कोरोना कहर

लकडाउनको समयमा घरभित्र बस्दा पुस्तक पढ्ने मौका चाहिं मज्जैले पाइयो । लकडाउन भन्दा पहिले दिनभरिको अफिस, साँझ घर पुगेपछि बच्चाहरुलाई दिनुपर्ने समय, घरभान्छा आदी इत्यादीले गर्दा उत्पन्न हुने शारीरिक एवं मानसिक थकानका बीच चाहेर पनि पुस्तक पढ्न मन लाग्दैनथ्यो । पढ्ने आ आफ्नो स्वभाव हुन्छ । म प्रायः पुस्तक लिएर बस्यो भने पुस्तक नसकेसम्म उठ्न मन लाग्दैन । लगातार पढ्नुको मज्जा नै बेग्लै जस्तो लाग्छ । त्यसैले होला एउटा पुस्तक एकै बसाईमा पढेर सिध्याउन मन लाग्छ । जसले गर्दा म प्रायः रातीको समयलाई अध्ययनमा लगाउने गर्दछु । तर दिनभरिको थकानले गर्दा राती पढ्न नसकिरहेको समयमा यो लकडाउनले राम्रै मद्दत गर्यो । दिन र रात दुवै पुस्तककै लागी तोकिदिए जस्तो गरि पुस्तक पढ्न पाइयो । पढ्ने क्रममा मलाई विशेषतः दुईवटा पुस्तकले उठान गरेको विषयमा केही चर्चा गर्न मन लाग्यो ।


सन् १९४२ मा किशोरी एन फ्य्राङ्कद्धारा लेखिएको डायरी जुन लेखक खगेन्द्र गिरीद्धारा नेपालीमा अनुवाद गरिएको छ “एक किशोरीको डायरी” नामबाट र सरस्वती प्रतीक्षा द्धारा लेखिएको “नथिया” दुवै दुई फरक समयलाई व्याख्या गरिएका पुस्तक हुन् । दुवैमा महिला भाव पोखिएका छन् । दुवै पुस्तकमा कुनै एउटा अवस्थाको वर्णन गरिएको छ । तत्कालिन वर्तमान समयको चर्चा गरिएको छ । दुवै पुस्तकमा महिलाको भूमिका र पुरुषको भूमिकाहरुलाई देखाउन खोजिएको छ । फरक यति छ, “नथिया”मा एउटा पेशाभित्रको महिलाको भावना, भूमिका र अवस्थालाई देखाइएको छ भने “एक किशोरीको डायरी” मा बढ्दो उमेरमा रहेकी किशोरीको भावना, उसका सोचाईहरु, उसको वरिपरि रहेको समाज जसले किशोरीको भावनाहरु बुझ्न नसकेको कुराहरुलाई झल्काउन खोजिएको छ ।

दुवै पुस्तक फरक धारका छन् तर आफैमा यथार्थपरक छन् । तर यति हुदाँहुदैपनि मैले दुवै पुस्तकमा महिलाको भूमिका, महिलाको सोचाई, प्रेम प्रतिको आशक्ति, अदृश्य रुपमा महिलाहरुको परनिर्भता आदिलाई महसुस गर्ने मौका पाँए ।


नथिया, जहाँ एउटा वादी समुदायको व्याख्या गरिएको छ । पढ्दै जाँदा पुस्तक भित्र पट्यार लाग्दा अवस्थाहरु छन् । पढ्दा पढ्दै लाग्छ कि यो पुस्तकले यौनका कुराहरुलाई बढी महत्व दिएको छ । यौन क्रियाकलाप, बजारमा राखिएको यौन र यौनका लागी भएका लुछाचुडी देख्दा यौनप्रति नै विरक्त लागेर आउँछ र आधाआधीमा पुग्दा नै पुस्तक थन्क्याउ जस्तो लाग्छ । महिलालाई यौन सामाग्रीको रुपमा प्रस्तुत गरिएको महसुस हुन्छ । तर यौनचर्चामा सिमित रहेको यस पुस्तकभित्र पनि महिलाका चित्कारहरु छन् । भोकको अगाडी परिवारकै सदस्यले एउटी महिलाको शरीर बेच्न ग्राहक खोज्नुपरेको अवस्थाहरु छ । घरभित्र भएको हिंसाहरु छन् । प्रेम प्रतिको आशक्ति छ । र, छ एउटा सन्तान जन्माउनको निम्ति समाजले आवश्यक मानेको बाउको नाम र छानो, जसलाई पुस्तकले व्यग्यात्मक तरिकाले उजागर गर्ने प्रयास गरेको छ ।
नथिया पढ्दै जाँदा यस्तो लाग्छ, पुरुषको निम्ति महिला एउटा सामाग्री मात्र किन भएको होला ? के समाजमा महिलाको पहिचान पुरुषको साथ र हातद्धारा नै सम्भव छ ? बच्चा जन्मिनुको निम्ति आमाको पहिचान भन्दा बाउँको पहिचान किन महत्वपुर्ण ? अनि प्रेमको नाममा घरभित्रको हिंसा सहन महिलाहरु किन वाध्य ? आफ्नो पेशामा महिला स्यंय नै सक्षम हुदाँहुदै पनि उसलाई किन पुरुषको साथ चाहिन्छ ? भावनात्मक रुपमा के साँच्चै नै कमजोर हुन्छन् र, महिलाहरु ? पुस्तकभित्र भएका बीर्यका चरम खेलहरुको बीचमा पनि पुस्तकले यस्तै कुराहरु दर्शाएको महसुस गरे मैले ।


त्यसैगरि दोश्रो विश्वयुद्धको समयमा लेखिएको एक किशोरीको डायरीमा किशोरी एनले १५ जुन, १९४४ मा आफ्नो मनमा आएको प्रश्नलाई डायरीमा उतारेकी छिन् । वर्षौ पहिला पनि महिला र पुरुष बीच हुने भेदभावले १४ वर्षको किशोरीमा उव्जिएको प्रश्नको उत्तर उनि खोजिरहेकी छिन् । किन महिलालाई पुरुषको तुलनामा हिन ठानिन्छ भन्ने प्रश्नले उनलाई सताइरहेको छ । उनिले आफ्नो डायरीमा लेखेकी छिन् “किन महिलालाई उहिलेदेखी अहिलेसम्म पुरुषको तुलनामा हीन ठानिन्छ ? यो अनुचित र अन्यायपुर्ण छ भन्नु सजिलो छ तर म यो भयानक अन्यायको कारण जान्न चाहन्छु ।”


एनले अगाडी लेखेकि छिन् ः “सम्भवतः आफ्नो शारीरिक शक्तिको भरमा पुरुषले शुरुदेखी नै महिलालाई कजायो । कमाउने, वीर्यदान गर्ने र मनलागी गर्ने पुरुष नै थियो । अहिलेसम्म महिलाहरुले यो अन्याय चुपचाप सहे । यो उनिहरुको मुर्खता थियो किनभने यस्तो व्यवस्थालाई जति लामो समय रहन दियो, त्यसले त्यति नै गहिरो जरा गाड्छ । संसारका सबै भागमा पुरुषहरुले भव्य आदर पाएका छन् । त्यसो भए महिलाले आफ्नो हिस्साको आदर किन नपाउने ? सैनिक र युद्ध नायकलाई सम्मान गरिन्छ, अन्वेषकलाई अमर प्रसिद्धि प्रदान गरिन्छ, शरीरहरुलाई श्रद्धा गरिन्छ तर महिलाहरुलाई योद्धाको रुपमा हर्ने र सम्मान गर्ने मानिस कति होलान ? एकजना महिलाले प्रसवका बेला कुनै युद्ध नायकले युद्धमा बेहोर्नेभन्दा बढी पीडा, विमारी र कष्ट भोग्नुपर्छ । यो सबै पीडा खप्नुको फाइदा उनलाई के हुन्छ त ? ठूला ठूला कुरा गर्ने स्वतन्त्र सेनानी सबैलाई एकै ठाउँमा राख्दा पनि मानवजातिको निरन्तरतालाई सुनिश्चित तुल्याउन प्रसव वेदना सहने महिलाहरु बढी साहसी ठहरिन्छन् ।”


यसरी एउटी किशोरीले आफ्नो वरपर देखेको समाज, दोश्रो विश्वयुद्धको समयमा ९ जुलाई १९४२ देखी १९४४ अगस्त १ सम्म बसेको गुप्तवासमा भएका क्रियाकलाप, महिलाको भूमिका पुरुषको भूमिका आदीलाई बुझ्दै गर्दा युद्धमा होमिएको एउटा सेना भन्दा बढी शक्तिशाली महिला भएको अनुभव गर्छिन । मानवजातीको निरन्तरताको लागि महिलाले गरेको योगदानको कुनै कदर नगरिनु र महिलाहरुलाई हिन व्यवहार गरिनुलाई उनि अनुत्तरित प्रश्नको रुपमा बुझ्छिन र प्रश्न गर्छिन् उत्तरको खोजीमा, जुन उत्तर उनको मृत्युपर्यान्त पनि आजसम्म प्राप्त हुन सकेको छैन ।


