लुकिछिपी आउनेलाई कडाइ


कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउने निर्णय गर्दै बाँकेको नरैनापुर गाउँपालिकाले सीमानाकालाई पूर्ण प्रतिबन्धको निर्णय गरेको छ ।
भारतीय सीमाबाट अझैं पनि लुकीछुपी नेपालीहरु घर फर्किरहेको पाइएकाले सीमा क्षेत्रमा कडा सुरक्षा ब्यवस्था गरी सीमानाकाबाट आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको बैठकले उक्त निर्णय गरेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिएका हुन् ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमह शाहको अध्यक्षतामा जय किसान माविमा बनाइएको क्वारेन्टाइन स्थलमा शुक्रबारभएको बैठकले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई कुनै पनि असुबिधा हुन नदिनका लागि ब्यापक तयारीका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।
जयकिसान माविको क्वारेन्टाइनमा भारतबाट मजदुरी गरेर फर्केका १ सय ५० को संख्यामा रहेका ब्यक्तिहरुको झुल, खानेपानी, साबुन,निर्धारित मापदण्ड अनुसार खाजानास्ता, शौचालय र स्वास्थ्य परीक्षण लगायतको ब्यवस्थापन गर्नको लागि जिम्मेवारी समेत बाँडफाँड गरेको मिश्राले बताए ।
कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण गैरश्रमिक, बिपन्न परिवार तथा असहाय परिवारहरुमा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव हुन नदिन त्यस्ता परिवारहरुको तथ्यांक संकलन गरी उनीहरुलाई गाउँपालिका मार्फत् एकद्वार प्रणाली अन्र्तगत् यथाशिघ्र राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण वडालाई जिम्मा दिने बैठकमा निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया