अपहरणपछि हत्याको अनुमान
बाँकेको राप्तीसोनारी गाउँपालिका–३ ललहीमा एक बालक मृत भेटिएका छन् । गत चैत्र ५ गते विद्यालयबाट परीक्षा दिएपछि घर नफर्केका बर्ष ८ का अरविन्द चौधरी आज शुक्रबार विहान मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय धामपुरले तीन दिनदेखि गायब रहेको बालक मृत फेला परेको बताएको छ । घटना मुचुल्का गरी पोष्टमार्टमका लागि नेपालगन्ज ल्याउन इलाका प्रहरी कार्यालय कोहलपुरको टोली खटिएको छ ।
स्थानीय बासीले बच्चाको हत्या भएको आशंका गरेका छन् । उनीहरुले बच्चाको शरीरका विभिन्न भागमा चोट देखिएको बताएका छन् । बच्चा हराएपछि नै अभिभावकले बच्चालाई कसैले गायब बनाएको आशंका गर्दै धामपुर प्रहरीमा त्यसबारे जानकारी गराएका थिए ।
अरविन्दका बुवा रामकुमार सुर्खेतमा ठेक्कापट्टाको काम गर्छन् । उनीसँग कसैको लेनदेन विवादको मुद्दाका कारण प्रहरीसम्म विवाद पुगेकाले त्यही विवादसँग पनि यो घटना जोडिएको आशंका पीडित परिवारको छ ।
स्कुलबाट नफर्किएपछि सबैले अपहरणको आशंका गरेका थिए, आफन्त एक जना आफन्तले नेपालगन्जन्यूज सँग भने, ‘सबैतिर खोजी गरियो फेला नपरेर चिन्तित रहँदा आज यस्तो फेला परयो ।’