यो दुई पुस्तक दुई फरक समयमा लेखिएको पुस्तक हो । एक किशोरीको डायरी आज भन्दा ७८ वर्ष पहिले लेखिएको हो भने नथिया हालै लेखिएको पुस्तक हो । तर विडम्बना आजभन्दा ७८ वर्ष पहिले महिलालाई गरिने व्यवहार र आजको समयमा महिलाई गरिने व्यवहारमा उल्लेख्य परिवर्तन आउन सकेको छैन । हिजो पनि महिलाहरु घरभित्रनै सिमित थिए, पुरुषको निर्णय सर्वौपरि थियो भने आजको समयमा पनि यहि वातावरण छ । दिन वितेको छ, समय वितेको छ, मिनेट, पला, घडा कटिरहेको छ तर पनि महिलाहरुमाथिको हिंसा कम भएको छैन । प्रेमको नाममा घरभित्रको चारदिवारीमा अझै पनि उस्तै हिंसाहरु छन् । यो निरन्तरता कहिलेसम्म रहिरहने ? अब त एकपटक सबैले सोच्नैपर्छ ।


१४ वर्षे किशोरीले आफ्नो मृत्युसंगै छोेडेर गएको प्रश्नको उत्तर कहिलेसम्म अनुत्तरित रहने ? महिला र परुषबीचको असमानता हिजो पनि थियो अस्ति पनि थियो र आज पनि छ तर अब भोली रहनुहुदैन । महिलाको भूमिका घरभित्र अनि यौनमा होइन, त्यो देखि बाहिर हुनुपर्छ । मानवसमाजको निरन्तरतामा योगदान दिने महिलालाई हीन भावना होइन समानता आवश्यक छ । समयले हामी सबैलाई लकडाउनमा राखिएको छ । तर मैले मेरो घर वरिपरि महिलाहरुमाथि घरायसी कामको बोझ बढेको देखिरहेको छु । आजमात्र मैले युवराज घिमिरेको लकडाउन लेख कान्तिपुरमा पढेको थिए । उहाँको घर वरिपरि वसोवास गर्ने महिलाहरुको काम पनि पहिले भन्दा बढेको कुरा उहाँले आफ्नो लेखमा उल्लेख गर्नुभएको छ । यो कथा हामी दुई पात्रको घरवरिपरि मात्र भएको होइन, सबैतिर छ । तपाईको घरवरिपरि र घरभित्रै पनि महिलाको कामको बोझ बढेको छ । मात्र तपाईले महसुस गर्न आवश्यक छ । लकडाउनको समयमा घरायसी कामको बोझ बढनु भनेको के हो ? के घरायसी जिम्मेवारी महिलाको मात्र हो र ?
साथसाथै मैले समाचारमा लकडाउनले जनसंख्या वृद्दि गर्ने कुरा पनि पढेको छु ।

हामी सोचौं न एकपटक, यस्तो विषम परिस्थितिमा पनि यी कुराहरु बाहिर आउनु भनेको महिलाको पहिचान खोइ ? खोइ समानता ? प्रकृतिलाई चुनौती दिएको होइन । सन्तान जन्मिनुपर्छ, महिलाले जन्माउनु पनि पर्छ तर सन्तान परिवारको समझदारी र सल्लाहमा हुनुपर्छ । महिलाको कोख महिलाको चाहना अनुसार प्रयोग गरिनुपर्छ । तसर्थ एन फ्य्राङ्कले वि.स. १९४२ मा देखेको समाज र नथियाले उजागर गरेको समाजको अन्त्य आजको बीसौं शताव्दीको माग हो । पुस्तकमा वर्णन गरिएको यथार्थ भन्दा फरक र परिवर्तित समाजको निर्माण आजको आवश्यकता हो । खान दिएको छु र लाउन दिएको छु भन्ने बहानामा अब कुनै पनि महिला पुरुष नियन्त्रणमा हुनुहुदैन ।

समाजले निर्माण गरेको महिला र पुरुषको घरायसी कामको भूमिकामा परिवर्तन हुन जरुरी छ । घर, पुरुषको निम्ति जति सुरक्षित छ उति नै महिलाको निम्ति पनि सुरक्षित हुनुपर्दछ । महिला आफै सक्षम छ, उसले जन्म दिने सन्तानको निम्ति ऊ स्वयं नै एउटा सत्य हो र यो सत्यलाई आजको दिनमा सबैद्धारा स्विकारिनु पर्दछ । ताकि आमाको नामबाट नागरिकता प्राप्त गर्न कुनै बाउलाई लिएर उभिनु नपरोस् । नागरिकता आमा वा बुवा जोसुकैको नामबाट सहजै प्राप्त होस् । र घरका सबै पुरुषहरुले हात हल्लाएर होइन हात सघाएर महिलाको निम्ति सहयात्री बनुन् ।

प्रतिक्रिया

प्रतिक्रिया