दुई अढाई महिनादेखि संसार नोबेल कोरोना (कोभिड–१९) को भाइरसबाट आक्रान्त छ । ३१ दिसम्बर २०१९ मा चीनको बुहानबाट देखा परेको नोबेल कारोना (कोभिड–१९) भाइरसले अब संसारका १७५ देशमा असर गरेको छ । धेरै देशहरुमा नश्वर जीवनहरु बाँच्ने आशामा बसेका जिन्दगीहरु धमाधम विलिन भै रहेका छन् । नेपालमा पनि यसको त्रास कम छैन, यसलाई नेपालमा फैलिन नदिन के गर्न सकिन्छ भनेर धेरैले धेरै विधि सुझाएका छन् भने सरकारले मुखैमा आएको र पूर्ण तयारी गरेको माध्यामिक शिक्षा परीक्षा स्थगित गरेर सर्तक रहेको जनाउ दिएको छ । समाजिक सञ्जालमा त सल्लाहकारहरु, सुझावकर्ताहरुको ओइरो छ । मान्छेहरु कस्को कुरा साँचो हो र त्यो विधि अपनाउँदा बाँचिन्छ भनेर बाँच्ने उपायको खोजिमा दौडिरहेको देख्न सकिन्छ । यसमा पछिल्लो पटक मास्क लगाएपछि सुरक्षित रहिन्छ भन्ने स्वास्थ्य क्षेत्रको सुझावलाई धेरैले अनुसरण मात्रै गरेनन् यसका लागि मास्कको व्यापारमा समेत इजाफा भयो ।
मास्क बजारबाट गायब भयो । सिँङ्गो प्रहरी र प्रशासन मास्क लुकाउनेहरुको पछि लाग्यो । शायद लाखौंमा यसको बरामदी पनि गरेको भन्ने समाचारमा आएको छ । अब हिजोको रु. ३ को मास्क बेच्ने व्यापारी आज तस्कर भन्ने भएको छ । जताततै कोरोना सँगै मास्क लाउने, मास्क बनाउने, मास्क बाँड्ने, मास्क लुकाउने, मास्कबाट यति आर्जन गर्ने उति आर्जन गर्ने र मास्कका माफिया र तस्करहरु भन्ने चर्चाले चिया गफ देखि बजार र मिडियासम्म सजिएका छन् ।
पछिल्लो समय १२ मार्च २०२० का दिन संसारको शक्तिशाली राष्ट्रका शक्तिशाली राष्ट्रपतिले आफ्नो कार्यालयमा आयरल्याण्डका प्रधानमन्त्रीसँग भेट गर्दा हात मिलाएनन् न उनले गला नै मिलाए । बरु उनले भारत, जापानको अभिवादनको प्रशंसा गर्दै नमस्कार गरेको भिडियोले आज संसारभर चर्चा पाएको छ । यो भिडियोलाई लाखौंले हेरिसकेका छन् भने हजारौंले शेयर गरेका छन् । यो भिडियो चर्चाले वर्तमान परिवेशमा संसारले आफ्नो अभिवादनको विधि सच्चाउन लागेको छ भन्ने बुझ्न गाहे छैन । यो भन्दा पहिला इजराइलका प्रधानमन्त्री बेञ्जामीन नेतनन्याहुले नमस्कारको मुक्तकण्ठले प्रशंसा गर्दै यो अभिवादनको विधि नै मानवस्वास्थ्यको लागि र वर्तमानमा देखिएको कोरोना भाइरसको फैलावट न्यूनिकरणका लागि उपयुक्त रहेको बताए । आज यो चर्चा त्यहिँसम्म मात्रै सीमित रहेन यो त इजराइल देखि जर्मनी र महाशक्ति अमेरिकाका राष्ट्रप्रमुखहरुले उनीहरुको परम्परागत हात मिलाउने र गला मिल्ने चुम्बन गर्ने चलनमा परिवर्तनको खाँचो महसुस गरेका छन् र भन्दैछन् नमस्कार, नमस्ते गर्नु नै उत्तम रहेछ भन्दै यसमा अभ्यास पनि गर्दैछन् ।
