लोकराज पनेरु
नायब प्रमुख कार्यकारी अधिकृत
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक
नेपाल राष्ट्र बैंकको नीति पनि क्लियर छ । प्रोडक्टिभ क्षेत्रमा लगानी गर्नुपर्छ
१६ बर्ष देखि बैंकिङ्ग क्षेत्रमा क्रियाशील लोकराज पनेरु साइन रेसुङ्गा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । पछिल्ला साढे दुई बर्षदेखि साइन रेसुङ्गामा जिम्मेवारी सम्हालिरहेका पनेरुले नेपाल बैंक लिमिटेडबाट २०६१ सालमा डेपुटी म्यानेजर हुँदै सातौं तहबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । ‘नेपाल बैंकमा पाँच बर्ष काम गरिसकेपछि प्राइभेट सेक्टरको बैंकमा जानु पर्छ भनेर ग्लोबल बैंकमा दुई बर्षसम्म काम गरें,’ सरकारी लगानीको बैंकमा आकर्षक पद छाडेर आउनुको कारण बताएका पनेरुले एनएमबी बैंकमा साढे ६ बर्ष काम गरेपछि साइन रेसुङ्गामा प्रवेश गरेका हुन् । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत पनेरु बैंकको नेपालगन्जस्थित कार्यालयको अनुगमन, निरीक्षण र बजार प्रवद्र्धनका लागि आएको समय पारेर दैनिक नेपालगन्जसँग भलाकुसारी गरे । विषयगत अवस्था र समसामयिक सवालमा पनेरुसँग साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि.का डेपुटी जेनेरल म्यानेजर लोकराज पनेरुसँग गरिएको सम्यक संवाद ।
यतिबेला बैंकिङ्ग क्षेत्रको अवस्था कस्तो छ ?
बैंक तथा वित्तीय संस्थाहरुको संख्या अहिले घट्दो क्रममा रहेका छ । नेपाल राष्ट्र बैंकले लिएको नीति सबल बैंक बनाउनु पर्छ भन्ने नीति लिएपछि संख्या घट्ने क्रम र पहुँच बढ्ने क्रममा रहेको छ । अहिले देशका ७ सय ५३ स्थानीय तह मध्ये ७ सय ४५ मा बैंक तथा वित्तीय संस्था पुगिसेकेका छन् । बाँकी ८ वटा स्थानीय तहमा पूर्वाधाहरु नभएका कारणले बैंक पुग्न सकिरहेका छैनन् । बैंकको चाहना भएर पनि त्यहाँ पुग्न नसकेका हुन् ।
बैंक तथा वित्तीय संस्था अहिले पारदर्शीमा काम गर्दै गएका छन् । आन्तरिक कन्ट्रोल गर्दै गएको र राष्ट्र बैंकका नीति, निर्देशनहरुलाई फलोअप गर्दै गएको पाइन्छ । बैंक तथा वित्तीय संस्था आफैमा पनि चनाखो भएकाले फरमल इकोनोमीको मेजर पार्ट जहिलेपनि हो । अहिले त्यो इकोनोमीलाई बढावा दिने काममा बैंक तथा बित्तीय संस्थाहरुले राम्रो रोल प्ले गरिरहेको फिल गरेका छौं । अर्को बैंक तथा बित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा अलि बढी लगानी गरेर, कृषि क्षेत्रमा लगानी गरेर इकोनोमिक डेभलपमेन्टमा राम्रै रोल प्ले गरेको छ । यसमा नेपाल राष्ट्र बैंकको नीति पनि क्लियर छ । प्रोडक्टिभ क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने नीति छ । एकातिर बैंकिङ्ग पहुँच बढेको छ भने अर्कोतिर लगानी गर्ने क्षेत्र पनि नेपाल राष्ट्र बैंकले डाइरेक्टेड गरिदिएको हुनाले त्यो पाटोमा पनि बैंक तथा वित्तीय क्षेत्रले राम्रै गरेको छ भन्ने हामीले फिल गरेका छौं ।
अहिलेका चुनौती के देखिन्छन् ?
