निकुञ्ज प्रवेश गर्ने २८ जना फन्दामा, तस्करीको आशंका

भावुक योगी

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट बच्न मुलुक यतीबेला लकडाउनमा छ । लकडाउनको पालना गर्दै मानिसहरु घरमै बसेका छन् । तर लकडाउनको मौका छोपेर निकञ्ज भित्र तस्करहरु सलबलाउन थालेका छन् ।

बर्दिया निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता बढाएको छ । वन्यजन्तुको तस्करीलाई रोक्न निकुञ्ज प्रशासनले यतीबेला नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको छ ।

लकडाउन सुरु भएयता वन्यजन्तु र काठ तस्करीका लागि निकुञ्ज प्रवेश गरेका २८ जनालाई निकुञ्जले पक्राउ गरि सकेको निकुञ्ज प्रशासनले जनाएको छ । पक्राउ परेका सबै निकुञ्जको थुनुवा कक्षमा छन् । वन्यजन्तुको तस्करी गरिरहेका १० जना र काठ तस्करीमा लागेका १८ जनालाई पक्राउ गरिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

कोरोना भाइरस जोखिमलाई मध्यनजर गरि प्रकाउ परेका सबैको स्वास्थ्य जाँच गरि थुनामा राखिएको बरालले बताउनुभयो । लकडाउनका बेला बाहिर रहेका मानिस पनि घर आएको र बाहिर सुनसान भएकाले तस्करहरु निकुञ्ज भित्र सक्रिय भएको निकुञ्जको भनाई छ ।

वन्यजन्तुको चोरीशिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती देखिएको बताउँदै प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो ‘फरार सुचीमा रहेका व्यक्तिहरु यतीबेला गाउँ आएको सुचना पाएका छौँ, उनीहरुबाटै बढी खतरा छ, उनीहरुको निगरानी पनि बढाएका छौ ।’

वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयत्रलाई प्रभावकारी बनाएको बताएको छ । आजभोली दिनहुजसो निकुञ्ज सुरक्र्षाथ शिव दल गणका नेपाली सेना र निकुञ्जका कर्मचारीले पैदल र गाडी दुवैबाट स्विप अपरेशन गर्ने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनुभयो ।

निकुञ्ज भित्र अति संवेदनशिल क्षेत्रमा क्यामेराहरु पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्र भित्र पर्ने राजमार्गमा पनि ठाउँठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ । निकुञ्ज भित्र सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोष्टहरु छन् । वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोष्टहरुबाट नियमितरुपमा पट्रोलिङ (गस्ती) र स्विप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकाशं कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ । यतीखेर निकुञ्जमा पर्यटक छैनन् । जंगल सफारी पनि बन्द छ ।

निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा छ्याछ्याप्ती देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सक्रिय देखिएकाले निकुञ्जको सुरक्षामा पनि विशेष योजना बनाएर अघि बढिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनुभयो ।

‘वन र वन्यजन्तुको तस्करी रोक्न हामी निकै संवेदनशिल भएर लागेको छौँ, वन्यजन्तु जोगाउने सुरक्षा चुनौती छ नै, यसलाई रोक्न विशेष योजनाका साथ निकुञ्ज प्रशासन अघि बढेको छ ।’ थापाले भन्नुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया