होली पछाडी ११ वर्षीया छोरीलाई लिएर म बजार जाँदै थिए । स्कुटरमा बसेकी छोरीले भनिन् – ‘ममा म आज कस्तो डराएको नि । डराएर लुके ।’ मैले ‘किन डरायौं सानु’ भने । उनले भनिन् – ‘हेर्दा केटा जस्तो तर मेकअप केटी जस्तो एकजना मान्छे मेरो नजिकैबाट हिड्यो । उनिहरुले त हामीलाई अपहरण गरेर लैजान्छन् रे अनि आफू जस्तै बनाउँछन् रे त्यहि भएर म लुके’ । फेरि सोधें – ‘यो अपहरण गरेर लैजाने कुरा कसले भन्यो नि तिमीलाई ?’ उनले भनिन् – ‘मेरो साथीले । उसलाई उसको ममाले भनेको रे ।’ उनको सुनेपछि तत्काल मैले उनलाई त्यस्तो पहिचान भएका व्यक्तिहरुको बारेमा केही जानकारी त दिए तर म आफैंलाई सार्है अचम्म लाग्यो उनले प्राप्त गरेको सूचना देख्दा ।


हामी समावेशीको कुरा गर्छौ, समानताको कुरा गर्छौ तर एउटा अभिभावकले आफ्नो सन्तानलाई फरक यौन व्यहार भएका व्यक्तिको बारेमा बुझाउँदा त्यसरी बुझाउनु कतिसम्मको जायज हो ? भन्ने कुरा मनमा खेलिरह्यो । ‘अपराधी’को संज्ञा दिएर कुनै व्यक्तिको बारेमा बुझाउनुभन्दा बरु सहि सूचना दियो भने कम्तिमा त्यस्ता फरक यौनिक तथा लैगिक पहिचान भएका व्यक्तिहरुलाई यो समाजमा समान अवसर प्राप्त हुन्छ कि भन्ने सोचेर आज यो लेख लेख्दैछु । यस लेखमा म लैङ्गिक पहिचान, यौनिक अभिमुखिकरण, जैविक लिंङ्ग र लैगिकताको बारेमा अत्यन्तै साधारण सूचनाहरु प्रदान गर्नेछु, जुन सबैले बुझ्न आवश्यक छ र बुझेर हाम्रा व्यवहारहरुलाई समावेशी बनाउन आवश्यक छ ।


शुरुमा जैविक लिंङ्गकै कुरा गरौं । जैविक लिंङ्ग, अर्थात सेक्स भनेको कुनै पनि व्यक्ति जन्मिदा उसले लिएर आएको दुई खुट्टाबीचको अंङ्ग हो । जसको आधारमा हामी छोरा जन्मियो वा छोरी जन्मियो भनेर भन्न सक्दछौं । शारीरिक यौनाङ्ग अनुसार मानिसको जैविक लिंङ्ग निर्धारण हुन्छ छोरा वा छोरी भन्ने । तर जैविक लिंङ्गको वहस गर्दा हामी सामान्यतः महिला र पुरुषको मात्र कुरा गर्दछौं ‘अन्तरलिंङ्गी’को गर्दैनौं । हामीले सानैदेखी पाठ्यक्रममा पढेको पनि स्त्री लिंङ्ग र पुलिङ्ग नै हो । तर नेपालमा सन् २००१ बाट चर्चामा आएको विषय हो अन्तरलिंङ्ग, जुन महिला र पुरुष देखी फरक अर्को एउटा जैविक लिंङ्ग हुन्छ र त्यो भनेको अन्तरलिंङ्ग हो । अन्तरलिंङ्ग भन्नाले मानिस जन्मदाँ उसको यौन संरचना साधारण रुपमा मानिने महिला र पुरुषको अंङ्गसंग मेल खादैन । उनिहरुसंग महिला र पुरुष दुवैको यौनाङ्ग हुन्छ तर प्रष्ट हुदैन भने यसलाई अन्तरलिंगी भनिन्छ । जसलाई हामी प्रायःले ‘हिजडा’को नामबाट सुन्ने गरेको छौं । तर यथार्थमा हिजडा भनेको कुनै व्यक्तिको यौनाङ्गलाई जनाइएको शव्द होइन । यो एउटा भारतीय समुदायले अपनाएको संस्कार हो र यो संस्कार अपनाएका व्यक्तिहरु भारत, नेपाल र बंगलादेशमा भेट्न सकिन्छ । हिजडाको आफ्नै संस्कार छ । यस संस्कारभित्र अन्तरलिंङ्ग वा पारालिंङ्ग दुवैप्रकारका व्यक्तिले सदस्यता लिन सक्छ तर सदस्यता लिनको निम्ति उसको हाउभाउ महिलाको जस्तो हुनुपर्छ र उसले हिजडा संस्कार अनुसार आफ्नो लिंङ्ग भगवानलाई चढाएको हुनुपर्दछ ।

