बिगत दिसम्बर ३१ का दिन संसार नयाँबर्ष २०२० लाई स्वागत गर्नका लागि तम्तयार थियो । जापान देखि अमेरिकाको पश्चिम छोरको भाग हवाइ टापू र वेल्सको कुनासम्म नयाँबर्षको लागि नयाँ नयाँ योजना तयार थिए होलान तर कसलाई के थाह थियो कि त्यो बित्दै गरेको बर्ष २०१९को पछिल्लो दिनबाट विश्वले काँप्न पर्ने छ भन्ने ।
चीनको वुहान शहरमा देखा परेको नोबेल कोरोना (कोभिड–१९) को भाइरसबाट संसारले यो हविगत भुक्तीनु पर्नेछ भन्ने कसैले पनि अनुमान गरको थिएन । यदि कुनै अनुमान गर्न सकेको भए या फेरि चीनको त्यो कार्यको सूक्ष्म अध्ययन गरेर चीनले उठाएका कदमहरुको अनुसरण गर्ने जर्मको गरेको भए आज शायद संसारले यो अवस्था देख्नु पर्ने थिएन होला । आज यो लेख तयार गर्दाका बखतसम्म विश्व आक्रान्त छ । गोला बारुद बम शस्त्रअस्त्रले सुसज्जित महाशक्ति राष्ट्र अमेरिका देखि संसारको पर्यंटकीय राष्ट्र इटली र सिँङ्गो यूरोप अन्य विश्वभन्दा पनि आक्रान्त छ । झण्डै १३ लाख मानिस यसको चपेटामा आइ सकेका छन् भने ६ दर्जन डाक्टर सहित झण्डै ७० हजारको संख्यामा सामान्य मानिसहरुको ज्यान गएको छ ।
यस्तो अवस्थामा संसारले एउटा मात्रै कुरा गरिरहेको छ एउटा मात्रै चिन्ता गरिरहेको छ कि कसरी मानवताको रक्षा हुन सक्छ भनेर । नेपाल पनि अहिले निकै जोखिममा रहेको छ । छिमेकी भारतमा मात्रै १२० जनाको ज्यान गइसकेका खबरहरु आएका छन् । संक्रमितको संख्या पनि तीब्र गतिमा बढेको छ । नेपालमा भारतबाट आएका र नेपाल छिर्न नपाएर सीमामा अलपत्र परेकाहरुको पीडा सुन्ने कोही देखिएको छैन तर विदेशीले आफ्नो देशमा कोरोनाले दैनिक हजारको दरमा नागरिक मरिरहेको अवस्थामा समेत आफ्ना नागरिकहरु नेपालबाट खोजिखोजि विमान चार्टर नै गरेर लगेका खबरहरु पनि आइ रहेका छन् । यो अति नै बिडम्बनापूर्णको अवस्था अहिले नेपालमा आएको छ ।
हरेक देशको जिम्मेबार सरकार कहिल्यै पनि आफ्ना नागरिक प्रति उदासिन हुन सक्दैन यदि त्यो सरकारमा अलिकतिपनि नैतिकता छ भने । अझ लोकतान्त्रिक सरकार त झन कुनैपनि बहानामा यसबाट भाग्ने काम गर्छ भने त्यसको जतिसुकै भ्रात्सना गरेपनि कमै हुन्छ । अहिले नेपाली नागरिकहरु यो संकटको बेला छिमेकी भारतबाट आफ्नो रोजिरोटी गुमेका कारण आफ्ना् मातृभूमीमा आफ्ना स्वास्नीछोराछोरीसँग साथ मर्ने र बाँच्ने मनसुवा गरि फर्कंदा सीमानामा रोकिएका छन् भने कतिपयले घर आउनाका लागि नै ज्यान जोखिमा राखेर नदीमा हाम फालेका खबर सुन्दा कुनैपनि विवेकशील नेपालीका आँखा नरसाइ रहन सक्दैनन ।