चुनौति नभएको होइन । बिस्तारै बैंक डिजिटलाइजेसन तिर गयो । ट्रेडिसनल तरिकाले काम गरिरहेको अवस्थामा डिजिटलमा प्रवेश गरेका छौं । भोलिका दिन क्यासलेसको अवस्था पनि आउला । आज कारोबार गर्दा चेक बिना पनि कारोबार गर्ने अवस्था आइसकेको छ । यसले बैंक तथा वित्तीय संस्थालाई विषयन्त बनाउँछ । सँगसँगै टेक्नोलोजी रिलेटेड च्यालेन्ज पनि आउँछ । समग्रमा भन्नुभर्दा बैंक तथा बित्तीय संस्थाहरुले दिने सर्भिस, इकोनोमीलाई कन्ट्रिब्यूट गरेको राम्रै रहेको छ ।
बैंक नाफामूखिमात्रै भए भन्ने गुनासो र आलोचनालाई कसरी सम्बोधन गर्ने ?
बैंक तथा बित्तीय संस्था रिसोर्स मोबिलाइज गर्ने च्यानलका रुपमा काम गर्छन् । हामी मिडियटरको रुपमा काम गर्छौ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अर्धबार्षिक समिक्षामा करिब ७ प्रतिशत इन्फिलियसन छ । यसको अर्थ भनेको बैंक तथा बित्तीय संस्थाहरुले दिने जनरल पब्लिकलाई दिने रेट त्यही हो । त्यसो गर्दा बैंक तथा बित्तीय संस्थाले इन्फिलियसन बराबरको रेट बराबरको ब्याज त जनरल पब्लिकलाई दिनुपर्यो । होइन भने बैंकमा डिपोजिट गर्ने कल्चर नै हराएर जान्छ । बैंकमा क्यापिटलको पार्ट थोरै हुन्छ, ८५ प्रतिशत त पब्लिकबाट लिएर रिसोर्स चलाउने हो । त्यो रिसोर्सको कष्ट छ । त्यसपछि बैंकको अपरेटिङ कष्ट हुन्छ । यी सबै कष्टहरुलाई मिलाएर बैंक तथा वित्तीय संस्थाले एउटा बेस रेट निकाल्छ । त्यसमा सर्टेन प्रिमियम जोडेर बैंकले इन्टे«स्ट चार्ज गर्ने हो ।
बैंक तथा बित्तीय संस्था एउटा दायर भित्र बसेर काम गर्छन् । नेपाल राष्ट्र बैंकले तोकेको नै छ । हामीले कष्ट अफ फण्ड र दिने लोनको ब्याज बीच ५ प्रतिशत भन्दा बढी फरक पर्ने गरी लिन नै पाइँदैन । हाम्रो इकोनोमीको वेश भनेको उद्यमशीलता हो । त्यसमा बैंक तथा बित्तीय संस्थाले लगानी गर्दा केही हदसम्म हाम्रो आन्तरिक उत्पादन बढोस् भन्नलाई नेपाल सरकारले ब्याजमा अनुदानको व्यवस्था पनि गरेको छ, खासगरी कृषि क्षेत्रमा । त्यसले गर्दा कृषि क्षेत्र प्रोत्साहित हुन्छ । अर्को तर्फ राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रतिशत तोकेको छ ।
डेभलपमेन्ट बैंकलाई १५ प्रतिशत, कमर्सियल बैंकलाई २५ प्रतिशत लगानी गर्न राष्ट्र बैंकको निर्देशन छ । त्यसले उत्पादनमूलक क्षेत्रमा बैंक तथा बित्तीय संस्थाले लगानी बढाउनु पर्छ । नत्र राष्ट्र बैंकले जरिवाना गर्न सक्छ । त्यसले बैंकहरु बीच प्रतिस्पर्धा समेत हुन्छ । ब्याजदर पनि हालको जेनुअन नै रहेको छ ।
