कोरोना कहर : नेपालगन्जमा डेढ करोड बढीको आकस्मिक कोष

विश्वव्यापी कहर बन्दै आइरहेको कोरोना भाइरस विरुद्ध नेपालगन्जमा सचेत र सामुहिक पहल थालिएको छ । आकस्मिक कोषको स्थापना देखि टास्क फोर्स गठन सम्मका निर्णय गर्दै सचेत र सघन पहल थालिएको हो ।


नेपालगन्ज उपमहानगरपालिकाको पहलमा सोमवार भएको सर्वपक्षीय बैठकमा कोरोनाको विश्वव्यापी बढ्दो कहर र त्यसले उत्पन्न गरेको सन्त्रासबारे छलफल गरि आवश्यक तदारुखताका पहलहरु लिइएको नगर प्रमुख डा. धवल शम्शेर राणाले जानकारी दिए । उनका अनुसार, तीन दिन भित्र कोरोना भाइरस विरुद्ध पूर्व तयारीका लागि आकस्मिक कोषलाई आवश्यक पर्ने न्यूनतम रकम जम्मा गरिसक्ने गरि अगाडी बढिएको छ । त्यसको व्यवस्थापन डा. राणाले गर्नेछन् । कोषमा शुरुमै १ करोड ६० लाख रुपिया सुनिश्चित गरिएको छ ।


आकस्मिक कोषका लागि सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकले ३० लाख रुपिया कोषमा सहयोग गर्नेछ । कोषको संयोजन नगरप्रमुख डा. राणाले गर्ने निर्णय भएको छ । सर्वपक्षीय बैठकले कोषका लागि प्रारम्भमा आफै रकम दाखिला गर्ने र थप केन्द्र तथा प्रदेश सरकारसँग सहयोग लिने गरि अगाडी बढेको हो । त्यसका लागि जिल्ला ६ वटा गाउँपालिकाले १० लाखका दरले ६० लाख रुपिया योगदान गर्नेछन् । बाँके जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख रुपिया दिने कोषमा नेपालगन्ज उद्योग वाणिज्य संघले २० लाख रुपिया सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख डा. राणाले जानकारी दिए । ‘यो साझा प्रयासबाट मात्र पूर्व तयारीदेखि संक्रमण रोकथाम सम्भव छ,’ नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘सबै क्षेत्रको योगदान, सतर्कता र साथ आवश्यक छ ।’


बैठकले बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरस विरुद्ध पूर्व तयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठनको निर्णय पनि गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा सोमबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सरोकारवाला बीच समन्वयात्मक पहल लिंदै आवश्यक तयारीका लागि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स गठनको निर्णय गरेको हो ।
बैठकले भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति, प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा ब्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठनको निर्णय पनि गरेको छ ।


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको बैठकले कोरोना भाइरस भारतको उत्तरप्रदेश राज्यमा देखिएका कारण नेपालगन्ज पनि उच्च जोखिममा रहेको भन्दै अत्यावश्यक काम बाहेक भारत नजान सार्वजनिक अपील गरेको छ । ‘आउने बेला कडाइका साथ चेकजाँच आवश्यक छ,’ नगरप्रमुख डा. राणाले भने, ‘जाने कुरामा अत्यावश्यक नभइ नजाने कुरामा सर्वसाधाण सबै गम्भीर हुनुपर्छ ।’


सरोकारवालाहरुको सहभागिता रहेको बैठकमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख वीरबहादुर वली, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, नागरिक उड्ययन कार्यालय नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुर, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लगायतले कोरोना भाइरसविरुद्ध भइरहेका पहल र प्रयासबारे जानकारी गराएका थिए ।


नेपालगन्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित मञ्च, निजी विमान कम्पनी, निजी अस्पताल लगायतका प्रतिनिधिहरुको समेत सहभागिता रहेको बैठकमा क्वारेन्टाइन स्थापनाका लागि समेत परामर्श गरिएको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिए । उनका अनुसार, बैठकले बजारमा उपभोग्य वस्तुको अभाव र कालोबजारी हुन नदिन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ । यसैगरी मास्क, पिपिई र अन्य उपकरणको ब्यवस्थापन गरिने निर्णय बैठकमा भएको शर्माले जानकारी दिए ।