छिमेकी देश भारतमा भएको डरलाग्दो संक्रमणबाट डराउनु पर्ने पक्कै हो तर पनि आफ्नै देश आउनबाट नागरिकलाई छेकेर सरकारले आफ्नो दायित्व पुरा गरेको भन्ने र ती नेपालीहरुलाई समाजिक सञ्जालमा तथानाम गाली गलौच गर्ने अर्काथरी नेपालीहरुको चाला देख्दा देशमा ‘ मै मात्रै ’ भन्ने उखान चरितार्थ भएको छ । त्यस्ता व्यक्तिहरुले आफुालाई समाजसेवी, राजनीतिककर्मी, परोपकारी भन्ने गरेको सुन्दा त झन अझ दया लागेर आउँछ हाम्रो चरित्रमाथी नै । हो आम नेपालीमा शिक्षाको अभाव छ, रोगको बारेमा सचेतना पनि कम भएकाले नै उनीहरु त्यसप्रति संवेदनशील नभएका होलान र उनीहरुले समाजिक दूरी कायम गर्ने, आफु बाहिरबाट आएकोमा तोकिएको समयसम्म एकान्तबास बस्न पर्ने जस्ता कुराहरु प्रति जागरुक नभएकाले गर्दा कैलालीमा समेत चार जना संक्रमित भएका भन्ने कुरा छ तर यसको जिम्मेबारी कसको त ? यसमा पनि सबैले सन्तुलित भएर भन्नै पर्छ । मात्रै उनीहरुलाई मात्र दोषी देखाएर जिम्मेवारी लिएकाहरु उम्कने मार्ग खोज्नु त्यति राम्रो कुरा होइन ।
आफ्नो देशको नागरिकता नै छोडेर गएकाहरुको चिन्ता गरको स्वाँङ पारेको तर आफ्ना गरिब मजदूर नागरिकको वेवास्ता गरेको कुरालाई चुपचाप सहँदै सरकार कै प्रशंसा गर्नुपर्ने पनि केहि छैन । अहिले त देशमा कुनै त्यस्तो अस्थायी सरकार या जोडतोडको सरकार भएको अवस्था होइन । इतिहासमा नै शक्तिशाली एकमना सरकार भएका बेलामा समेत नेपाली नागरिकले भरपर्दो सुरक्षा पाउन नसक्ने अवस्था आउँछ भने यो देशका नागरिकले कस्तो सरकारको निर्माण गरि दिनु पर्ने हो ? संकटको बेला पहिलो कार्य जुनसुकै सरकारको पनि आफ्ना नागरिकको रक्षा हुनु पर्छ । यस्तो बेलामा पनि भ्रष्टाचारका भाखाहरु, जिम्मेवारी पन्छाउने गीतहरु, उपायनास्तीका खबरहरुले समाचार र सञ्जाल भरिनु जस्तो दुर्भाग्य केहि होइन ।
पैसा छैन, उपाय छैन सकिन्न भन्ने जस्ता समस्या अहिले देखाउने र आफ्ना घरमा कम्तिमा पनि खान लाउन पुग्ने अवस्था हुँदाहुँदै पनि राहतको लाम लाग्न जाने र यस्तालाइृ सिफारिस गरि पठाउनेहरुले यो जुनीमा मर्नै नपर्ने निधो गरे जस्तो छ । यस्तोमा त तिनीहरुलाई यतिमात्रै भन्न सकिन्छ कि तिनका सातपुस्ताले सधैं यस्तै गरेरमा मात्रै खान परोस् । हिजो् बजेटमा चउरको झार उखेल्न झण्डै पाँच अरब रकम छुट्याउने सरकारले अहिले संकटका बेला नागरिकको व्यवस्थापन गर्दै सुरक्षा दिन सकेन भने यो भन्दा पनि लाजमर्दो कुरा केहि हुँदैन । देशमा संघीयताको अभ्यासमा अहिले सबैभन्दा सक्रिय भएको भनेको स्थानीय सरकार देखिएको छ । ठाउँ ठाउँमा यसका राम्रा कामहरु द्येखिएका छन् ।
