नरैनापुरमा प्रभावकारी लकडाउन

बाँकेको नरैनापुर गाउँपालिकामा लकडाउन प्रभावकारी भएको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले आह्वान गरेको सात दिने ूलकडाउनूको पहिलो दिन मंगलवार नरैनापुरवासीले घरमै बसेर सरकारको आग्रहलाई सफल बनाउन सहयोग गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले माइकिङ गरेर स्थानीयलाई घरमै बस्न आग्रह गरिएको बताउनुभयो । गाउँपालिकाले कोरोनाको लक्षण, पूर्व सावधानी तथा बच्ने उपायका बारेमा पनि स्थानीयलाई जानकारी गराउन माइकिङ गर्दै आएको शाहले बताउनुभयो । यसैवीच कोरोना महामारी नियन्त्रण सम्बन्धमा नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा आज गाउँपालिकामा बसेको आकस्मिक बैठकबाट नेपाल सरकारको निर्णयलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न पालिकाभित्रका सबै ६ वटै सीमा नाकामा पूर्णरुपमा आवतजावतमा रोक लगाउन सुरक्षा निकायलाई अनुरोध गर्ने, नेपाल सरकारको निर्णयको पालना गर्न नरैनापुरबासीलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो । उक्त कार्यमा सहयोग गर्न जनप्रतिनिधि समेत परिचालन गर्ने र स्वास्थ्य सामग्री ब्यबस्थापन तथा स्वास्थ्यकर्मी परिचालन गर्न स्वास्थ्य शाखा प्रमुख मोइन खाँ, अनुगमन तथा जनप्रतिनिधि परिचालन गर्न वडा नम्बर २ का वडाध्यक्ष मसुद अहमद शाह र आर्थिक ब्यबस्थापनको लागि लेखापाल प्रकाश अधिकारीलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया