कोरोना कहर


प्रभात सुवेदी

सरकारले २५ जनाभन्दा बढीको जमघट हुन नदिने भनेको समय छ तरपनि दुई दर्जन नवीन सोच र जाँगर भएका केही व्यक्तिहरु एकत्रित भएर केही विषयमा चर्चा परिचर्चा भैरहेको हुन्छ । आलोपालो गरेर सबैले आ–आफ्ना बिचारहरू अभिव्यक्त गरिरहेका हुन्छन् । उनीहरुलाई कुनै कुराको डर पनि छैन न त प्रहरी आएर गाली गर्ला भन्ने पिर नै छ । अझै संख्या थप्दै जाने र त्यो जमघटमा एक सयको हाराहारीमा मानिसहरुको सहभागी गराउने अभियानमा जुटिरहेका छन् उनीहरु यस्तो विषम र सङ्कटकालीन परिस्थितीमा पनि ।


मलाई थाहा छैन, आजभोलि लामा लामा लेखहरू पढ्ने हाम्रो बानीहटिसकेको छ । डिजिटल जमानामा हामी पनि क्रमिक रुपमा आफूर्ला डिजिटल बनाउँदै लैजाने प्रयास गरिरहेका छौँ । त्यसैले मलाई लाग्छ तपाईं यो लेखको यहाँसम्म पक्कै आउनुभएको छ । मनमा केही प्रश्न उब्जिएका होलान् । यस्तो भिडभाडको कुरा के हो भनेर ? अनि लागिरहेको होला किन यस्तो परिस्थितिमा किन भिडभााड बढाउने ? कहाँ होला यसरी जम्मा भएका ? किन प्रहरी नपुगेको होला ? अनि लागेको होला कोरोना सङ्क्रमणको बिगबिगी भैरहेको बेला किन यस्तो भनेर ?
हो, तपाईंको जिज्ञासा सान्दर्भिक छ । कुरा के हो भने यो कुनै वास्तविक भिडभाड नभएर डिजिटल भिडभाड हो । यतिखेर यतिखेर विश्वभर मानिसहरु आफ्नै घरको भित्ताभित्र बन्दी भैरहेको अवस्था छ । नेपालमा पनि कोरोनाको थप सङ्क्रमण नबढोस् भन्ने अपेक्षाका साथ नेपाल सरकाले बन्दाबन्दीको घोषणा गरेको छ । यो बन्दले तीनओटा चरण पार गरिसकेको छ । तेस्रो हप्तामा बन्दाबन्दी चलिरहेको अवस्थामा मुलुक नै ठप्प भएको अवस्था छ ।


यो परिस्थितीमा मानिसहरुले जानकारी पाएका छन् कि केही गर्नु भन्दा केही नगरीकन बस्नु कति पीडादायक हुँदो रहेछ । वास्तवमा लोक तथा दोहोरी गीत गायक पशुपति शर्माले भनेजस्तै सुती सुती खान्छु भन्दा ढाड दुखेर मा¥यो भन्ने गीतको सार्थकतालाई सबैले महशुस गरेको अवस्था छ । मानिसले आफ्नो शरीलाई भौतिक तथा मानसिक रुपमा चलायमान नगराउँदाको परिणती के हुँदो रहेछ भन्ने कुराको सिकाइ भएको छ यतिखेर ।


