महानगर गाथा

मुख्यमन्त्री शंकर पोखरेलले बृहत खजुरा सम्मेलनको सम्बोधनका क्रममा यस क्षेत्रकै अगुवा वामपन्थी नेता भनेर भक्तबहादुर केसीको मात्र नाम लिइरहँदा सम्मेलनको अध्यक्षता गरिरहेका केसीका आँखा रसाएका सायद धेरैले देखे ।  ज्ञानोदय उच्च माविको प्रांगणमा तयार गरिएको भव्य सभाकक्षमा उनै अगुवा नेता केसी भावुक बनेको क्षण खजुरेली अगुवा पंक्ति साक्षी मात्र बने ।

देश र समाज परिवर्तनका पक्षमा केसीको संघर्ष, योगदान र जीवनका उतारचढावका बारेमा पछिल्लो पुस्ता अनभिज्ञ भएका बेला मुख्यमन्त्रीले बिशाल समारोहमा नामोच्चारण गरिदिदा केसी भावुक हुनु स्वभाविकै हो । हुनपनि पछिल्लो पुस्तासँग यी केसीको त्यति हिमचिम छैन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँगकै संगत, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको कार्यसमिति सदस्य, नेकपा नेता वामदेव गौतमका सहकर्मी र कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाका शैक्षिक तथा राजनीतिक गुरु हुनुका नाताले भन्न सकिन्छ, केसीको व्यक्तित्व, संघर्ष र अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणादायक छ ।

महानगर गाथा आफैंमा एउटा बृहत सोंच हो । समृद्धिको बाटोमा अघि बढ्ने संकल्प हो । यसमा सम्भ्रान्तका कथा मात्र हैन, भुईंमान्छेका कथा पनि लेखिन्छ । हरेक सफल र समृद्ध मानिस कुनैबेला भुईंमान्छे नै हुन्छ । उसको संघर्ष, त्याग र सफलताले नै झुपडीबाट महलतर्फको यात्रामा लैजान्छ । त्यसैले त भन्न सकिन्छ भक्तबहादुर केसीको नाम ठूलो त्याग, संघर्ष र योगदानको पर्यायवाची हो । झुपडी र महल उनको शब्दकोषमा गौण हो, कर्म र इमान्दारिता प्रमुख हो ।

सारा जीवन उनले शिक्षण पेशामै अर्पित गरे । सक्रिय पेशागत जीवनपछिको समय पनि उनले शिक्षा क्षेत्रमै समर्पित गरिरहेका छन् । रुकुमदेखि सुर्खेत र बाँके जिल्लाका बिभिन्न विद्यालयमा शिक्षण गरेका केसी हाल बाँकेकै नमुना विद्यालय ज्ञानोदय उच्च माविका व्यवस्थापन समितिमा दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारीमा छन् ।

महान दार्शनिक कन्फ्युसियसले भनेका छन् –‘यदि एक बर्षको निम्ति सोच्दछौ भने धान रोप । यदि दश बर्षको निम्ति सोच्छौ भने रुख रोप । यदि सय बर्षको निम्ति सोच्दछौ भने शिक्षामा लगानी गर ।’ भक्तबहादुर केसीले सायद सय बर्षको लागि सोचे । शिक्षा नै परिवर्तनको वाहक हो भन्ने बुझे । जीवनको उत्तराद्र्धमा उनको सक्रियता हेर्दा पनि भन्न सकिन्छ कि उनको जीवन शिक्षामै समर्पित छ । उनको जीवनको रोचक पक्ष त यो छ कि एसएलसी मात्र उत्तीर्ण भइकन पनि उनले एसएलसीसम्मै शिक्षण गरे । गणित र विज्ञान बाहेक प्राय सबै बिषय पढाए । अझ पेशागत जीवनको उत्तराद्र्धमा स्नात्तकोत्तर(एमए) गर्न समेत भ्याए ।