भगवानलाई लिङ्ग चढाईसकेपछि ऊ बाह्य कुनैपनि व्यक्तिसंगको आकर्षणमा रहन पाउँदैन । तसर्थ हिजडा र अन्तरलिंङ्ग फरक कुरा हो, हिजडा शव्दले अन्तरलिङ्गको प्रतिनिधित्व गर्न सक्दैन । यसर्थ जैविक लिंङ्ग भित्र महिला, पुरुष र अन्तरलिंङ्ग गरि तीन प्रकार रहन्छ ।
अन्तरलिंङ्गकै कुरा गर्दा मैले अन्तरलिंङ्गलाई ‘तेश्रो लिंङ्ग’ पनि भनेको सुनेको छु । जब म ‘तेश्रो लिंङ्ग’ भन्ने शब्द सुन्दछु, मेरो मस्तिष्कमा सधैं नैं एउटा प्रश्न आउँदछ । यदि अन्तरलिंङ्ग ‘तेश्रो लिंङ्ग’ हो भने पहिलो अनि दोश्रो लिंङ्ग को त ? हामीले हाम्रा सन्तानलाई दिने शिक्षा नै विभेदकारी छ जसले गर्दा महिलालाई दोश्रो लिंङ्गको रुपमा नक्सांकन गरिएको छ । तसर्थ अन्तरलिंङ्गीलाई अन्तरलिङ्गी नै भनेर उच्चारण गर्नुपर्छ न कि तेश्रो लिङ्ग । नेपालको संविधानमा उल्लेख भए अनुसार हामी यो समुदायलाई ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक’ भनेर पनि सम्बोधन गर्नसक्दछौं ।


जैविक लिंङ्गको पछि अर्को महत्वपूर्ण कुरा भनेको लैङ्गिक पहिचान हो । के हो त लैङ्गिक पहिचान ? लैङ्गिक पहिचान भनेको त्यो पहिचान हो जुन व्यक्तिले आफूलाई सामाजिक रुपमा पहिचान गराउन चाहेको हुन्छ र यो ऊ जन्मदा लिएर आएको लिङ्गसंग सम्बन्धित हुँदैन । कुनै पनि व्यक्ति जन्मिदा कुन यौनाङ्ग लिएर जन्मिएको छ भन्नुभन्दा पनि ऊ ठूलो भएपछि कुन लिंङ्गको पहिचानमा बाँच्न चहान्छ भन्ने कुरासंग लैङ्गिक पहिचान सम्बन्धित हुन्छ । कुनै व्यक्ति महिलाको अंङ्ग लिएर जन्मिएको छ भने ऊ पुरुषको पहिचानमा बाँच्न सक्छ र पुरुषको लिंङ्गमा जन्मिएको छ भने ऊ महिलाको पहिचानमा बाँच्न सक्छ र यहि पहिचानलार्ई नै लैङ्गिक पहिचान भनिन्छ । व्यक्तिको लैङ्गिक पहिचान व्यक्ति हुर्कदै जाँदा निश्चित हुदै जान्छ । शरिर बाह््रय देखिएको यौनाङ्गले उसको पहिचान निर्धारण हुन सक्दैन । बच्चा हुर्कदै जादाँ उसले कुन पहिचान लिने भन्ने उसको रोजाई अनुसार लैङ्गिक पहिचान निर्धारण हुन्छ । र, यस्तो प्रकारको व्यक्ति तपाई हामी जो सुकैको घरमा पनि जन्मिन सक्छ ।