बैंकिङ्ग सेक्टर एभरेज ब्याजदर १२.२९ थियो अहिले घटेर ११.७० मा आइसकेको छ । पचास पैसा जति ब्याजदर घटेको छ । यो भनेको बैंकले रेट निर्धारण गर्दा कुनै बेलामा ५ प्रतिशतमा लोड दिएका थिए, कुनै बेलामा १६÷१७ प्रतिशत लिने गरेका छन् । तरलताले यसलाई प्रभाव पार्छ । स्थायीत्व हुँदैन । कष्ट अफ फण्ड पनि बढ्ने, घट्ने हुन्छ ।
मुख्य कुरा बैंक तथा बित्तीय संस्थाले राष्ट्र बैंकले दिएको गाइड लाइन फलो गरेका छन् कि छैनन् भनेर हेर्ने हो । त्यो पाटोमा बैंक तथा बित्तीय संस्थाले फलोअप गरेका छन्, गर्ने क्रममा रहेका छन् । जहिले पनि लगानीको रेट फिक्स जस्तो हुन्छ, ३÷४ महिनाको लागि । जसरी वेश रेष्ट घटबढ हुन्छ, बैंक तथा बित्तीय संस्थाले लोनको रेट बढाउने, घटाउने गरेका छन् ।
घर, गाडीको लागि लोन सजिलो तर किसानले ऋण पाउँदैनन् भन्ने गुनासो आउँछ त ? अर्को ब्याज असुलीमा मात्रैमा बैंक केन्द्रित भएको हुन् कि ?
प्रोडक्टिभ सेक्टरमा रेगुलेटेड र एग्रिकल्चरमा सब्सिडाइज नै छ । नेपाल सरकारले नै सब्सिडी दिएको छ । हामीले पुससम्मको डाटा हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाले सब्सिसाइड लोन अन्तर्गको कृषि क्षेत्रमा ४५ अर्ब लगानी गरेको देखिन्छ । र, त्यसबाहेक ब्याज अनुदानका अरु पनि क्षेत्र छन् । जस्तै महिला उद्यमशीलतामा १५ लाखसम्मका ६ प्रतिशत, एग्रिकल्चरमा ५, सेयुअल काष्ट अन्डर प्रिभिलेज ग्रुपको टे«डिसनल स्किल बेश लगानीमा पनि ५ प्रतिशतसम्म सब्सिडी छ । विदेशीबाट फर्केका उद्यमशील युवाहरुलाई लगानी गर्न सीमा तोकिएको छ, त्यसमा पनि ५ प्रतिशत सब्सिडी रहेको छ । एग्रिकल्चर बाहेकको सब्सिडी रहेको क्षेत्रको क्षेत्रमा बैंकहरुले करिब २ अर्ब लगानी गरिसकेका छन् ।
हाम्रो बैंक साइन रेसुङ्गाको कुरा गर्ने हो भने हामीले ८५ करोड लगानी गरेका छौं । यसमा नेपाल सरकारले दुई÷तीन प्रकारले सहयोग गरेको छ । एउटा सब्सिडी दिने काम गरेको छ । अर्को सब्सिडी सेक्टरमा दिएको १०० प्रतिशत लोनलाई सिसिटि रेसियोमा काउन्ट गर्नु पर्दैन भनेको छ । त्यो भनेको बैंकलाई इन्सेन्टिभ हो । त्यसैले यो क्षेत्रमा लगानी बढ्दै गएको छ ।
यसमा अर्को पाटो पनि हेर्नुपर्छ । जस्तो कृषि क्षेत्रमा अर्थको अभाव मात्रै एउटा लिमिटेशन हो कि त्यसमा अरु पनि पार्ट छ । बैंक तथा वित्तीय संस्था एउटा पाटो मात्रै हो । यसमा अरु पाटाहरु पनि रहेका छन् । एग्रिकल्चरमा धेरै पाटो छन् । जस्तैं, मल, बिउ, प्रविधि लगायत । त्यो पाटोमा बैंकले रोल प्ले गर्न सक्दैन । त्यो पाटोमा अन्य सरोकारवाला संस्थाले काम गरिदिने हो भने समग्र अर्थ प्रणालीमा सकारात्मक प्रभाव पर्न सक्छ । नेपालमा कृषिक्षेत्रमा आधुनिकीकरण र बजारीकरणको कार्य गर्नु आवश्यक छ । सरकारले त्यसतर्फ काम पनि गरिरहेको छ । उत्पादन बढावा दिन सरकारले ल्याएको योजनाले राम्रो प्रभाव पनि परिरहेको छ ।
बैंकहरुले आ–आफ्नो पोलिसी बनाएको छ । साइन रेसुङ्गाले सानो लगानीलाई एकदमै सहज बनाएको छ । १० लाखसम्मको लोन प्रक्रिया हाम्रोमा एकदमै सहज रहेको छ । कृषि क्षेत्रमा राम्रै लगानी गरेका छौं । हामीले प्रोजेक्टको नेचर हेरेर लगानी गर्छौ । कृषिमा दिइने ब्याज अनुदान ऋणमा विभिन्न स्याल्याबहरु छन् । स्याल्याब अनुसार फरक प्रक्रिया छन् । ऋण अघि प्रोजेक्टको रिपोर्ट बनाउनु पर्छ । १० लाखसम्मको सहज नै हुन्छ । त्यसभन्दा बढीको डिटेल प्रोजेक्ट रिपोर्ट चाहिन्छ । प्रोजेक्ट कत्तिको प्रभावकारी हुन्छ भन्ने बैंकले हेर्छ । ऋणको ब्याजमा मात्रै अनुदान हो ५ बर्षसम्मका लागि । त्यसपछि कृषि उद्यम गर्ने आफै सस्टेन्ट हुनुपर्छ ।
यसबीच साइन रेसुङ्गाको अवस्था चाहिं कस्तो छ ?
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक १२ वटा जिल्लामा रहेको छ । जसमा ६९ वटा ब्रान्चेज छन् । राष्ट्रिय स्तरको कान्छो डेभलपमेन्ट बैंक हो साइन रेसुङ्गा । र, पुस मसान्तसम्मको विवरण हेर्दा हामी कारोबार, नाफाको हिसाबले पाँचौ स्थानमा रहेका छौं ।
बैंकको आज दिनमा ४ अर्बको पूँजी कोष छ । २ अर्ब ६२ करोडको प्राथमिक पूँजी छ । हामी साढे २७ अर्बको डिपोजिटको बेश छ । कर्जा २५ अर्ब परिचालन गरेका छौं । हाम्रो ४ लाख भन्दा बढी ग्राहकहरु हुनुहुन्छ । धेरैजसो कारोबार प्रदेश ५ मा नै रहेको छ । प्रदेश ५ बाहेक नारायणगढ र बागलुङ्गमा ब्रान्च छ । हामी भित्रै देखि सबल बैंक हो ।
नेपालगन्जमा तत्कालीन भार्गव बैंकलाई एक्वाएर गर्यौं । यो क्षेत्रमा पनि हाम्रो उपस्थिति राम्रो छ । बाँके, बर्दिया, दाङ्ग गरेर हाम्रो १७ वटा शाखा रहेका छन् । साइन रेसुङ्गा पहिले देखि नै आन्तरिक रुपमा बलियो बैंकको रुपमा पहिचान बनाएको थियो । रुपन्देही बेश रहेर रुपन्देही, गुल्मी, प्युठान, अर्घाखाँची, दाङ्ग, बाँके र बर्दिया मेजर कार्यक्षेत्र हो । अब नवलपरासी, कपिलवस्तु, उता चितवन र बागलुङ्ग पनि छ ।
तत्कालीन भार्गवलाई एक्वाएर गरिसकेपछि ग्राहकहरुलाई कसरी काम गरिरहेका छौं भन्ने हाम्रो उद्देश्य पनि रहेको छ । बैंकको बेश रेट डेभलपमेन्ट बैंकहरुमा सबैभन्दा कम हो । त्यो भनेको हाम्रो प्रतिस्पर्धात्मक क्षमता पनि हो । हामी उत्पादनमूलक क्षेत्रको लगानीमा बढी जोड दिन्छौं । राष्ट्र बैंकले मिनिमन १५ प्रतिशत लगानी गरे हुन्छ भनेको छ । तर, हामीले उत्पादनमूलक क्षेत्रमा २६ प्रतिशत लगानी गर्ने सीमा बनाएका छौं । र, आजको दिनमा २२ प्रतिशत लगानी गरेका छौं ।
किन साइन रेसुङ्गा बैंक रोज्ने भन्यो भने ?
हामीसँग विभिन्न किसिमका ग्राहकहरु हुनुहुन्छ । खाता खोल्ने, जनरल सर्भिस लिने ४ लाख बढी ग्राहक हुनुहुन्छ । ऋणि १३ हजार बढी हुनुहुन्छ । मोबाइल बैंकिङ्ग एपमा एक लाख बढी यूजर हुनुहुन्छ । एडिएम कार्ड भिजा नेटवर्कसँग आबद्ध छौं । नेपाल र भारतमा हाम्रो एटिएम चल्छ । अबको बैंकिङ्ग भनेको डिजिटल हो । डिजिटल बैंकहरुमा साइन रेसुङ्गा बैंक धेरै अगाडि रहेको छ । साइन रेसुङ्गामा खाता खोलेर हाम्रो एप युज गर्नुभएको छ भने त्यसमार्फत देशको जुनसुकै ठाउँबाट कारोबार गर्न सकिन्छ । हाम्रो एप्लिकेशनबाट कुनैपनि बैंकमा, कुनै पनि शाखामा मिनिमम शुल्कमा फण्ड ट्रान्सफर गर्न सक्नुहुन्छ । इन्टरनेट बैंकिङ्ग पनि गर्दैछौं । १५/२० दिनमा त्यो सेवा सुरु हुनेछ । त्यसले कर्पोरेट ग्राहकहरुलाई कारोबार गर्न सहज हुन्छ । व्यवसायिक र व्यक्तिगत कारोबारका लागि साइन रेसुङ्गा सहज छ । हामीले धेरै क्षेत्रमा लगानी पनि गरेका छौं । डिपोजिटका लागि पनि राम्रो छ ।
आफ्नो मर्चेन्ट बैंक नभएपनि हामी आबद्ध छौं । त्यसमार्फत हामी खाता खोलिदिन्छौं । साइन रेसुङ्गमा भएको खातालाई त्यसमा कनेक्ट गरिदिन्छौं । शेयरमा कारोबार गर्नेले त्यसबाट फाइदा लिन सक्नुहुन्छ । साइन रेसुङ्गामा गएपछि यो त रहेनछ भनेर फर्कनु पर्ने अवस्था छैन ।
हाम्रा जतिपनि ग्राहक हुनुहुन्छ बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवाहरुका बारे, बैंक तथा बित्तीय संस्थाको बारेमा जान्न विभिन्न माध्यमबाट जानकारी लिन सक्नुहुन्छ । अहिले वेभसाइटमै पनि बैंकहरुको अवस्था बारे जानकारी हुने फाइनान्सियल रिपोर्ट राखिएका हुन्छ । जुन उद्देश्यका लिएको ऋण हो त्यसैमा लगानी गर्नुहोस् भनेर सहजीकरण गरिरहेका हुन्छौं ।