मार्टिन लुथर किङ जुनियरले एक ठाउँमा भनेका छन् –‘सबै मानिस महान हुनसक्छन् किनकि सबै व्यक्तिले सेवा गर्न सक्छन् । सेवा गर्नका लागि तपाईंसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया र कर्ता, अनि गणितका सुत्रहरु जान्नैपर्छ भन्ने छैन । आवश्यक पर्छ त सिर्फ दयाले भरिएको मनको आवश्यकता, प्रेमले परिपूर्ण आत्माको जरुरत हुन्छ ।’ केसीसँग कलेजको डिग्री थिएन । सेवाभाव थियो । प्रेमले परिपूर्ण आत्मा थियो । समाजसेवाका लागि व्याकरणको क्रिया र कर्ता, अनि गणितका सुत्रहरुको उनले प्रवाह गरेनन् । सेवाभाव शिरमा राखेर जिम्मेवारीमा खरो उत्रिए ।

केसी नौ बर्षको हुँदा बुवा बित्नुभयो । आमा एसएलसी दिनु एक बर्ष अघि नै बित्नुभयो । १५ बर्षको उमेरमै उनी अभिभावकविहिन भए । आफुअगाडिका तीन दिदीहरुको विवाह भइसकेको थियो । आफुभन्दा पछाडि दुई बहिनी थिए । सम्पुर्ण पारिवारिक बोझ केसीको थाप्लोमा आइपरेको थियो । यो २०२७ सालको कुरा हो । उनी २०११ सालमा जन्मिएका थिए रे । रे भन्नुको मतलब उनको शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०१२ उल्लेख छ । तर गाउँमा आफन्तहरुले २०११ सालमा जन्मिएको भन्थे रे । यसहिसाबले उनी १५ बर्षको हुँदा अभिभावकविहिन भइसकेका थिए । उनको मुलथलो रुकुमकोट हो, हाल सिस्ने गाउँपालिका । कुनैबेला शोभा गाउँ पञ्चायत थियो । राजा महेन्द्रकी छोरी राजा वीरेन्द्रकी बहिनी शोभाको  विवाह रुकुमकोट निवासी मोहनबहादुर शाहीसँग भयो । यसर्थ पञ्चहरुले नाम नै शोभा गाउँ पञ्चायत राखिदिएको केसी स्मरण गर्छन् । त्यही रुकुमकोटमा अवस्थित रुक्मिणी माविबाट एसएलसीसम्मको अध्ययन पुरा गरे । त्यसो त त्यतिबेला परिक्षाका निम्ति दाङ झर्नुपथ्र्यो । केसीले पनि दाङ घोराहीस्थित पदमोदय पब्लिक स्कुलमा रहेको सेन्टरमा एसएलसी परिक्षा दिएका थिए । आफ्नो ब्याचका ६ जनामध्ये दुई जना टेष्ट परिक्षामै अनुत्तीर्ण भएकाले चार जनामात्र एसएलसीमा समावेश भएको र सबैले उत्तीर्ण गरेको केसीले बताए । गाउँमा रुख कटान गरेरै विद्यालय भवन निर्माण गर्दै अध्ययन गरेको केसीको मस्तिष्कमा अझैं ताजै छ । राजनैतिक चेत त्यतिबेलादेखि नै थियो । २०२६ सालमै यिनी कम्युनिष्ट पार्टीमा आवद्ध भइसकेका थिए । जब २०३० सालमा तत्कालीन माननीय ध्रुवविक्रम शाहको जोडबलमा रुकुमको सदरमुकाम रुकुमकोटबाट मुसीकोट सारियो, त्यतिबेला एकखालको विद्रोह भयो ।