आफ्ना जनतालाई मात्रै होइन संसारको सबैभन्दा शक्तिशाली केन्द्रमा बसेर संसारका मिडियाका सामु संसारलाई भन्दै छन् कि नमस्कार गर । तर आज नेपाल जस्तो देश जसको आफ्नो अभिवादनको मौलिक पद्धति नै नमस्कार छ । जुन कुरा आफ्नो ऐतिहासिक र साँस्कृतिक पनि हो । जुन कुरामा संसारले अनुसरण गर्दा यो देशको शिर उँचो हुनु पर्ने हो, यसमा यहाँको सरकारले र यसका कार्यकर्ताहरुले न गर्व गर्न चाहन्छन् न यसलाई सबैले प्रयोग गरौं भनेर सार्वजनिक आव्हान गरेका छन् । बरु हात नमिलाऔं, गला नमिलाऔं भन्छन् तर अभिवादन गर्न के गर्ने भनेर भन्न सक्दैनन् । यो जस्तो लाजमर्दो कुरा के हुन सक्छ र ?
नमस्कार सय दुई सय बर्ष पहिला कुनै गोरो छालाको दार्शनिकले एकाएक ल्याएको होइन । यसको इतिहास मानवजातिको इतिहास सँगै छ भन्दा पनि अतिशोक्ति हुँदैन । वैदिक सनातन पद्धति पूर्णरुपमा एउटा सरल र सहज जीवन पद्धति हो । यसको मूल शास्त्र वेदले कुनै पनि मानवको दर्जा निर्धारण गर्दैन । यसले मानव मात्रको कल्याणको कुरा गर्दा यहाँ कसैको जात छुट्याउँदैन, कसैको रंङ र लिङ्गमा विभेद गर्न सिकाउँदैन । मानवको जीवन प्राकृतिक रुपमा चलिरहन र यसै प्रकृतिमैत्री भएर जीवन यापन गर्न शिक्षा प्रदान गर्दछ । मानवले मानवको आफुआफुमा सम्मान र आदर गर्न यसैको शुत्रबाट जन्मेको हो यो नमस्कार । एक अर्कालाई अभिवादन गर्नको लागि आफ्नो व्यक्तिगत परिचय दिनका लागि प्रयोग गरिने विधिको रुपमा नमस्कारको शुरुआत गरिएको हो ।
हाम्रो पद्धति हाम्रो सँस्कार हाम्रा पूर्वजहरुले सिकाएको जीवन पद्धतिको अंङ्ग हो यो नमस्कार पनि । यसको चर्चा हाम्रा वेदहरुमा प्रश्स्त पाइन्छ । नमः +ते मिलेर नमस्ते भएको हो । हाम्रा वेदमा प्रयोग भएका केहि नमस्ते सम्बन्धी सूक्तहरुलाई यहाँ सन्दर्भका रुपमा लिन सकिन्छ । अथर्व वेद २÷२÷१ मा भनिएको छ ‘दिव्यो गन्धर्वो भुवनश्य यस्पतिरेक एव नमस्यो वीक्षवीड्यः । तं त्वा यौमि ब्रम्ह्णा दिव्य देव नमस्ते अस्तु दिवि ते सधस्थम् ।। ’ अर्थात दिव्य गन्र्धवका रुपमा पृथ्वी आदि लोकहरुलाई धारण गर्नेस्वामी जो हुन, यस संसारमा एकमात्र उनी नै नमस्कार गर्न योग्य छन् । हे परामात्मा ! तिम्रो निवास द्युलोकमा छ । तिमीलाई हामी नमस्कार गर्दछौं