यस बीचमा केहि गलत कामको लागि मात्रै जन्मेकाहरुले यस्ता राम्रा कामहरुमा पनि भाँजो हाल्ने गरेको र यसैको बिचबाट आफ्नो नीहित स्वार्थ सिद्ध गर्ने गरेका खबरहरु पनि आएका छन् । कुनै पनि देशको वैदेशिक मामिला त केन्द्र कै हुन्छ । विदेशमा रहेका नागरिकहरुको जिम्मा लिने त संघीय सरकार र यसका प्रत्यक्ष विभागले हो । तिनीहरुलाई आपतविपत पर्दा होस् या तिनिहरुलाई उद्धार गर्ने र सुरक्षित रुपमा उनका घर परिवारलाई जिम्मा लगाउने पनि केन्द्र सरकारको जिम्मा हो तर यहाँ त त्यस्ता नेपालीहरुको कुनै जिम्मा लिएको देखिएन केन्द्र सरकारले । कुनै कार्यक्रम नै देखिएन । कुनै रकम पनि देखिएन यसमा । जे जसो गरेका छन् सकि नसकि स्थानीय सरकारहरुले मात्रै गरेका छन् या नसके बाटो छेकेका छन् । यो अवस्थाले नागरिक प्रतिको जिम्मेवारी केन्द्रको पुरा भएको छैन भन्ने आधार छ ।
कतिसम्म र कहिले सम्म यो अवस्था हुने हो त ? के भारत बाहेकका देशमा गएकाहरुलाई जेकजाँच सम्म पनि गर्ने जिम्मेवारी नठानेका कारण अहिले संक्रमण भित्रिएको कुरा लुकेको छ र ? आज कुरामा संसार ठीक छ भनेको भरमा सबै ठीक हुने त होइन होला नि । स्थानीय सरकारका व्यक्तिहरु जनप्रतिनीधि, कर्मचारीहरु समेत आफ्नो वरकतले भ्याएसम्मको जोरजाम गरेर लाग्नु भएको छ । वहाँहरुलाई सबैले प्रशंसा गरौं साथै वहाँहरुलाई पनि आफ्नो पार्टीको केन्द्रमा भएको सरकारलाई औंलो देखाउनै हुन्न भन्ने सोंचमा परिवर्तन ल्याउन पनि अनुरोध गरांैं । बेला बेलामा वहाँहरु भन्नुहुन्छ कि स्थानीय सरकारलाई काम गर्न दिइएन अनि यो बेलामा केन्द्रको खोइ त सहयोग सोध्न हुन्छ कि हुँदैन यो पनि ख्याल गर्नु पर्छ । यो महामारीका बेला जनताले पनि मेरो सरकार होइन भन्ने मूर्खता पाल्नु हुँदैन । जनताले भोट जसलाई दिएको भएता पनि तिम्रो पनि सरकार भनेको पाँच बर्षको लागि जितेकाहरुको नै हुन्छ । लोकतन्त्रमा संख्याबलले सरकार बन्छ तर चल्ने त लोक सम्मतीले नै हो ।
बिरोध गर्ने हो बेस्सरी गर्ने त्यस्तो कुराको जुनकुरामा स्वार्थको गंध आउँछ । जहाँ सत्ताले आफ्नो र अर्को भनेर सेवामा विभेद गर्छ । जहाँ लोकलाजको हेक्का गर्दैन । तर सबैका लागि काम भैरहेको छ भने त्यसमा पनि खोट निकालेर या अमूक सिद्धान्तधारी भएको वा नभएको नाममा सत्तासँग सम्बन्ध राख्ने तालुकदार हुन या सम्बन्ध नराख्नेहरु कसैले कसैको उछितो काढ्नु हुँदैन । अहिले यो अवस्था जटिल छ । जनताले विरोधको लागि असयोग गर्ने, रोगको प्रसारमा लाग्ने जस्तो काम कुनैपनि मूल्यमा राम्रो मान्नै सकिन्न । रोग धनि या सत्ताधारी या शक्तिशालीलाई मात्रै लाग्ने भन्ने हुँदैन । समस्या बल्झेपछि त सबैलाई बल्झिने हो ।
जसले गरेपनि राम्रो कामको प्रंशंसा गर्दा कसैको मान घट्दैन । सत्यकुरा र हुँदो कुराको विरोध गरेर, त्यस्ता व्यक्तिहरुको उछितो काढेर पनि सत्ता टिकी रहने होइन । कथित बुद्धिजिवी हुनका लागि स्तुतिगान गाइरहने या बेथितीलाई आँखा चिम्लि रहने पनि होइन । त्यसैले सबैले आ आफ्नो स्थानबाट सोंचौं, जानौं, संसार चल्न त धेरै विचार चाहिन्छ । त्यसैले सबै पक्षले आत्मसंयम राखौं । आजको खाँचो भनेको आत्मसंयम र एक अर्काको आदर नै हो ।