रुकुमकोटवासी नाराजुलुस गर्दै मुसीकोट पुगे । अग्रपंक्तिमा यिनै केसी थिए । मुसीकोटमा कफ्र्यु जारी थियो । त्यसलाई छिचोल्न खोज्दा केसीको खुट्टामा प्रहरीको गोली लाग्यो । भिंड अनियन्त्रित हुँदै थियो । फेरि अर्को खुट्टामा पनि गोली लाग्यो । भिंड तितरवितर भयो । भागाभाग मच्चियो । केसी पनि ज्यान जोगाउन कतै ओत लागे । जब सुरक्षित स्थानतर्फ लाग्न खोज्दै थिए, खुट्टा नचल्ने भइसकेका थिए । ‘एक जनाको त मृत्यु पनि भयो ।’– केसीले सुनाए । यो अभियोगमा केसी दश महिना जेल बसे । केसीसहित १८ जनालाई पक्राउ गरी जेल चलान गरिएको थियो । पुर्व माननीय भुवनेश्वर उपाध्यायले राजासमक्ष बिन्तीपत्र चढाएपछि उपचार गराउने बहानामा केसी रिहा भए । फेरि उनी शिक्षणकर्ममै फर्किए । मनले मानेन । विद्रोहको बिजारोपण भइसकेको थियो । राज्यव्यवस्थासँग लड्ने ल्याकतको विकास भइसकेको ठान्थे । त्यसैले तत्कालीन समाजमा शोषण र थिचोमिचोलाई व्यंग्य गर्दै ‘५० रुपैयाँको तमसुक’ नामक नाटक गाउँमा मञ्चन पनि गराए । सदरमुकाम स्थानान्तरणका बिषयमा भएको गोलीकाण्डका विरुद्ध हातैले लेखेर पर्चा पम्पलेट तयार गरी रातारात गाउँ भरि वितरण गराएका थिए । त्यसैले फेरि बैशाख महिनामा पक्राउ परे । यतिबेला १५ दिन बसेर हिरासतबाटै भाग्न सफल भए । २०२६ सालमै नेकपा पुष्पलाल समुहमा संगठित भइसकेका केसी आफ्ना नेता पुष्पलाल खोज्दै जानेक्रममा गोरखपुर कानपुर पुगे । त्यहाँ भाँडा माझेर पनि जीविकोपार्जन गरे । ‘केही महिनापछि बनारस पुगें ।’ केसी सुनाउँछन्–‘बनारसमा पुष्पलाल दाईसँग भेट भयो, उहाँबाट कम्युष्टि दर्शनका बारेमा धेरै सिक्ने अवसर प्राप्त भयो ।’ पुष्पलालको खाना पकाएर करिब ६ महिना बसेको सम्झदा उनी अहिले पनि रोमाञ्चित हुन्छन् । केसीको राजनैतिक चेत देखेर पुष्पलालले सांगठनिक कामकै लागि नेपाल फर्कन आग्रह गरे । नेपालगन्ज नजिकै खजुरा क्षेत्रमा पुगेर बाबुराम गौतमको सम्पर्कमा पुग्न पुष्पलालले अह्राएका थिए । यो २०३२ सालको कुरा हो । उनी खजुरा आउनासाथ संगठनको काममा लागिहाले । यसैबीच पुष्पलालको विचारबाट असहमति राख्दै विद्रोह गरेका मोदनाथ प्रश्रित, वामदेव गौतम, प्रदीप नेपालसहित मुक्ति मोर्चा समुहमा समाहित भए । त्यसपछि कोर्डिनेसन कमिटी हुँदै नेकपा माले गठन हुँदा केसी पनि अग्रपंक्तिमै रहे । ‘पुष्पलाल बनारसमै बस्ने र कांग्रेससँग मिलेर मात्र देशमा परिवर्तन सम्भव छ भन्ने उहाँको विचारसँग हामी असहमत भएका थियौं । तत्काल बन्दुक उठाइहाल्नुपर्छ, लडेरै परिवर्तन सम्भव छ भन्ने मान्यता राख्नेहरु नै नेकपा मालेमा थियौं । मदन भण्डारी, जीवराज आश्रित लगायत नेताहरु हुनुहुन्थ्यो ।’ केसी सुनाउँछन्–‘गुरु भनेपनि साथी भनेपनि वामदेव गौतम नै हुन् ।’ लुम्बिनी क्षेत्रलाई कार्यथलो बनाएर पार्टी कामलाई अगाडि बढाएका बेला वामदेवलाई बुटवल, दाङ, नेपालगन्जसम्म पैदल हिंडाएको रोचक सम्झना पनि ताजै छ । नेकपा नेता युवराज ज्ञवालीका दाइ भक्तीराम ज्ञवालीको सम्पर्कमा आफुहरु रहने गरेको पनि उनले बताए । ‘युवराज ज्ञवाली त्यतिबेला पढ्दै हुनुहुन्थ्यो, हामी दाङ जाँदा भक्ती ज्ञवालीको सम्पर्कमा जान्थ्यौं । पुर्व पश्चिम राजमार्ग भखैरै निर्माण हुँदै थियो, बुटवलतिर पार्टी काममा पैदल नै हिडिन्थ्यो ।’ केसीले सम्झिए–‘वामदेव कमरेडसहित जाँदै थियौं, एक ठाउँ बास बस्नुपर्ने भयो । वामदेवको हक्की स्वभाव, सडक निर्माण गरिरहेका मजदुरसँग झण्डै झगडा परेको थियो, मैले थामथुम पारें ।’

संगठन निर्माणका सिलसिलामा केसीलाई पार्टीले २०३५ सालमा सुर्खेत पठायो । उनी काप्रीचौर पुगे । जनकल्याण माविमा शिक्षण सुरु गरे । सल्यान सुर्खेत सिमा नजिकै भएको हुँदा प्रकाश ज्वाला मामाघर काप्रीचौर पढ्न आएका थिए । उनी सानैदेखि तिक्ष्ण थिए । यस्ता विद्यार्थीलाई संगठित गराउँदै जाने पार्टीको रणनीति थियो । केसीले प्रकाश ज्वाला जस्ता विद्यार्थीको दिमागमा राजनैतिक चेत भरिदिए । २०४२ सालमा पहिलो ब्याचका रुपमा ज्वालाले उक्त विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको केसीले बताए । ज्वाला आफ्नो ब्याचमा जिल्लाकै उत्कृष्ट विद्यार्थी भएको पनि उनले बताए । २०४६ सालको आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका केसीको जीवन उतार चढावमै बित्यो, कहिले रुकुम कहिले बाँके । यद्यपी यतिबेला उनी स्थायी बसोबासका लागि बाँकेको खजुरा झरिसकेका थिए । २०४६ को परिवर्तनपछि संसदीय निर्वाचन हुने भयो । उनी नेकपा एमालेबाट सुरुमा रुकुम क्षेत्र नं १ मा सांसदका लागि सिफारिश भएका थिए । उनको कर्मथलो पनि त्यही क्षेत्र थियो । तर पछि उनको नाम २ नम्बर क्षेत्रका लागि भनेर आयो । तर चुनावी तालमेलका लागि उक्त क्षेत्र तत्कालीन जनमोर्चालाई छाड्नुपर्ने भयो । र, केसीले पनि तत्कालीन जनमोर्चा उम्मेदवार जनार्दन शर्माको प्रचारप्रसारमै लागे । यद्यपी चुनावी परिणाम अपेक्षित हुन सकेन । राजनीतिमा निराशा त होइन, तर दैनिक जीवनयापनका बारेमा पनि केसी सोच्न बाध्य भए । किनकी राजनैतिक स्कुलिङ नै स्वाभिमानी थियो । फेरि शिक्षक पेशामै फर्किए । २०५० सालमा शिक्षा आयोगको परिक्षा उत्तीर्ण गरेर उनी प्राथमिक तहको स्थायी शिक्षक भए । शैक्षिक योग्यता पनि एसएलसी मात्र थियो ।  अब यिनले अध्ययनलाई अगाडि बढाउने निधो गरे । छोरा पुस्तासँगै पढ्न थाले । २०५१ मा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आइए भर्ना भएका केसीले २०५५ सालमा सुर्खेत क्याम्पसबाट अंग्रेजी बिषयमा बिएडको पढाइ सुरु गरे । २०६८ सालमा एमएड पुरा गरे । बाँकेका बिभिन्न विद्यालयमा शिक्षण गर्ने सिलसिलामा २०७२ साल मंसिर महिनामा जनता उच्च माविबाट सेवानिवृत्त भएका केसी २०७३ साल असोजदेखि ज्ञानोदय उच्च माविको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीमा आए । शिक्षण पेशाको अनुभव, विद्यालय सञ्चालनका सीप र कला सबै बुझेका हुनाले उनले ज्ञानोदयको यात्रालाई शिखरतर्फ आरोहण गराउन सफल भए । यसको एउटै कारण छ, उनी अन्य शिक्षक जस्तै विद्यालयका निम्ति समय दिन्छन् । होलटाइमर जस्तै छन् उनी । स्वयंसेवी भावनाका साथ पुर्णकालीन छन् । उनको सक्रियता र क्रियाशिलता साँच्चिकै लोभलाग्दो छ । सारा शिक्षक कर्मचारी उनका अगाडि नतमस्तक छन् । पल पल पैसासँग दाँज्ने समाजका अगाडि उनी उदाहरणीय छन् । हरेक युवा राजनीतिज्ञलाई उनको सुझाव छ–‘राजनीति गर्नुछ भने आयस्रोतसँग जोडिनैपर्छ, अन्यथा अनियमितता र भ्रष्टाचार बढ्छ ।’ आफ्नो पेन्सन वापत मासिक आयस्रोत भएकै कारण सामाजिक कार्यमा समेत पुर्णकालीन हुनसकेको उनको भनाइ छ । अघिल्लो कार्यकाल पनि उनले विद्यालयका लागि पुरा समय दिए ।