र उपासना द्धारा तिमीलाई भेट्दछौं । अथर्व वेदको श्लोक २/३५/४ मा ऋषिहरुको तेजस्वीपनको कुरा गर्दै भनिएको छ, ‘घोरा ऋषयो नमो अस्त्वेभ्यव्श्रक्षुर्यदेषां मनसव्श्र सत्यम् । बृहस्पतये महिष द्यु्रमन्नमो विश्वकर्मन नमस्ते पाह१स्मान् ।। अथर्ववेद कै श्लोक १÷१०÷२ मा वरुणदेवताको ज्ञानको सम्पन्नतालाई सम्मान गर्दै भनिएको छ, नमस्ते रांजन् वरुणास्तु मन्यवे विव्श्रं ह्युग्र निचिकेषि द्रुग्धम् । यस्तै श्लोक १/१३/१, १/१३/२, १/१३/ ३, १/१३/४ श्लोकमा समेत ‘नमस्ते भगवन्नस्तु, नमस्ते प्रवतो, नमस्ते हेतये , नमो अस्तु देवि‘ शब्दको प्रयोग गरिएको छ ।
यसैगरि यर्जुवेदको श्लोक १६/३० मा ‘नमो ह्रस्वाय च वामनाय च नमो बृहते च वर्षीयसे च नमो बृद्धाय च सवृधे च नमोग््याय च प्रथमाय च । उल्लेख भएको छ । यसैको श्लोक १६/३२ मा प्रकृतिमा रहेका आफुभन्दा जेष्ठ र कान्छा अनि पूर्वजहरु, वनस्पति, पशुचर, रुद्रदेवका रुपहरुलाई समेत नमस्कार गर्ने उल्लेख गर्दै भनिएको छ, ‘नमो जेष्ठाय च कनिष्ठाय च नमः पूर्वजाय चापरजाय च नमो मध्यमाय चापगल्भाय च नमो जघन्याय च बुध्न्याय च ।’ यसैगरि ऋगवेदको श्लोक १/२७/१३ मा नमो महदभयो नमो अर्भकेभ्यो नम आशिनेभ्य ः ।। भनिएको छ । हाम्रा शास्त्रहरु रामायण, महाभारतका पनि पाना पानामा र श्लोक श्लोकहरुमा नमस्कार नमस्ते प्रयोग भएको पाइन्छ ।
यसरी नमस्कार नमो नमभ्य नमस्ते आदी कुराको महता नितान्त कुनै लहडमा या कुनै कोरोना जस्ता रोगव्याधिको सन्त्रासबाट मात्रै हामीले प्रयोग गर्न लागेको होइन । हाम्रा मठ मन्दिर, पाटी पौवा, खेत खलियानका मेलापात देखि ताम्रपत्रहरुमा समेत प्रयोग भएको अभिवादन, सम्बोधन र आदरको शब्द हो यो । यति मात्रै पनि होइन योगविद्यामा नमस्कार गर्दा दुबै हातका दशऔंलाका चक्रहरुको एकआपसमा मिलन हुँदा र दाँया र बाँया हातको दुई बिपरित शक्तिको संरक्षण तथा प्रवाहलाई अन्तरनीहित गर्ने काम पनि नमस्कारका कारण नै सम्भव हुन्छ । यसैले सूर्य नमस्कार गर्ने, ध्यानमा नमस्कार गरेर उर्जा सञ्चित गर्ने पनि गरिन्छ । जसका कारण शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन जाने कुरा योगविद्याका गुरुहरुको भनाई रहेको छ । यो शब्दको प्रयोग कुनै पनि अमूक सिद्धान्तको आशक्तिबाट हुनु पर्ने वा यसलाई उच्चाहरण गर्न हिच्किचाउनु पर्ने छैन । तर आज हाम्रो सरकार र यसका तालुकदारहरुले कोरोनाको कहर आउ्ँदा मुक्तकण्ठले हाम्रो सँस्कृतिकै रुपमा विद्यमान अभिवादनको आधारलाई प्रयोग गर्न आव्हान गर्न नसक्नुको कारण सबैले सोध्नु पर्दछ ।