लैङ्गिक पहिचानको चर्चा गर्दै गर्दा यदि कुनै व्यक्ति जन्मिदाँ पाएको अंङ्गकै आधारमा आफ्नो पहिचान बनाउँछ भने त्यसलाई ‘सिस जेण्डर’ भनिन्छ भने फरक पहिचान बनाउने व्यक्तिलाई ‘पारलिंगी अर्थात टान्सजेण्डर’ भनिन्छ । हलदि महिला, पुरुष बनेको छ भने ट्रान्सजेण्डर पुरुष र पुरुष यदि महिला बनेको छ भने ट्रान्सजेण्डर महिला भनिन्छ । नेपालमा ट्रान्सजेण्डर (पारलिंगी)को चर्चा सन्तोष पन्तका छोराले सार्वजनिक रुपमा लिंङ्ग परिवर्तन गरेपछि शुरु भएको थियो । र, सर्वोच्च अदालतले कानूनी रुपमा सन् २००७ मा पारलिंगीहरुको अधिकारलाई सुनिश्चित गर्न आदेश गरेको थियो र यो नै नेपालको पहिलो नजिर हो जहाँ पारलिंगीहरुको अधिकार सुनिश्चित गरिएको थियो ।


लैङ्गिक पहिचानमा बाँचेकाहरुको संख्या खोज्ने क्रममा मैले केही दिन पहिला प्रदेश ५ मा निर्वाचित भएकाहरुको लैङ्गिक पहिचान के रहेछ भनि निर्वाचन आयोगको निर्वाचन परिणाम पुस्तक २०७४ पढेको थिए । तर विडम्बना, प्रदेश ५ को १२ वटा जिल्लामा भएको १०९ वटा स्थानीय निकायबाट निर्वाचित भएका ५१३३ मध्ये एक जना पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक निर्वाचित भएका रहेनछन् । महिला र पुरुष भन्ने लैङ्गिक पहिचान मात्र निर्वाचन आयोगको पुस्तकमा उल्लेख गरिएको भेटियो । यद्यपी उम्मेदवारीको तथ्यांकमा दुईजना यौनिक तथा लैङ्गिक अल्पसंख्यकले उम्मेदवारी दिएको देखिन्छ तर निर्वाचनको परिणाममा उनिहरुको स्थान देखिदैन । जसको आधारमा हामी भन्न सक्छौं, यो पहिचानलाई हामीले अझ पनि सहज रुपमा लिन सकेका रहेनछौं ।