त्यसैले त दोस्रो कार्यकालका लागि पनि यिनै केसीलाई अध्यक्षको जिम्मेवारीमा निरन्तरता दिइएको छ । उनी खजुरा गाउँ पालिकाका विज्ञ समुह सदस्य पनि हुन् । साथै शिक्षा तथा युवा, खेलकुद समिति संयोजक पनि  । यो समिति खजुराको शिक्षा र खेलकुदको विकासमा क्रियाशील छ, अग्रणी छ । अल्बर्ट आइन्स्टाइनले भनेका छन् –‘सफल बन्नका लागि होइन, बरु मुल्यवान बन्नका लागि संघर्ष गर ।’ केसी जीवनमा सफल भए वा असफल? यो उनै जानुन् । तर उनी मुल्यवान छन् खजुराका निम्ति । उनकै नेतृत्वको समितिले आयोजना गर्ने मेयर कप विद्यालय स्तरीय खेलकुद आफैंमा उदाहरणीय यसअर्थमा छ, गाउँपालिकाको करिब पाँच लाख रुपैयाँको लगानीमा पालिकाअन्तर्गत ६७ विद्यालय एकैपटक एकैथलोमा जम्मा हुने कार्यक्रम बिरलै होलान् । जहाँ पालिका प्रमुखले आफ्ना योजना र सपना एकैपटक शिक्षित वर्ग, भोलिको जिम्मेवार वर्ग(विद्यार्थी) र अभिभावकसमक्ष पुराउन सकोस । केसीकै अगुवाइमा भएको बृहत खजुरा सम्मेलनले पनि अलग छाप छाड्न सफल भयो । अब्राहम लिंकनले भनेझैं मेरो सबभन्दा ठुलो चिन्ता तपाईं असफल हुनुभयो भन्ने हैन, ठूलो चिन्ता त यो हो कि तपाईं आफ्नो असफलतामै सन्तुष्ट भएर बस्नुभएको छ । सायद यो सम्झिंदा केसीको मन निरन्तर सफल हुनेमै केन्द्रित छ । सन्तुष्टि प्राप्तिकै दौडमा उनको मन छ । त्यो व्यक्तिगत लाभका लागि हैन, ठाउँका लागि । समुदायका लागि र समग्रमा देशका लागि । ‘सन्तुष्टि वास्तवमा समाजसेवामा मात्र रहेछ ।’ ६५ बर्षीय जोशिला केसीको अन्तिम निष्कर्ष यही हो ।

प्रतिक्रिया

प्रतिक्रिया