चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको लकडाउनका लागि नेपालगन्जवासी बिस्तारै अभ्यस्त देखिएका छन् । तीन दिन यताका निकै प्रयासबीचका अटेरी आज आएर कम हुँदै गएको हो ।
बिहानैपनि मर्निगं वाल्क गर्नेहरुको संख्या देखिएको नेपालगन्जमा अटेरीलाई तह लगाउन भन्दै नेपाल प्रहरी र सशस्त्रको तैनाथी बढाइएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए ।
भित्री सडकमा एकाध मानिसहरु मोटरसाइकलमा देखिएपनि सुर्खेतरोडमा एम्बुलेन्स र प्रहरीका गाडीमात्र कुदेका देखिन्छन् । कोराना भाइरसबाट उत्पन्न महामारी भित्रन नदिन चौतर्फी सतर्कता आव्हान गरेको सरकारले मंगलवारबाट नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आदेश गर्दै लकडाउन घोषणा गरेको हो ।
न्यूरोड क्षेत्र ठप्प छ, स्थानीयवासीसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने । रानीतलाउ, मंगल पथ सामान्य छ, स्थानीयवासी साजिदा शाहले भनिन्, सडकमा मानिस देखिए प्रहरीले भगाउने गरेको छ । साविकको डिएसपी रोडमा अलिक चहलपहल देखिएपछि प्रहरीले हप्काएको छ । सडकमै क्रिकेट खेलिरहेका युवाहरुलाई प्रहरीले लखेटेको थियो ।
पत्रकार प्रकृति अधिकारीका अनुसार, सुर्खेतरोडको धम्बोेझी क्षेत्र सुनसान छ । बिहानै देखि धम्बोझी पुष्पलाल चोक क्षेत्रपनि बन्द रहेको होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । सदरलाइन त्रिभुवन चोक क्षेत्रमा एकाध मानिसहरु देखिएपनि अघिल्ला दिनजस्तो भिडभाड नरहेको स्थानीयवासी समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान सदस्य रोहित टन्डनले जानकारी दिए ।
भृकुटीनगर परसपुर रोडमा मानिस अनावश्यक डुलिरहेका देखन्छन् । यद्धपि अघिल्ला दिनको तुलनामा यो संख्या निकै कम हो । स्थानीयवासी, युवा व्यवसायी अवधराज शर्माका अनुसार, लकडाउनको अवज्ञा गर्नेहरुलाई तह लगाउन प्रहरी परिचालन अझै बढाउनुपर्ने देखिन्छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको थियो । औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने यो बेला संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था छ ।
पुरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले नेपालगन्जन्यूज सँग भने, अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोही बमोजिम गरिनेछ । उनका अनुसार, अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने आदेशमा उल्लेख छ । प्रहरी प्रमुख ओलीका अनुसार, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन ।
आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्ने सरकारको आदेश छ ।