भावुक योगी
बर्दियामा भारतका विभिन्न स्थानबाट फर्किएका ५१ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको छ । मंगलवार राति र बुधवार विहान भारतका विभिन्न स्थानबाट आएका ५१ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
भारतबाट आउँदै गर्दा नाकामा अलपत्र परेका बर्दियावासीलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो । बर्दियाको मुर्तिया, पश्चिमको गौरीफंटा नाकाबाट नेपाल भित्रिएका बर्दियाबासीलाई सदरमुकाम गुलरिया, ठाकुरबाबा, मधुवन र बारबर्दिया नगरपालिकाको क्वारेन्टाइनमा राखिएको जनाईएको छ ।
बर्दियाको सदमुकाम गुलरियामा २ जनालाई अत्याधिक ज्वरो आएपछि आईसुलेसन वार्डमा राखिएको थियो । ज्वरो घटेपछी उनिहरुलाई क्वारेन्टाइनमा राखिएको प्रजिअ लामिछानेले बताउनुभयो । यस्तै देशका विभिन्न स्थानबाट आएका झण्डै ३५ जनाको ज्वरो मापन गरि घरमा पठाईएको छ ।
उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताउनुभयो । नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेसंगै बर्दियामा बाहिर निस्कन नदिन कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी राजेशनाथ बास्तोलाले बताउनुभयो । धेरै उल्लघंन गरेको पाइएमा थप कडाइ गरिने बताउनुभयो ।
विश्वभर कोरोना भाइरस (कोभिड १९) को त्रास नेपालमा पनि बढेसँगै बर्दियामा अहिले उच्च सर्तकता अपनाइएको छ । बर्दियाका स्थानीयबासीले कोरोना भाइरस विरुद्ध उच्च सर्तकता अपनाएका छन् ।
सरकारले लकडाउन घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर ननिस्कन निषेधआज्ञा जारी गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । निषेधआज्ञा ‘कर्फु जस्तै हो, निषेधआज्ञा प्रभावकारी बन्दै गएको छ ।