पार्टी अफिसमा क्वारेन्टाइन ?

नेकपा बाँकेको पार्टी कार्यालय । (फाइल फोटो)

नेकपा बाँकेले कोरोना भाइरस संक्रमण बिरुद्धको पूर्वतयारीका लागि आवश्यक परे आफ्ना पार्टी कार्यालय क्वारेन्टाइनका रुपमा राख्न दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष आइपी खरेलको अध्यक्षतामा आइतवार बसेको कार्यालयको बैठकले क्वारेन्टाइनका लागि नेपालगन्ज र कोहलपुरमा रहेका पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरेको हो ।
‘नेकपा बाँकेले संक्रमण बिरुद्धको अभियानमा साथ दिन पार्टी कार्यालयलाई क्वारेन्टाइन बनाउन दिन भनेको हो,’ पार्टी अध्यक्ष आइपी खरेलले नेपालगन्ज न्युजसँग भने, ‘सबै पूर्वाधारलाई उपयोग गर्न सकेमा ३ हजार मानिसलाई आश्रय दिन सकिन्छ ।’ बैठकले अहिलेको अवस्थामा स्वयंसेवक आवश्यक परे अनेरास्ववियु र युवा संघलाई खटाउने निर्णय समेत गरेको उनले बताए ।
बैठकले चैत्र २१ गतेसम्म पार्टी एवं जनसंगठनका बैठक, भेला पूर्णरुपमा स्थगित गर्ने, जिल्लामा आवश्यक पर्ने सामाग्रीको आर्थिक व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसंग माग गर्ने, सरकारी निर्देशन पूर्णरुपमा पालना गराउन पहल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रमोद धितालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया