बाँकेको राप्तीसोनारी गाउँपालिकाले नदीजन्य पदार्थको निकासी आफैले गर्ने भएको छ । यसअघि ठेक्का प्रक्रियाबाट नदीजन्य पदार्थको निकासी हुँदै आएपनि अब गाउँपालिका आफैले नदीजन्य पदार्थको निकासीको तयारी अघि बढाएको हो । चालु आ.व.को आठ महिना बितिसक्दा पनि बाँकेको सबैभन्दा ठूलो नदीजन्य पदार्थको स्रोत राप्तीनदीबाट ढुंगा, गिट्टी, बालुवाको निकासी सुरु हुन सकेको छैन । त्यसले गर्दा बाँकेमा भैरहेका विकास निर्माणका कार्य नराम्ररी प्रभावित बनेका छन् ।
राप्तीसोनारी गाउँपालिकाले तीन पटक नदीजन्य पदार्थका लागि ठेक्का आव्हान गरिसकेको छ । राप्तीसोनारीले चालु आ.व.का लागि पहिलो पटक २०७६ भदौ १० गते नदीजन्य पदार्थको टेण्डर आव्हान गरेको थियो । तर, टेण्डर हाल्ने दुवै व्यवसायीको रकम समान भएपछि टेण्डर रद्द गरेको थियो । दोस्रो पटक कार्तिक ९ गते नदीजन्य पदार्थको ठेक्का आव्हान गरेको गाउँपालिकाले तीन वटा टेण्डर परेकोमा पुस ६ गते पालिकाको निर्णय र कानुनी सल्लाहकारको राय भन्दै रद्द गरेको थियो । राप्तीसोनारीले तेस्रो पटक पुस २१ गते ७ दिनको म्याद राखेर टेण्डर आव्हान गर्यो । तेस्रो पटक आव्हान गर्दा कसैले टेण्डर नभरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।
पटकपटक सूचना निकाल्दा पनि टेण्डर खुल्न सकेको छैन । परेको टेण्डरलाई गाउँपालिकाले पालिकाको हित विपरित रहेको कानुनी सल्लाहकारको राय भन्दै रद्द गर्दै आएको थियो ।
गाउँपालिकाले पटकपटक परेका टेण्डरलाई रद्द गर्दै आफैले निकासी गर्ने तयारी गरेपछि राष्ट्रि युवा संघ नेपाल बाँकेले त्यसको विरोध गरेको छ । युवा संघले राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने नदि नालाहरुको नेपाल सरकारको कानुन अनुसार ठेक्का दिन आव्हान गर्दै त्यसो नगरे गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।
गाउँपालिकाले फागुन १७ गते आफैले निकासी कार्य गर्नका लागि आवश्यक जनशक्तिका लागि सूचना समेत जारी गरिसकेको छ । गाउँपालिकाको कार्य गैरकानुनी भएको ठहर गर्दै युवा संघले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापन पत्र बुझाएको छ ।
युवा संघले राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधिको मिलेमतोमा कानुनभन्दा बाहिर गई आर्थिक लाभको मनसायले आफैले निकासी गर्न लागेको आरोप लगाएको छ ।
सघंका जिल्ला संयोजक कुस्माखर बस्याल र सह संयोजक आकाश कार्कीको हस्ताक्षर भएको ज्ञापन पत्रमा यस्तो किसिमको निर्णयले गर्दा राप्तीसोनारी गाउँपालिकाको विकास बजेटमा मात्र मात्र नभइ सिंगो बाँके जिल्लाको विकास बजेटमा असर गर्ने हुनाले नेपाल सरकारको मापदण्ड अनुरुप गतिविधि गर्न अनुरोध गरिएको छ ।
ज्ञापन पत्रमा मनोगत ढंगले यस पालिकाले गरेको निर्णय प्रति राष्ट्रिय युवासंघ नेपाल बाँके घोर भत्सर्ना गरेको जनाइएको छ । पार्टीगत वा व्यक्तिगत ढंगले नियुक्ति पत्र दिई नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरेको पाइएमा पालिकामा तालाबन्दी गर्ने समेत युवा संघले चेतावनी दिएको छ ।
ज्ञापन पत्र बुझाउन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य किशोर थापा, राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक र सह संयोजक क्रमश कुस्माखर बस्याल र आकाश कार्की लगायतको टोली जिल्ला प्रशासन कार्यालय बाँके पुगेको थियो ।
गत बर्ष वातावरणीय प्रभाव मूल्यांकनका कारणले फागुनबाट मात्रै नदीजन्य पदार्थको ठेक्का सम्झौता भई निकासा सुरु भएको थियो । यसबर्ष अझै निकासी सुरु भएको छैन । राप्तीसोनारी गाउँपालिकाले यस बर्ष चार वटा खोलाको नदीजन्य पदार्थका लागि टेण्डर आव्हान गरेको हो । गाउँपालिकाले ८८ लाख ३८ हजार ७०१ घनफिट नदीजन्य पदार्थका लागि ५ करोड ७४ लाख ५१ हजार बराबरको टेण्डर आव्हान गरेको थियो ।
गाउँपालिकाले राप्तीनदीबाट २३ लाख ७३ हजार ८ सय १४ घटफिट, मुगुवा खोलाबाट २३ लाख ४१ हजार १ सय ८० घटफिट, झिझरी खोलाबाट १८ लाख ८ हजार ४ सय ५६ घनफिट, खैरी खोलाबाट २३ लाख १५ हजार २ सय ५० घटफिट ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन र बिक्री वितरणका लागि टेण्डर आव्हान गरेपछि टेण्डर भने खोलिएन । नदीजन्य पदार्थको ठेक्काको प्रक्रिया नटुङ्गिदा अवैध उत्खनन र चोरी निकासी मौलाएको कसैबाट छिपेको छैन । निर्माण सामाग्री अभाव हुँदा चोरी, निकासी गर्ने र स्टक गर्नेहरुले मूल्य बढाएर बिक्री गर्दा त्यसको मार भने निर्माण व्यवसायीले थेग्नु परेको छ । नदीजन्य पदार्थको ठेक्का नहुँदा चोरी, निकासी मौलाउने गरेको छ । विगतमा पटकपटक नदीजन्य पदार्थ चोरी गरेर ल्याएको प्रहरीले फेला पारेको छ ।