नेपालगन्जमा अटेरी गर्नेलाई लखेट्दै प्रहरी, थुन्ने तयारी, सफाइकर्मी फिल्डमा,–प्रहरी-सफाईकर्मी विवाद
कोराना भाइरसबाट उत्पन्न महामारी भित्रन नदिन चौतर्फी सतर्कता आव्हान गरेको सरकारले नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै आजबाट घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । सरकारले मङ्गलबार अहिले बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आदेश गर्दै लकडाउन घोषणा गरेको हो ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको थियो । औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने यो बेला संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा र्पुयाउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था छ ।
पुरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले नेपालगन्जन्यूज सँग भने, अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोही बमोजिम गरिनेछ । उनका अनुसार, अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्ने सरकारको आदेश छ ।
लकडाउनसँगै नेपालगन्जमा बिहान मर्निगं वाल्कमा निस्कनेहरुको संख्या न्यून देखियो । प्रहरीले कतिपयलाई सम्झाइबुझाइ गरेर घर पठाएको थियो भने, अटेरी गर्नेलाई पक्राउ गर्ने भनेपछि फर्किएका थिए । आदेशमा उल्लेख बाहेकलाई कुनै हालतमा हिड्डुल गर्न नदिने जानकारी दिंदै प्रहरी उपरीक्षक ओलीले आम नेपाली जनताको जीवनरक्षाको सवाल भएकाले सरकारले कठोर कदम चालेको बताए ।
आदेशमा स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यकपर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेका बखत तत्काल उपस्थित हुनेगरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने उल्लेख छ ।
नेपालगन्जमा सफाइ कर्मचारी बिहानै काममा छन् । नेपालगन्ज गउमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले मुख्य सडकहरुमा ठेकेदारमार्फत र अन्य सबैतिर १ सय ५० बढी सफाइकर्मीलाई काममा खटाइएको जानकारी दिइन् ।
औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने विषय पनि आदेशमा उल्लेख छ । व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने, आभाव देखाइ मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने आदेशमा भनिएको छ । सरकारले उक्त आदेशको कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय पत्रकार सम्मेलनमा सोमवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका थिए ।
जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने उहाँले जानकारी दिनुुभयो । नोभल कोरोना (कोभिड–१९) रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकार सम्मेलनमार्फत उक्त आदेशसम्बन्धी जानकारी दिइएको थियो ।
निर्णयहरु
१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।
२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।
८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा र्पुयाउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।