यतिखेर लाखौँ विद्यार्थी तथा हजारौँ शिक्षकहरु पनि लकडाउनको पीडामा छन् । यो समयलाई कसै कसैले अत्यन्तै उपलब्धीमूलक बनाउन कम्मर कसेर लागिरहेका छन् । केही गरिरहूँ भन्ने चाहना हुनेहरुका लागि भने समय पुगेको छैन भने आलस्यतको सञ्चार गरेर बसिरहनेहरुका लगि नै दिनचर्या कठिन बनिरहेको छ । विभिन्न तहको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई शैक्षिक सत्र गुज्रने पीर त छँदैछ तथापि आफ्नो अध्ययनको गति र स्वक्षमता विस्तारमा भने अवसर प्राप्त भएको छ । यो अवसरले पक्कै पनि सकारात्मक नतिजा प्राप्त हुने कुरामा आशावादी हुन सकिन्छ । यसैगरी विद्यार्थीहरु मात्रै हैनन् कि शिक्षकहरु पनि यतिखेर खाली समयको सदुपयोग गर्नका लागि केही न केही कुराहरु केही न केही पुस्तकहरुको अध्ययन गरिरहेका छन् । आफूलाई अध्ययनशील र चिन्तनशील बनाउनका लागि शिक्षकहरुले आफूलाई ब्यस्त राख्नु पनि जरुरी हुन्छ । शिक्षक भनेको समाजको दर्पण हो अनि समाजमा सकारात्मक बिचारहरु प्रवाह गर्ने सामाजिक दूत हो । त्यसैले आफूलाई शिक्षकले वास्तविक शिक्षक बनाउने हो भने यो समयलाई भरपूर सदुपयोग गर्न सक्दछन् । यस समयमा अध्यनका साथै आफ्ना बालबालिकाहरुका लागि कक्षाकोठामा लिएर जानका लागि कोशेली तयार गर्ने समय पनि हो । आ–आफ्नो विषयसँग सम्बन्धित शैक्षिक सामग्रीहरु तयार गर्ने र ती सामग्रीहरुको माध्यमबाट कसरी शिक्षण सिकाइ क्रियाकलापलाई बढी भन्दा बढी फलदायी र विद्यार्थीको रुची अनुरुपको बनाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्नु आवश्यक हुन्छ ।


यसै सन्दर्भमा माथिको प्रसङ्ग भनेको प्रविधिमैत्री शिक्षक समाज नेपाल प्रदेश नं. ५ ले लकडाउनको समयलाई सदुपयोग गर्दै सूचना र प्रविधिमा रुची तथा दख्खल राख्ने शिक्षकहरुका बीचमा गुगल जुम मिटिङको आयोजना गरी एक हप्ते अनलाइन प्रशिक्षणको आयोजना गरेको छ । मंगलबारदेखि शुरु भएको यस प्रशिक्षणको उद्घाटन समारोहमा २४ जना प्रदेशका विभिन्न जिल्लाहरुबाट शिक्षकहरु सहभागी हुनुभएको थियो । यहि जमघटको दृश्यलाई आलेखको उठानमा चर्चा गरेको हुँ । अबको शिक्षक जो सूचना तथा सञ्चारमा रुची राखेर आफ्नो शैक्षणिक कौषलतालाई कक्षाकोठामा प्रयोग गर्दैनन् वा गर्न चाहदैँनन्, त्यस्ता शिक्षकहरुलाई डिजिटल डाइनोसरको उपमा दिँदै केही साथीहरुले यस सवालमा आफ्नो धारणा राख्नुभएको थियो । २५ गतेदेखि प्रारम्भ गरिएको प्रदेश नं. ५ स्तरीय प्रविधि प्रशिक्षणमा सहभागी रहनुभएको थियो ।


२ वर्ष अघि काठमाडौंको टुँडीखेलमा बसेका ७ जना उर्जाशील शिक्षकहरुबाट नै यो अवधारणाको विकास गरिएको रहेछ । प्रविधिमैत्री शिक्षक समाज नेपालका मुख्य अवधारणकार पाल्पाका भुपति वश्याल हुनुहुँदो रहेछ । वहाँको यो सोचलाई जति प्रशंसा गरेपनि पुग्दैन । ७ जनाबाट शुरु गरिएको यो अभियानमा अहिले हजारौँ शिक्षकहरु जोडिइसक्नुभएको छ । यस संस्थालाई विधिवत रुपमा लानु पर्ने प्रस्ताव गरिएबमोजिम चितवनमा भएको भेलाले भुपति वश्यालकै अध्यक्षतामा तदर्थ समितिको निर्माण ग¥यो । यस समाजको शाखाहरु प्रदेश, जिल्ला तहमा खोल्ने अभियानलाई सार्थक बनाउँदै तदर्थ समितिहरु निर्माण गरिँदै लगिए । विराटनगरमा पौष २७ र २८ गते सम्पन्न पहिलो महाधिवेशनबाट एउटा संस्थागत प्रशासनिक समिति र अर्को प्राविधिक समिति गठन गरेर अगाडि बढेको यो समााजले आफ्नो सञ्जाल केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरसम्म पु¥याएको छ । सांगठनिक र प्राविधिक टिम गरी दुई प्रकारको नेतृत्वबाट अगाडि बढिरहेको यो समाजले विगतमा भौतिक रुपमा कार्यशाला तथा विभिन्न प्रशिक्षणहरु सम्पन्न गरिसकेको छ ।