अब चर्चा गरौं, यौनिक अभिमुखिकरण (यौनिकता)को बारेमा । जैविक लिंङ्ग र लैङ्गिक पहिचान भन्दा धेरै बेग्लै यौनिकता हुन्छ । यौनिकता, कुनै एक व्यक्ति अर्को व्यक्तिसंग भावनात्मक एवं यौनिक रुपमा आकर्षित हुनु हो । यौनिकता व्यक्तिको यौनिक झुकाव कोसंग भएको छ भन्ने कुरासंग सम्बन्धित हुन्छ र यो उसको चाहना र रोजाई अनुसार हुन्छ । यो कुरा सम्बन्धित व्यक्तिले मात्र अनुभव गर्न सक्छ । यसलाई समाजले बनाएका नियम र व्यवहारहरु, लैङ्गिक पहिचान वा जैविक लिंङ्गले निर्धारण गर्न सक्दैन । तसर्थ कुनै पनि व्यक्तिको अर्को व्यक्तिप्रति हुने भावनात्मक आकर्षण र यौनिक झुकाव भनेको नै यौनिकता हो ।
यौनिक अभिमुखिकरण (यौनिकता)लाई तीन भागमा छलफल गर्न सकिन्छ । एउटा, HETEROSEXUAL अर्थात विपरित लिंङ्ग प्रति आकर्षित हुनु । आफू भन्दा विपरित लिंङ्ग प्रति आकर्षित हुनुलाई हेट्रोसेक्सुअल भनिन्छ । मानौ, तपाई महिला हुनुहुन्छ र तपाईको यौनिक झुकाव यदि पुरुष तर्फ छ भने तपाई हेट्रोसेक्सुअल अन्तरगत पर्नुहुन्छ ।

दोश्रो, HOMOSEXUAL समलिङ्गि अर्थात समान लिंङ्ग भएकोतर्फ आकर्षित हुनु । आफू जस्तो छ त्यस्तै तर्फ आकर्षित हुनुलाई समलिङ्गि भनिन्छ । समलिङ्गिं दुई प्रकारका छन् ः लेस्वियन र गे । ‘लेस्बियन’ महिला महिला बीचको यौनिक आकर्षण हो भने “गे” पुरुष पुरुष बीचको आकर्षण हो । तेश्रो भनेको BISEXUAL अर्थात दुई लिंङ्गी । दुई लिङ्गी भनेको त्यस्ता व्यक्तिहरु हुन् जो आफ्नो लिंङ्गभन्दा विपरित लिङ्गसंग पनि भावनात्मक रुपमा नजिक हुन सक्छन् र आफूजस्तै समान लिंङ्गसंग पनि नजिक हुन सक्छन् । यदि कुनै पुरुष, अर्को कुनै पुरुषसंग यौनिक रुपमा नजिक हुन सक्छ र महिला तर्फ पनि आकर्षित हुनसक्छ भने यसलाई दुई लिङ्गी अर्थात BISEXUAL भनिन्छ । अब यहाँ अलिकति बुझ्नुपर्ने कुरा के हुन्छ भने, यदि कुनै व्यक्ति जन्मिदा पुरुषको यौनाङ्ग लिएर जन्मिएको छ, पछि गएर ऊ महिलाको पहिचानमा बाँच्न चाहन्छ तर उसको यौनिक आकर्षण पुरुष तर्फ छ भने उसलाई ‘ट्रान्सजेण्डर’ नै भनिन्छ ।


