दिला शाह
२०७६ चैत ५ गते साँझ छोरीको फोन अायो । हलो भन्न नपाउँदै उताबाट छोरीको रुन्चे अावाज सुनियो -“मम्मी SEE नै स्थगित भयो । यत्रो रात दिन नभनेर पढेेको, exam को तयारी गरेको, बेकार भयो ! अब के गर्ने ?
मैले छोटो उतर दिएँ -” चिन्ता नगर छोरी जीवन रह्यो भनेन पढाइ लेखाइ अन्य कुरा, यदि जीवन नै सकिएपछि के को पढाइ के को exam हैनर ? भो चिन्ता नगर । अब घर अाउने तयारी गर म टिकटको ब्यबस्थापन गर्दिन्छु छिट्टै अाईहाल्नुपर्छ ।
छोरीलाई यति भनेर फोन बार्ता सकियो तर मेरो मनको तर्कना भने सकिएन । कोरोना भाइरसले विश्वका ठूला ठूला राष्ट्रहरुलाई नतमस्तक पारिसकेको छ । सबै जना त्रसित भएका छन् । १६ दिन पछि जापान घुम्न जाने सम्पूर्ण तयारी सकिएको थियो तर एकाएक कोरोना अातंकले सब चक्नाचुर बनाईदिएको थियो । मनमा लामबद्द भएर धेरै कुराहरू खेलिरहे …
केही समय अघि मात्र विदेश यात्रा गर्नुलाई एउटा राम्रो अवसरको रूपमा लिइन्थ्यो । विदेश जाने या विदेशबाट आएको भनेंपछि मानिसहरू प्रसङ्गै बिना पनि म त विदेश गा’थेँ या बाहिर जानुछ… भनेर सुनाउने गर्थे । कुनै नयाँ ठाउँ जाँदा कतिपल्ट आफैले पनि सुनाइयो होला । विदेश यात्रालाई सफलताको सूचकझैँ गरी मानिसहरू चर्चा गर्थे । देश बिदेश गरिरहने मान्छेलाई ठूलो मानिस मानिन्थ्यो ।
तर हेर्दाहेर्दै हिजो खुशीको यो विषय आज एकाएक डरलाग्दो विषयमा परिणत भएको छ । मानिसले गरेको यात्राका कारण पूरै विश्व आक्रान्त छ । विभिन्न मुलुक आफूले आफैलाई ‘लकडाउन’ गरेर सुनसान छन् । विदेश यात्राबाट फर्कनुलाई अहिले त्रासका रुपमा हेर्न थालिएको छ र फर्किएका मानिसहरू शंकाको घेरामा रहेका छन् । छरछिमेकमा कोही बिदेशबाट अाएको छ भने त्यो टोल नै जोखिममा रहेको कुरा शंका गर्नथालिएको छ ।
कस्तो अनौठो छ यो मृत्यु भन्ने कुरा मानिसको जीवनमा अकाट्य सत्य हो तर पनि मृत्यु मानिसको जीवनमा सबै भन्दा ठु्लो त्रास हो । त्यही त्रासका बीच अहिले विश्वका मानिसहरू मरिएला कि बाँचिएलाको स्थितिमा छन् । सन् २०२० को सुरुवातसँगै चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले मानिसलाई यो अवस्थामा पुर्याएको छ । अाज रातारात यो भयावह अवस्थाको श्रृजना भएको छ ।
हाम्रो देशका अाधा युवा जनशक्ति बिदेशमा छन् । हामीमध्ये कतिका छोराछोरी विभिन्न देशमा छन्, कतिका बाबुआमा, पति–पत्नी र नातेदारहरू छन् । मुलुकहरू ‘लकडाउन’मा जाँदा यताको यतै उताको उतै भइएला कि भन्ने पीर छ अँझ कहिल्यै भेट्न नपाईने पो हो कि? भन्ने त्रास छ पनि छ ।
हाल फैलिरहेको कोराना महामारीले पृथ्वीमा कुनै पनि बेला जे पनि हुन सक्छ भनी मानिसलाई आत्मसात गर्ने अवसर दिएको छ । अहिले मानिसबाट मानिसमा सर्ने रोग आउँदा यस्तो छ, यदि भोलि हावाबाट सर्ने रोग आयो भने के हुन्छ होला ?