हाम्रा पूर्वजहरुले हामीलाई मन्त्रजप गर्न सिकाए यसलाई यी कथित सिद्धान्तका प्रचारकहरुले पाखण्ड र ढोङ्ग भने, घर बाहिर गएर आएपछि हातगोडा धोएर मात्र भित्र पस्न सिकाए यसलाई हामीले वाइयात भन्दै भान्सामा जुत्ता लगाएर जान थाल्यौं, बाहिरबाट आउना साथ डार्लिङ भन्दै हत्त न पत्त अँगालो हाल्ने परिपाटीको पृष्ठपोषण गर्यौं यसले बाहिरका सबै बिकारहरु बिस्तरा देखि भान्सासम्म पुगे । हाम्रा पूर्वजले बाहिरबाट आएपछि आगो छोएर मात्रै साना बच्चालाई छुने नियम बसाले किन कि बाहिर हामी अनेक व्यक्ति र वस्तुहरुको संसर्गमा रहेको हुन्छौं त्यसबाट अनेक किसिमका कटिाणुहरु सँगै आएका हुनसक्छन् जसले कमजोर रोगप्रतिरोधात्मक क्षमता भएका बच्चाहरु बिमार पार्न सक्छन् यसलाई पनि हामीले भूत भगाउन आगो छोएको भनेर भूतसूत केहि छैन यो गलत चलन हो भन्यौं तर आज कोरोना जस्ता महामारी ती भूतभन्दा महाभूतको रुपमा आएपछि यी र यस्ताकुराहरुको महत्व नमस्कारको महत्व जस्तै लाग्नु अनौठो नहोला । हाम्रा पूर्वजहरुले खाना खानुपूर्व सफा सुग्गर कपडा जसलाई चोखो लुगा भन्थ्यिो ( धोती आदी ) फेरेर मुख हातगोडा धोएर खाना खान बस्ने र खाना खाँदा केहि थोरै खाना थाल बाहिर औंसनी हाल्दै चढाउने प्रचलन चलाएका थिए । यसको परम्परागत मान्यता देउतालाई चढाएको भनिन्थ्यो तर आधुनिकतामा हेर्दा खाना खाँदा अन्य किटपतङ्ग सोझै खानामा प्रवेश नगरुन र सफा भएर खाना खाँन बस्दा अन्य भाइरसहरुले संक्रमित नहोस किन भन्न नसक्ने तर यो पनि आज पाखण्डीहरु र ब्रह्माणवादको पगरी भिराएर नष्ट गरियो ।
हुलमुलमा जीउ जोगानु, अनिकालमा बीऊ जोगाउनु’ हाम्रा पूर्खाले भने किनकि यस्तै रोगव्याधी, आतंक, हुलदंगाका बेला नजिक नजाने सल्लाह कुनैपनि कारणबाट पाखण्ड थिएन त्यो त आज विश्वव्यापीरुपमा फैलिएको आतंक र कोरोना जस्ता रोगका कारण भीड नगर्नू भनेर उर्दी जारी गर्दै गर्दा यसको महत्व अझ बढेको छैन र ? यसलाई मान्दा हाम्रो के अस्तित्व सकिने हो र ? अहिले हाम्रा मौलिक बीऊ बीजनहरु लोप भएर गए । बढि उत्पादनका नाममा हाइब्रीड जस्ता पुर्नउत्पादन गर्न नमिल्ने बीउको प्रयोगको प्रचलन बढ्यो । आजका मितिमा विदेशीले एकबर्ष मात्रै बीउमा नाकाबन्दी लगाएमा हामी हाम्रा खेत खलियानमा कुनै खेतीपाती देख्न पाउने छैनौं । के यसलाई हामीले परम्परागत