यसरी एउटा व्यक्तिलाई बुझन्को निम्ति तीनवटा आधारहरु बुझ्नुपर्छ । एउटा, व्यक्तिको दुईखुट्टाबीचको अंङ्गको आधारमा । जसलाई जैविक लिङ्ग भनिन्छ । दोश्रो, व्यक्तिको लैङ्गिक पहिचानको आधारमा, जुन व्यक्ति हुर्कदै जादाँ उसले पहिचान बनाउन चाहेको लिंङ्गको आधारमा हुन्छ र अर्को भनेको व्यक्तिको यौनिक आकर्षण को तर्फ भएको छ भन्ने आधारमा । अमेरिकन बायोलोजिष्ट डा. अल्फ्रेड किन्सेको’Modern Theory of Sexuality’ भन्ने पुस्तक अनुसार कुनै पनि समुदायभित्र यस्तो वर्गको जनसख्या ८ देखी १० प्रतिशतसम्म रहन्छ । अब हामी आफै अनुमान गरौं, नेपालको जनसंख्याभित्र यो समुदायको संख्या कति होला ? मात्र फरक यति हो कि हाम्रो सामाजिक संरचना, समाजमा गरिने विभेद र दुव्र्यवहारका कारण यस्ता पहिचान भएका व्यक्तिहरु बाहिर निस्केर आफ्नो पहिचान देखाउन सकिरहेको अवस्था छैन ।
हेर्दा र बुझ्दा मिसम्यास लाग्ने यी कुराहरु भित्र भेटिने लैङ्गिक विभेदहरु बेग्लै छन् । हामी अत्यत्नै हलुका तरिकाले महिला, पुरुष र तेश्रो लिङ्गि. भन्दै यी सबै कुराहरुलाई एउटै घैंटोमा हालेर घोलिदिन्छौं जसले गर्दा एउटा व्यक्ति कसरी बाँच्ने भन्ने उसको निर्णय, चाहना र अधिकारको हनन् भएको हुन्छ र उसको अस्तित्व हराउन पुग्दछ । संविधानले दिएको “समानताको हक” यी वर्गलाई पनि उत्तिकै छ जति सामान्य सर्वसाधारणलाई । तर हामीले प्राप्त गरेका शिक्षा र सामाजिक व्यवहारका कारण यी वर्गको आफ्नो बेग्लै भोगाई र कथाहरु छन् । उनिहरुको कथा र भोगाईहरु म अर्को लेखमा लेख्ने कोशिश गर्नेछु । तर मानव जीवनको यी तीन पक्षलाई बुझ्न नसक्दा धेरै सामाजिक नियमहरु बनेका छन् जसलाई लैगिकता भनिन्छ र यहि लैगिकताले धेरै विभेदहरु निम्त्याएका पनि छन् ।


लैङ्गिकता अर्थात जेण्डर भनेको समाजले बनाएको सामाजिक नियम हो । हामी बस्ने समुदाय, हामी हुर्किने समाजले हामीलाई यो गर्नुहुन्छ र यो गर्नुहुदैन भनेर सिकाएको व्यवहारहरु नै लैङ्गिकता हो । लैङ्गिकता एउटा सामाजिक परिवेश हो जसले हाम्रो हुर्काइ र सामाजिकीकरणमा प्रत्यक्ष प्रभाव पार्दछ । हामी हुर्कदै गर्दा हामीलाई जुन व्यवहारहरु सिकाइएको हुन्छ त्यो नै लैगिकता हो । र मेरी छोरीले सुनेको कुरा पनि लैङ्गिकता अन्र्तगत नै पर्दछ । लैङ्गिकता समय, स्थान, वर्ग, संस्कार र व्यक्ति अनुसार फरक हुन्छ । वर्ग–वर्ग बीचको विभेद, महिला, पुरुष वा अन्तरलिंङ्ग बीचको विभेद, फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरुलाई गरिने विभेद, फरक यौनिक अभिमुखिकरण भएका व्यक्तिहरुलाई गरिने विभेद आदि सबै यहि लैङ्गिकता अन्र्तगत पर्दछ । महिलालाई घरभित्र र पुरुषलाई घरबाहिरको भूमिका यहि लैङ्गिकताले निर्धारण गरिदिएको छ । महिलालाई दोश्रो लिंङ्गको रुपमा हेर्न यहि लैङ्गिकताले सिकाएको छ । तसर्थ आजको आवश्यकता भनेको मानिसलाई मानिसले अपनाएको जीवन रोजाई अनुसार बाँच्न दिनु र उसले चाहेको पहिचानलार्ई स्विकार गर्नु हो न कि लैगिकतालाई प्रोत्साहन गरि सामाजिक विभेदलाई बढवा दिनु । । साथै कुनै व्यक्तिको बारेमा गलत सूचना वा डर प्रभाव गर्नुभन्दा उसको लैगिक पहिचान, उसको यौनिक भावनात्मक इच्छा अनुसार समावेशी व्यवहार गर्नु आवश्यक छ ।

प्रतिक्रिया

प्रतिक्रिया