विश्वका ठूलाठूला देशहरू आफ्नै रफ्तारमा अघि बढिरहेका थिए । धन, दौलत, सुरत, सौरत हरेक कुरामा एकसे एक मुलुकहरु अहिले ‘लकडाउन’ मा छन् । बढिभन्दा बढि पर्यटक भित्र्याउने होडबाजीमा रहेका देशहरू अहिले पर्यटक शब्दबाट डराउने मात्र होइन उनीहरूलाई पूर्णतः निषेध गर्न बाध्य छन् । अस्तिसम्म विदेशीहरूले नमस्कार गर्न सिके भनी ब्यङ्ग्य गर्दै बसेका हामी अहिले हाम्रो देश परम्परा र रीतिरिवाजसँग गर्व गरिरहेका छौ । अाज महा शक्तिशाली देशहरू पनि ‘लकडाउन’मा छन् । हामी पनि लक डाउनमा बसेका छौ । यो रुप एक्दमै डरलाग्दो छ थाहा छैन भोली यसले अाँझ कस्तो रुप लिने हो ?
यात्राबिनाको जीवन हामीले कल्पनै गर्न छोडिसकेका थियौँ । अहिले पनि कल्पना गर्न गाह्रो छ । अाधा जसो जनशक्ति देश बाहिर भईरहेको अवस्थामा मुलुकहरू ‘लकडाउन’मा जाँदा यताको यतै उताको उतै भइएला कि भन्ने पनि छ । प्रकृति, महामारी र प्रकोपका अगाडि मानिस कति लाचार, असहाय र निरीह हुने रहेछ भन्ने कुरा आँखैअगाडि देखिएको छ । परिस्थितिले विश्वका अर्बपतिहरू, मैं हुँ भन्ने विद्वानहरू, ठुला–ठुला आविष्कारक वैज्ञानिकहरू सबैलाई एउटै धरातलमा ल्याइपुर्याएको छ । जति ठुला कुरा गरे पनि प्रकृतिका अघिल्तिर मानिसको केही लाग्दैन भन्ने कुरा पटक–पटक प्रमाणित हुँदै आएकै हो । प्रकृतिले सहज रुपमा चलिरहने हावाको बहावलाई अलिकति मात्रै तलमाथि पार्यो भने मानिसको जीवन समाप्त हुन्छ भन्ने यथार्थ हो यो ।
पृथ्वीमा मानिसको अस्तित्व स्थापित भएपछि पनि धेरै लामो समयसम्म एक अर्कोलाई सहज रूपमा जोड्ने साधनहरू बनेका थिएनन् । पैदल हिँडेरै मानिसहरू लामो यात्रा गर्थे । दुइपाङ्ग्रे, चारपाङ्ग्रे यातायातका साधनहरूको क्रमिक विकाससँगै यात्रा सहज बनेको हो । पैदलयात्रा, सडकयात्रा हुँदै हवाइयात्राको इतिहास १ सय १७ वर्षको मात्रै छ । सन् १९०३ मा राइट ब्रदर्शले पहिलोपटक हवाइजहाजको परीक्षण गरी सुरुवात गरेका थिए । यद्यपि हाम्रा ऋषिमुनीहरूले हवाइजहाजको परिकल्पना हजारौँ वर्षअघि गरेका थिए । अाज ती कुराहरूलाई साक्षरतका गरिरहेको समाजले के साँच्चै गहन भएर सोच्यो कहिले ? युगका बयान र कलिका पाउको बिषयमा गरेका पुराणका कुराहरू अाज ठ्याक्कै मिल्न गईरहेका छन् साँच्चै बैज्ञानिक नै थिए त हाम्रा पुर्खाहरु ? एकपटक सोच्ने बेला अाएको छ ।
जिन्दगीको सबैभन्दा ठुलो सत्य के हो भने यस प्रकारका महामारी आए पनि नआए पनि हामी केही समयका लागि मात्रै यो पृथ्वीमा छौँ । पृथ्वीमा हाम्रो उपस्थितिसँगै अनुपस्थिति हुने निश्चित छ । जो अकाट्य सत्य छ फरक यति मात्रै होकि, हाम्रो उपस्थिति कस्तो रह्यो बाँच्दा सम्म ? के हामी सन्तुष्टि साथ खुसी साथ बाँच्यौ ?