भनेर हेप्ने कार्य गर्न कत्तिको सुहाउँदो हुने हो बेलैमा सोंच्न जरुरी छ कि छैन ? हाम्रा पूर्वजहरुले सकेसम्म सूर्यास्त पूर्व नै खाना खान र बासी खाना नखान भने, खाना तातो खान भने, खाना सादा खान भने, विचार उच्च राख भने तर यसमा पनि हामी कहिँकतै खरो उत्रन सकेनौं । रेस्टुरेन्ट सँस्कृतिमा रमाउँदै जाँदा खानुनखानु या हाइजेनिक फूडको नाममा या फेरि अरुलाई देखाउनका लागि या फेशनको रुपमा यस्तो सँस्कृतिलाई सभ्य समाजको आदतमा गन्ती गर्यौं तर कोरोना जस्ता महामारीले यो सँस्कृतिलाई मान्यता दिन खोजेन ।
हाम्रा मौलिक जात जातिहरुको मौलिक भाषामा गरिने अभिवादनहरु नमो, नमस्कार, नमस्ते,सेवारो जोजोलप्पा, जदौ, म्हंफुला, रामराम, भनेर अभिवादन गर्दा कुनैले पनि कसैको शरीरमा स्पर्स गर्नु पर्दैन न कुनै अङ्कमाल गर्नुपर्छ यसबाट कुनै शारारिक स्पर्शबाट सर्ने रोगको भाइरस सर्ने सम्भावना हुँदैन । तर आज यी कुराहरुलाई हामीले अमूक कुनै आदर्शको व्याख्याकार र सभ्यताको प्रतिकको या कुनै अमूक देशको आशक्तिमा पर्दशन गर्ने होडबाजीमा लाग्यौ । अङ्ग निबस्त्र नराख्नू, चिसोबाट बच्नु, शरिर तातो राख्नु भन्ने कुरालाई निबस्त्र र कृत्रिम श्रंगारबाट रुप बनाएर तमासा गर्दै गर्दा अनेक चर्मरोग, शारारीक व्यथाहरुलाई निम्ताएर खुशी भएका छौं र कमाएको ठूलो हिस्सा त्यसैमा या औषधीमा खर्च गरेर गर्व गरेका छौं ।
विगतको झण्डै पच्चीस बर्ष देखि नेपालमा नेपाली मौलिकता, नेपाली धर्म सँस्कृति, नेपाली भाषा, नेपाली सभ्यतालाई कुनै न कुनै पाखण्डको, बिकासको विरोधी भनेर या समाजको पछौटेपनको कारण भनेर व्याख्या गर्ने कथित बुद्धिजिवीहरु, राजनीतिककर्मीहरु, कथित अधिकारकर्मीहरुको खतीउपती मौलाएको छ । हाम्रो आफ्नोपनलाई गाली गरेपछि क्रान्तिकारी, परिवर्तनकारी, पढेलेखेको हुने होडबाजीमा आफ्नो साश्वत सत्य कुराहरुलाई र हजारौं बर्ष हाम्रा पूर्वजहरुले अनुसन्धान गरेर प्रयोगमा ल्याएका कुराहरुलाई अस्वीकार गर्नुले गर्दा कतै न कतै यी र यस्तै कोरोना जस्ता विश्व विनाशक कुराहरु बेलाबेलामा आउने कुरा अब नौलो रहेन । त्यसैले पनि वर्तमानमा टड्कारो रुपमा संसारले आवश्यक मात्र होइन अङ्किकार नै गरेको अभिवादनको बिधि नमस्कार लाई नेपालीहरुले सगर्व स्वीकार मात्रै होइन अरुलाई पनि गर्न लगाउनु पर्छ । यसैमा समस्त विश्वको कल्याण छ । यसकारण पनि नमस्कार, नमस्कार फेरि पनि नमस्कार भन्ने मेरो अनुरोध हो ।