घरमैं बस्न अनुरोध गर्दै माक्स र साबुन

नेपाली सीमा पारि भारतसँग खुल्ला सीमाका कारण झनै जोखिममा रहेको नेपालगन्जमा जनप्रतिनिधिहरुले आफ्ना वडामा चेतनाका विभिन्न अभ्यास र प्रयोग गरिरहेका जनाएका छन् । विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट वडाबासीलाई बचाउन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले सञ्चालन गरेको स्वास्थ्य र सरसफाई सचेतनाका क्रममा घरदैलोमै पुगेर साबुन र माक्स वितरण गरेको हो ।
वडा अध्यक्ष दिपक कुमार वर्माका अनुसार, वडाका विभिन्न स्थानमा ट्यांकीसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएपछि अहिले सबैलाई घरमैं बस्न अपील गर्दै माक्स र साबुन वितरण शुरु गरिएको हो । वडा अध्यक्ष वर्माको अगुवाईमा सोमबार कारकादौं चोक,सिक्टा अगाडी र भुजईगाउँस्थित बुद्ध चोकमा कोरोना भाइरसबाट जोगिन सचेतनामुलक ब्यानरसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको थियो ।


वडाबासीको बढि जमघट हुने स्थानमा साबुनपानीको ब्यवस्था गरिएकोमा आजबाट वडा अध्यक्ष वर्माले लकडाउनको पुर्ण पालनामा जोड दिंदै सेल्फ क्वारेन्टाईमा घरभित्रै बस्ने वडाबासीलाई अत्यावश्यक पर्ने माक्स र साबुन वितरण गरिएको बताए । आफ्ना वडाबासीलाई जहाँ छौं, उहीँ बसौं भन्ने आव्हान गरिहेको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । वडाबासीको स्वास्थ्यप्रति जनप्रतिनिधिहरु गम्भीर भएको जानकारी दिंदै उनले वडा कार्यालयबाट कामकाज बन्द भएपनि आफुहरु वडाबासीमाफ स्वास्थ्य र सरसफाईको सन्देशसहित पुगेको बताए ।


पहिलो दिन तेजनगर, उज्जवलनगर, विशालचोक लगायतका ठाउँमा घरदैलो गरिएको वडाध्यक्ष बर्माले जानकारी दिए । खासगरि, वडाभित्रका विपन्न समुदायका लागि सावुन र माक्स वितरणमा जोड दिइएको बर्माको भनाइ छ । वडाध्यक्ष बर्माले वडा कार्यालयले स्वास्थ्य सचेतनाका लागि वडामा माईकिङ गरेको बताए । बाहिरबाट आएकाहरुलाई टोलमा प्रवेशका लागि कडाइ गर्न पनि वडाले जोड दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया