बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई लकडाउनका लागि आज सोमबारबाट सडकमा हिड्न रोक लगाइने भएको छ । आइतबार भएको सेमिलकडाउनको अवज्ञा भएपछि सोमबारबाट प्रहरीले कडा कदम चाल्ने भएको हो । त्यसका लागि बाँके प्रहरीले थप सुरक्षा बलका लागि माग पनि गरेको छ ।
‘केन्द्रबाट नै त्यसखालको निर्देशन आएको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भने, ‘नागरिकले सतर्कताका लागि गरिएको आव्हानको कार्यान्वयन नगरेकाले कडाई गर्नुपर्ने बाध्यकारी अवस्था आइरहेको छ ।’
नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले आइतबार नगरबासीलाई सम्बोधन गर्दै १४ दिन (चैत्र २१ सम्म) सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । व्यवसायिक संघ, संस्थाले पनि पसल, व्यवसाय बन्द गरी सेल्फ क्वारेन्टाइनको आव्हान गरेको छ ।
आज सोमबारबाट पसल, व्यवसाय, उद्योग, कलकारखा, व्यवसायिक कारोबार बन्दको आव्हान गरिएको छ ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको आव्हानमा पछि आइतबार दिनभर जनता कफ्र्यु रह्यो । उक्त कफ्र्यु प्रभावकारी रहेको भारतीय पत्रकार सन्तोष शुक्लले रुपैडिहाबाट जानकारी दिए । उनले आइतबार साँझ जनता कफ्र्यु सफल भएकोमा थाली र ताली बजाएर स्वागत गरिएको थियो ।