कक्षाकोठामै प्रविधि पु¥याउने र शिक्षकलाई वास्तविक रुपमा प्रविधिमैत्री बनाउँदै शैक्षिक गुणस्तर कायम गर्ने सवालमा केन्द्रिय स्तरमा घनश्याम अधिकारीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रिय प्राविधिक समिति गठन गरिएको छ । यहि समितिले लकडाउनको समयमा जुम मिटिङको प्रयोग गरेर देशभरीका शिक्षकहरुलाई प्रशिक्षण दिने कार्यको थालनी गरिरएको छ । प्रविधिको प्रयोग गरेर निरन्तर सञ्चालन गरिँदै आएको यो तालिमलाई प्रदेश स्तरमै सञ्चालन गर्ने माग आएपछि देशका सातै प्रदेशमा मंगलबारदेखि ७ प्रदेशमा १ हजार जनाको सहभागितामा प्रशिक्षण शुरु गरिएको छ । बेसिक एडभान्स र एम टट तीन चरणको प्याकेज तयार गरेको समाजले केन्द्रमा एम टट, प्रदेशमा एडभान्स र स्थानीय स्तरमा बेसिक लेभलको तालिम सञ्चाल गर्ने लक्ष्य अनुरुप अगाडि बढेको छ । जसमा घनश्याम अधिकारीले केन्द्रिय प्रशिक्षकको भूमिका निर्वाह गरिरहनुभएको छ ।


यसैगरी हिजोदेखि शुरु गरिउको प्रदेश प्रशिक्षण अन्तर्गत प्रदेश नं. ५ को प्रशिक्षण कार्यक्रममो सञ्चालन समाजका केन्द्रिय सदस्य कुमार प्रसाद सापकोटाले गर्नुभएको थियो । प्रदेश स्तरीय प्रशिक्षणका प्रशिक्षकहरुमा होमराज खड्का बाँके, युवराज तिवारी रुपन्देही, लोकेन्द्र बहादुुर थापा, पाल्पा जीवन आचार्य पाल्पा, हिमांशु चौधरी बर्दिया, अनिता बुढाथोकी रुपन्देही, अर्जुन तिवारी बर्दिया, बालकृष्ण आचार्य बर्दिया रहनुभएको छ ।


प्रदेश बाहिरबाट पनि प्रशिक्षकहरु आवश्यकता अनुसार आमन्त्रण गरिने र विशेषगरी कक्षाकोठाको शिक्षण सिकाइमा प्रविधिको प्रयोग, विद्यालयको प्रशासनिक कार्यसम्पादनका लागि आवश्यकता अनुसारको सफ्टवेयर निर्माण गर्ने यो समाजको उद्देश्य रहेको छ ।
यसरी नेपालकै शिक्षा क्षेत्रमा प्रविधिमैत्री शिक्षक समाजले प्रारम्भ गरेको यो अभियानलाई समग्र शैक्षिक जगतको आधुनिक कोशेढुङ्गा मान्न सकिन्छ । वर्तमान परिवेशमा प्रत्येक शिक्षकले आफूलाई शिक्षक हुँ भनेर प्रमाणित गर्नका लागि कक्षाकोठामा पुगेर बोर्डमार्कर वा चक डस्टर समातेर फलाकेर मात्रै हँदैन । अब यो कुरा बुझ्न जरुरी छ कि विद्यार्थी हामी भन्दा धेरै अगाडि कुदिरहेका छन् । तर, यो डिजिटल रेसमा शिक्षक पछाडि पर्नु भनेको डिजिटल डाइनोसर बन्नु हो । तसर्थ, मध्ययुगमा डाइनोसर जस्तै लोप नहुनका लागि शिक्षकहरुले पनि आफूलाई प्रविधिमैत्री बनाउँदै लैजानु आजको आवश्यकता हो । (सूचना स्रोत ः कुमार प्रसाद सापकोटा)
लेखक सुवेदी श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्छ । गीतसंगीतमा उत्तिकै दख्खल राख्ने सुवेदी उत्प्रेरक व्यक्तित्व पनि हो ।

प्रतिक्रिया

प्रतिक्रिया