर्षका लागि समेत छोडेर गएको छ । आज यो नयाँ बर्षमा कुनै ठूलो अभिलाशा आम नेपालीको छैन । संसारका सबै शक्तिकेन्द्रहरु त्राही त्राही बनाएको कोरोना भाइरसले मानव जीवनको आशा खोजेको छ । हरेक उपायको खोजिमा लागेको मानव आफ्नो अस्तित्वलाई आज कुनाकुनामा खोजिरहेको छ । न आज कुनै सम्पन्नताको अभिलाशा छ न समृद्धिको न त कुनै ऐशोआरामको अभिलाशा नै छ त केवल विते बर्षको विरासतमा पाएको कोरोनाको भयावहमा संसारको पुनः पूर्वस्थितिमा फर्कने आशा मात्रै राखेर स्वागत गरेको छ यो नयाँ बर्ष २०७७ लाई ।


इस्वी संवत २०१९ को ३१ दिसम्बरमा चीनको वुहानबाट शुरु भएको नोभल कोरोनाको आतंक संसारमा झन अझै भयावह स्थितिमा पुगेको छ । १२ अप्रैल २०२० को बिहान ३ः०९ बजे हपकिन्स विश्वविद्यालयले अपडेट गरेको तथ्याङ्क अनुसार संसारमा १७,८०,३१५ जनामा कोरोना पोजिटिभ देखिएको छ भने १,०८,८२८ जनाले ज्यान गुमाएका छन् । एक्लै अमेरिकामा मात्रै ५,३२,८७९ जनामा कोरोना पोजिटिभ देखिएको छ भने कुनै एउटा देशमा मात्रै मर्नेहरुको संख्यामा अमेरिका एक नम्बरमा परेको छ जहाँ २०,५७७ जनाले ज्यान गुमाएका छन् । अस्तिसम्म सबैभन्दा बढि ज्यान गुमाउनेको संख्या इटलीमा थियो तर यो तथ्याङ्कलाई अमेरिकाले उछिनिसकेको छ । यो दर हरेक दिन हेरफेर भइ रहेको छ । सबैभन्दा बढि संक्रमित देखिएको अमेरिकामा आज निकै भयावह स्थिति देखिएता पनि तथ्याङ्कले यो स्थिति अमेरिकामा भन्दा अझैपनि स्पेनमा नै भयावह रहेको देखाउँछ ।


अमेरिकामा हालसम्म २६,७०,६७४ जनाको कोरोना परीक्षण गरिएको छ । यो संख्या संसारका कुनैपनि देशको भन्दा निकै धेरै हो । यति धेरै परीक्षण अन्य कुनैपनि देशमा गरिएको छैन । यद्दपि चीनले आफ्नोमा कतिजनाको परीक्षण गरेको हो र कति जनाको परीक्षणमा ती ८२,०५२ जना संक्रमित देखिएका हुन भन्ने कुरा परीक्षण गरिएकाको संख्या लुकाएका कारण निकाल्न सकिएको छैन । अमेरिका पछि सबैभन्दा धेरै परीक्षण गर्ने देश जर्मनी रहेको छ । यहाँ १३,१७,८८७ जनाको परीक्षण गरिएको छ जुन अमेरिकाको भन्दा आधा हो । अमेरिकामा परीक्षण गरिएका मध्येमा जम्मा २० प्रतिशतमा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । यहाँ मर्नेहरुको औसत निकै न्यून रहेको छ । जति संख्यामा हेर्दा सबैभन्दा बढि देखिएको अमेरिकामा कुल परीक्षण भएको संख्यामा मृत्यु हुनेको औसत जम्मा ०.७७ प्रतिशत मात्रै छ भने कुल संक्रमित मध्येको जम्मा ३.८६ प्रतिशत मात्रैले मृत्युवरण गरेका छन् । यो अवस्था हेर्दा विश्वका अन्य बढि प्रभावित भएका देशहरुको तुलनामा भयावह स्थिति मान्न सकिन्न ।