अहिलेको बैज्ञानिक युगमा पनि विश्वब्यापी यात्रामा उड्ने जहाजहरू यसरी ठप्प होलान्, शक्तिशाली राष्ट्रहरु पनि यस अवस्थामा पुग्लान् भनेर कल्पना गरिएको थिएन । अन्तर्राष्ट्रिय ट्रान्जिटहरू हेर्दा मानिसहरूको आवतजावतले नै त विश्व चलेको छ जस्तो लाग्थ्यो । कोराना महामारीले पृथ्वीमा कुनै पनि बेला जे पनि हुन सक्छ भनी मानिसलाई आत्मसात गर्ने अवसर दिएको छ । अहिले मानिसबाट मानिसमा सर्ने रोग आउँदा यस्तो छ, भोली हावाबाट सर्ने आयो भनें के हुन्छ ? हामीले गर्ने देश–विदेशवाला यात्रा मात्र यात्रा नभएर मानिसको जीवन स्वयम् यो पृथ्वीमा एउटा यात्रा हो । जो केही समयका लागि छ, रहन्छ । जिन्दगीको यो ‘लिमिटेसन’लाई बुझेर अगाडी बढ्ने हो भने हामी सबैले आ–आफ्नो ठाउँमा गुणात्मक योगदान गर्न सक्छौँ भन्ने मलाई लाग्छ ।
अहिले देशलाई यो भयङ्कर महामारीबाट बचाउँन सरकारले ‘लकडाउन’ घोषणा गरेको अवस्था छ यसकारण अहिले हामी सबै घर–घरमा छौँ । हामीले जुन घरलाई आफ्नो ठानेर बसिरहेका छौँ त्यो पनि भौतिक छ हिजो अरु नै कसैको थियो । भोलि हामी नभएपछि अरु कसैको हुनेछ । यात्राको ट्रान्जिटमा रहेको कुर्सीजस्तै बसुन्जेल बस्ने र अर्को यात्रा सुरु भएपछि छोडेर हिड्नै पर्छ । ‘म नभए त संसार चल्दैन होला ? भन्ने कुरासँगै ‘म हुँदा के भएको छ ?’ के गरेको छु देशको लागि ? भनेर सोच्ने मौका पनि समयले दिएको छ । अाफु र आफ्ना कारणले केही राम्रा काम भएका छन् भन्ने लाग्यो भने कम्तीमा त्यसले आत्मसन्तुष्टि दिन्छ । ‘म नभए के होला ?’ भनेर हामी कसैले चिन्ता लिनु पर्दैन । अहिले हामीलाई के–के नै गरिरा’छु म नहुँदा त संसारै ठप्प होला जस्तो लागे पनि वास्तविकता त के हो भने हामी नहुँदा पनि यो संसार यसैगरी चलिरहेको थियो , भोलि पनि चलिरहने छ । त्यसैले पृथ्वीमा आफ्नो अस्तित्व रहुन्जेल जहाँ छौँ त्यहीँबाट सकेको राम्रो काम गरौँ । आपतविपदको बेला सकेसम्म दुःख पीडामा परेकालाई सहयोग गरौं । हाम्रो सानो सहयोगले कसैको जनधनको संरक्षण हुन्छ भने हामी पछाडि हट्नु हुदैन ।
हामीले अाफुलाई एक्दमै शक्तिशाली ठान्यौ । घमण्डले भरिपुर्ण भयौ । संसारमै सर्बोत्कृष्ठ मान्यौ । अन्य जगतका चराचर कुराहरू कहिल्यै केही गनेनौ तर अाकासमा पंख फिजाएर हेर ती चराहरु निर्वाद घुमिरहेका छन् कमिलाका ताँतीहरु उस्तै लस्करै निक्लिरहेकाछन् ।माछाहरु नदिमा चंचल पौडिरहेका छन् , मृग मरिच बन जंगलमा उफ्रिरहेछन् । मयुर नाँचिरहेकै छ कोईलीले गाएकै छ । हामी मान्छेहरु अाफ्नै अस्तित्व बिर्सेर , परिवारलाई भुलेर दिनरात पैसा पैसा भनेर दौडिरह्यो । परिणाम अाज एउटा सानो भाईरसको कारण दुलो भित्र लुक्न बाध्य बनाईदिएको छ । अाफ्नो घरको संघारमै लक्ष्मणरेखा कोरिदिएको छ । हामी नतमस्तक छौ ! चुपचाप छौ ! स्तब्ध छौ ! सोच्न बाध्य छौ म को हुँ ? मेरो अस्तित्व के ?