कोरोना भाइरसको जोखिमका कारण यसपालिको चैतेदशैँ प्रभावित बन्न पुगेको छ । विशेष महत्वका साथ मनाउने यो पर्व यस वर्ष कोरोना विरुद्ध सतर्कताका कारण लागु लकडाउनका कारण प्रभावित बन्न पुग्यो ।
नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा आज ठूलो भिड लाग्ने गर्दथ्यो । तर, आज मन्दिरमा दर्शनार्थीहरु पुग्न सकेनन् । मन्दिर पुरै सुनसान थियो ।
चैतेदशैँमा जिल्लाका विभिन्न ठाउँमा मेला लाग्ने, बलि चढाउने, चेलीबेटी माइती जाने, छोरीचेली पुज्नेलगायतका धार्मिक संस्कार यसपटक प्रभावित भयो । मधेसी समुदायमा पनि चैते दशैंमा मन्दिर गएर विशेष पुजाआजा, मुण्डन, जिब्रो छेड्ने लगायका कार्य हुँदै आएकोमा यसबर्ष लकडाउनका कारण हुन सकेन ।
त्यस्तै, कर्णाली क्षेत्रमा विशेष गरेर मनाइने चैतेदशैँको रौनक कोरोना भाइरसको जोखिमका कारण यस पटक सेलाएको छ । जाजरकोट, डोल्पा र कर्णाली प्रदेशका सबै जिल्लामा धुमधामका साथ मनाउने चैतेदशैँलाई परम्परालाई निरन्तरता दिने र नयाँ पिढीँलाई संस्कृति हस्तान्तरण गरी परिचित गराउने अवसरका रुपमा समेत लिइन्छ ।
चैतेदशँै सबैभन्दा बढी उपल्लो डोल्पा, हुम्ला र मुगु जिल्लामा बनाउइन्छ । घोडा, खच्चड, भेडा, च्याङ्ग्रा र चौँरी ल्याएर जाजरकोटको नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा अस्थायी बसोबास गर्ने उपल्लो डोल्पाका स्थानीयवासी चैतेदशैँ (भोटेदशैँ) यी ठाउँमा बनाउने गर्दथे । चिसो छल्दै चैतेदशैँ मनाएर जाजरकोट र रुकुमबाट पशुचौपायामा खाद्यान्न ढुवानी गरी उपल्लो डोल्पा जाने चलन छ । अहिले यातायातको पहुँच विस्तारसँगै उपल्लो डोल्पाका स्थानीयवासी माथिल्लो जाजरकोट र तल्लो डोल्पामा बसोबास केन्द्रित गरी सोही ठाउँमा अस्थायी बसोबास गर्दै आएका छन् । मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा रहेको चैतेदशैँ यो पटक लकडाउनका कारण परम्परा त्याग्न बाध्य हुनुपरेको शे–फोक्सुण्डो गाउँपालिका–५ डोल्पाका टसी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “चैतेदशैँ हाम्रा लागि खास दशँै हो, वडादशँैभन्दा हाम्रो लागि चैतेदशैँ ठूलो पर्व हो तर यो पटक लकडाउनका कारण हामीले तयारी नै गर्न पाएका छैनौँ ।”
नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भन्नुभयो, “गाउँगाउँमा जनप्रतिनिधिदेखि प्रहरी र स्वास्थ्यकर्मी लकडाउनको पालन गरौँ भन्दै हिँडिरहेका छन्, हामी आफँैलाई पनि कसरी ज्यान जोगाउने भन्ने चिन्ता छ, चैतेदशैँको त के कुरा भयो र ?” कोरोना भाइरसको त्रासका कारण एक घरबाट अर्को घरमा जानका लागि अनुमति छैन, त्यसमा पनि डरका कारण आफैँ पनि जान मन लाग्दैन” डोल्पोबुद्ध गाउँपालिका–२ का साङची लामाले भन्नुभयो, “गाउँभरि हिउँले भरिएको छ, आफन्तहरु काठमाडौँबाट आउन पाउनु भएन, कसरी एक्लै चैतेदशैँ बनाउनु, दशा आए झैँ भएको छ ।”
बारेकोट गाउँपालिकाका–५ का जनकबहादुर शाहीले सो क्षेत्रका जनजाति समुदायका मानिस यो पर्वमा बढी रमाउने गरेको जनाउँदै जाजरकोट र रुकुम जिल्लामा यातायातको पहुँच नभएको समयमा भोट क्षेत्रका स्थानीयवासी तल्लो क्षेत्रमा झरेर चैतेदशँै मनाउने शाहीले जानकारी दिनुभयो । चैतेदशैँ मनाउने चाहना हुँदाहुँदै पनि लकडाउनका कारण बजार नखुल्दा र घर बाहिर जान नपाउँदा सामग्री खरिद गर्न नपाएको सर्वसाधारणको गुनासो छ ।
सामग्री खरिद गर्न नपाएछि कसरी चैतेदशैँ मनाउने वातावरण तयार हुन्छ ? भेरी नगरपालिका–३ का भीमबहादुर खत्रीले भन्नुभयो, “आयो दशैँ धुलो उडाई, गयो दशैँ ऋण बोकाई भन्ने उखान यसपटक गलत हुने भएको छ ।” यो पटक कोठामा रेडियो सुन्दै र टिभी हेर्दै चैतेदशँैको स्वागत तथा बिदाइ हुन लागेको भीमबहादुरले बताउनुभयो ।
चैतेदशैँ आयो भन्दै आफन्त, इष्टमित्र गाउँगाउँमा रहेका आफ्ना घरमा आउँथे, यो पटक आफन्त आए पनि ढोका बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ, पञ्चभयार मावि नलगाड नगरपालिका–८ का शिक्षक वीरबहादुर खत्रीले भन्नुभयो । बलि पनि रोकियो विगतदेखि कालिका माईलाई बलि दिने चलनले यो पटक पनि निरन्तरता नपाउने भएको छ । गाउँ–गाउँमा बोका तयारी गरी बलिका लागि तयार भएको खबर प्राप्त भएपछि सुरक्षाकर्मीको उपस्थिति रहने खबर पाएलगत्तै बलि रोकिएको हो । जाजरकोट नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा बलि बढी दिने गरिन्छ । कोरोना भाइरस जोगिनका लागि शक्ति प्रदान होस् भनी बलि दिन लागिएको भए पनि प्रहरीले रोक्ने खबर आएलगत्तै घरघरबाट अलग–अलग गएर ध्वाजा लगाएर आउने सोच बनाएको नलगाड नगरपालिका–८ का केशव खत्रीले जानकारी दिनुभयो ।