जबकि यूरोपको सबैभन्दा कोरोनाको मुख्य केन्द्र रहेको इटलीमा हालसम्म कुल परीक्षण ९,६३,४७३ जनाको गरिएको छ । यी परीक्षण गरिएका जम्मा संख्या मध्येमा जम्मा १६ प्रतिशतमा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । यहाँ भने परीक्षण गरिएकामा मर्नेहरुको औसत २.०२ र संक्रमित मध्येमा मर्नेहरुको औसत संसारका अरु कुनै मुलुकमा भन्दा निकै उच्च १२.७९ प्रतिशत रहेको छ । जबकि अमेरिका यो भन्दा निकै पछाडी नै छ । अर्को फ्रान्समा हालसम्म जम्मा ३,३३,८०७ जनाको मात्रै परीक्षण भएको छ । यहाँ भएका परीक्षण मध्येमा ३९ प्रतिशत संक्रमित देखिएका छन् भने सकल परीक्षण गरिएका मध्ये ४.१४ प्रतिशत र संक्रमित मध्येमा १०.६७ प्रतिशतको मृत्यु भएको छ । यो दर इटली यूके पछिको तेस्रो उच्च हो । यूकेमा हालसम्म जम्मा ३,३४,९७४ जनाको परीक्षण गरिएकोमा २४ प्रतिशत संक्रमित देखिएका छन् । यी संक्रमितहरुमा मर्नेहरुको औसत १२.५० प्रतिशत रहेको छ । यो दर इटली पछिको सबैभन्दा उच्च हो । यसैगरि परीक्षण गरिएकाहरु मध्ये उच्च संक्रमित रहेका देशहरुमा इरान पनि रहेको छ जहाँ कुल परीक्षण गरिएका मध्ये २८ प्रतिशत संक्रमित पाइएका छन् । यहाँ २,५१,७०३ जनाको मात्रै परीक्षण गरिएको छ । थोरै मात्रै ६२९८५ जना परीक्षण गरिएका देश ब्राजिलमा संक्रमितको संख्या औसत ३३ प्रतिशत छ ।


यूरोपको अर्को देश स्पेनमा विश्व कै उच्च भयावहको स्थिति रहेको तथ्याङ्कले देखाउँछ । यहाँ हाल सम्म जम्मा ३,५५,००० मात्रै कोरोना परीक्षण भएको छ । यहाँ परीक्षण भएका मध्ये ४६ प्रतिशतमा भाइरसको संक्रमण भएको देखिएको छ भने मृत्युहुनेको औसत परीक्षणको ४.६८ प्रतिशत र संक्रमितको १०.१९ प्रतिशत रहेको छ । यो तथ्याङ्क हेर्दा त्यहाँ भएका संक्रमितहरुमा मर्नेको संख्या अन्य कुनैपनि मुलुकमा भन्दा बढि र भयावह नै देखिन्छ ।


हाम्रो छिमेकी मुलुक भारतमा अहिलेसम्म जम्मा १,८९,१११ जनाको मात्रै परीक्षण भएको छ । जसमा यहाँ संक्रमितको औसत ४ प्रतिशत देखिएको छ । यहाँ संक्रमित मध्ये मर्नेको औसत ३.४१ प्रतिशत रहेको छ । ठूलो जनसंख्या रहेको देशमा भएको यो परीक्षणको अति नै न्यून हो । यहाँ हिजो देखि संक्रमितको संख्यामा व्यापक बढोत्तरी भएको छ । भारतका लगभग सबै प्रान्तहरुमा कोरोनाले आफ्नो देखाउँन थालेको छ । भारतको राजधानी दिल्ली सबैभन्दा प्रभावित हुने दोस्रो शहर बनेको छ । भारतको आर्थिक राजधानी मानिने मुम्मइ र यो शहर रहेको प्रान्त महाराष्ट्र अहिले कोरोनाको सबैभन्दा जोखिमा रहेको प्रान्त भएको छ । भारतको समाचार अनलाइनहरुका अनुसार त्यहाँ अहिलेसम्म ८३५६ जनामा संक्रमण देखिएको र मर्नेहरुको संख्या जम्मा २७३ देखाएको छ । तर यसमा महाराष्ट्र सबैभन्दा बढि प्रभावित भएको बताइएको छ ।
अर्को दक्षिण एशियाली देश पाकिस्तानमा अहिलेसम्म जम्मा ५७,८३६ जनाको परीक्षण गरिएकोमा ५,०११ ज्ना संक्रमित देखिएका छन् भने ८६ जनाले ज्यान गुमाएका छन् । परीक्षणको आधारमा संक्रमितको संख्या यहाँ ९ प्रतिशत देखिएको छ ।

नेपालसंग सीमाना गाँसिएका प्रदेशहरु पश्चिम बंगाल, बिहार, उत्तरप्रदेश र उत्तराखण्ड हुन जहाँ अहिले सबै प्रदेशहरुमा संक्रमण देखिएको छ । यी मध्ये उत्तराखण्डमा पहिले देखि नै घर फर्कने नेपालीहरुले सो बाटो प्रयाृग गरेका कारण जोखिममा छ भने उत्तरप्रदेश भारत बढि प्रभावित राज्यहरुमध्येको एक हो जहाँबाट नेपालमा दुइ तीनवटा ठूला नाकाहरुबाट समान आयात हुन्छ । समानसंगै संक्रमणको स्वागत हुने हो कि भन्ने कुराले यससँग सटेका जिल्लाहरुमा अझैपनि त्राहिबाम छ । बिहारमा अहिलेसम्म त्यति प्रभाव नदेखिएको भनिएकोमा त्यहाँको शिवान जिल्लामा एकै परिवारमा २३ जनामा संक्रमण देखिएको र केहि धार्मिक अतिवादीहरुबाट संक्रमण फैलाउने कोशिस भएका भन्ने समाचार सँगै त्यहाँ स्थिति डरलाग्दो देखिएको छ । यता नेपालको बीरगंज, रौतहट, सर्लाही, भिठ्ठामोड र जयनगरबाट नेपाल प्रवेश गर्नेहरुको दिनहुँको लर्कोले गर्दा खतरा बढेको छ । यद्दपि सरकारले केहि सुरक्षा गश्तीहरु बढाएर रोक्ने प्रयास गरेको छ । उता सबैभन्दा सरकारी निर्देशनहरुको बीनाडर धज्जी उडाउने जनता रहेको भारतीय राज्य पश्चिमबंगालबा नेपाललाई बढि जोखिम रहेको देखिन्छ । बंगलादेश श्रीलंका र अफ्गानिस्तानमा पनि कोरोनाको प्रभाव तीब्र गतिमा बढेको देखिन्छ । यी देशहरुमध्ये बंगलादेशमा यसको गति बढेको भन्नेकुरा आइरहँदा नेपालमा त्यसको निकै प्रभाव पर्नें सम्भावना रहेको छ । भारत पछि बढि आउजाउ र सम्पर्क भैरहने दक्षिण एशियाली देशमा बंगलादेश दोस्रो हो । भारतको पश्चिमबंगाल राज्यमा बंगलादेशका मुस्लिमहरु बढि रहेको र यिनीहरुको नेपालमा घुषपैठ गर्नेु मार्ग पनि भारतको यहि प्रदेश रहेको हुँदा त्यताका मान्छेहरु सहजै नेपालतिर आउने र सहजै संक्रमण भित्रिन सक्ने खतरा रहेको छ ।


नेपालमा हालसम्म जम्मा ४,४२६ जनाको परीक्षण भएको छ । यी मध्ये जम्मा ९ जनामा संक्रमण देखिएको छ भने हालसम्म कोरोनाका कारण कसैको पनि मृत्यु भएको समाचार छैन । हुन त यो संक्रमणको संख्या कुनै ठूलो होइन तर नेपाल माथि उल्लेख गरिएको झैं सबै तिरबाट जोखिममा रहेको हुँदा यहाँ हामीहरु सुरक्षित छौं भनी हाल्ने अवस्था छैन । उता भारतले आफ्नो २१ दिनको लकडाउनको अन्तिम दिन नजिकिँदै गर्दा त्यहाँका प्रधानमन्त्रीले आफ्ना सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । सबैले लकडाउन बढाउनुको बिकल्प नभएको भनेपछि केन्द्रीय सरकारले सम्पूर्ण देशलाई तीन तहमा बिभाजन गरेर लकडाउनको समय बढाउनेमा पुगेको मानिएको छ । रातो, पहेंलो र हरियो गरि तीन जोनमा बाँडेर त्यहि अनुसारको कफ्र्यू, नाकाबन्दी र लकडाउन के गर्ने भन्ने आज निर्णय हुने सम्भावना बताइएको छ । यता नेपालमा पनि सिवाय लकडाउनको अर्को कुनै उपाय नभएको प्रधानमन्त्रीले जनाउ दिइसकेका छन् । यो कति दिन जाने हो भन्ने कुरा भारतमा संक्रमणको प्रसारको अवस्थाले नै निर्धारण गर्ने पक्का छ ।
बर्ष २०७६ को अन्तसँगै नयाँ बर्ष २०७७ ले त्यस्तो कुनै उत्साह, आशा र भरोशा लिएर आएन । नदेखिने कोरोना भाइरसको त्रासका बीचमा आएको यो नयाँ बर्षको बिहानी पनि उहि उफ ! कस्तो डर ? कति बस्नु घरमा ? वाक्कै भइयो भन्दै आएको छ । तर आशा कहिल्यै पनि मार्नुहुँदैन र कर्म पनि गर्न छोड्नु हुँदैन हामीले । आशा गरौ नयाँ बर्षको शुरुआतका नक्षत्रहरु सुध्रेका हुनेछन् । घरघरमा पूजाआजा गरौ, ध्यान योग गरौ, यसले मनमा शान्ति दिनेछ । बेलुका ६ बजे देखि ६ः२३ बजे भित्रको शुभ मुहुर्तमा घरघरमा द्धिप प्रज्वलन गरौ घरलाई पवित्र बनाऔं । अहिलेको कर्म हो घर मैं बस्ने र आशा हो कोरोनामुक्त हुने । यो नवबर्ष २०७७ को सबैमा हार्दिक एंव मङ्गलमय शुभकामना !

प्रतिक्रिया

प्रतिक्रिया