बोल्यो अदालत

जनतालाई स्वास्थ्यको अधिकारको प्रत्याभुति दिनु सरकारको कर्तव्य

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले जनताको स्वास्थ्य अधिकारको प्रत्याभूति दिनु सरकारको कर्तव्य भएको जनाएको छ । कोरानाका सन्दर्भमा उच्च अदालत नेपालगन्जमा दायर भएको रिट निवेदन उपर सुनुवाई गर्दै अदालतले नागरिकलाई निशुल्क मास्क, सेनेटाइजर हैण्डवास समेतको साथै निशुल्क स्वास्थ्य उपचार परिक्षण समेतको व्यवस्था तत्काल गर्न अन्तरिम आदेश जारी गरेको हो ।


कोरोना भाइरस (कोभिड–१९) संक्रमण र त्यसबाट सृजना हुने महामारी रोकथाम र नागरिकको स्वास्थ्यको अधिकार संरक्षणमा सरोकारवाला निकायको उचित ध्यान पुग्न नसकेको बिषय सार्वजनिक सरोकारको विषय भन्दै रिट दायर गरिएको थियो ।


अदालतमा परेको रिटमाथी उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश पवन कुमार शर्मा न्यौपाने एकल इजलासले नागरिकको स्वास्थ्य र सुरक्षाको व्यवस्थापनको कार्यन्वयनका लागि १५ दिनभित्र प्रदेश नंं ५ का मन्त्रालय, र बाँके, बर्दिया जिल्लाका विभिन्न कार्यालयका नाममा रिटमा उल्लेख गरिएका विषयबस्तुमा गम्भीर कारण र आवश्यक पहलका बारेमा लिखित जवाफ माग गरिएको छ ।


सरकारले आफ्नो स्रोतको परिचालन गरि जनतालाई स्वास्थ्य अधिकारको प्रत्याभुति दिन कर्तव्य भएको हुदा निवेदकले उठाएको विषयमा सर्वसाधारण नागरिकलाई कोरोना भाइरस रोगको निशुल्क औषधी उपचार, रोकथाम, परिक्षण, निःशुल्क मास्क, सेनेटाइजर उपलब्ध गराउनु र सबै विद्यालय, कार्यालय, संघसंस्था, अस्पतालमा समेत हात धुने साबुन, हेण्ड वाशको व्यवस्था तत्काल गर्न गराउने भनि अदालतले अन्तरिम आदेश गरेको हो ।


मुद्धाको प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले कोरोनाको महामारीबाट नागरिकहरुको जीवनरक्षा गरि स्वास्थ्य अधिकारबाट बन्चित नगर्न र यसबारे उपयुक्त अनुगमन गर्नु गराउने भनी प्रत्यक्र्षीहरुको (मुद्दामा बिपक्षी बनाइएकाहरु) नाममा मुलुकी देवानी कार्यबिधि संहिता २०७४ को दफा १५८ र उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश दिएको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।


सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका तर्फबाट संस्थाका अध्यक्ष समेत रहेका अधिवक्ता विश्वजित तिवारी, नेपालगन्ज १३ का कृष्णमुरारी प्रसाद भट्ट र बर्दिया बढैयातालका प्रतापसिंह थारुले आइतवार अदालतमा रिट दायर गरेका थिए ।


बाँके र बर्दिया जिल्लाका प्रशासन, विपत व्यवस्थापन समिति, स्वास्थ्य कार्यालय, स्थानीय तह, कारागार, विमान कार्यालय, प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उद्योग पर्यटन तथा बन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई मुद्दामा विपक्षी बनाइएको छ । रिटमाथी सोमबार भएको सुनवाईमा बरिष्ठ अधिबक्ता इन्द्रजीत तिवारी, अधिबक्ताहरु, सुनिल कुमार क्षेष्ठ, प्रहलादबहादुर कार्की, बसन्त गौतम, विश्वजीत तिवारी, विकास आचार्य, केवलसिंह थारु, चित्रबहादुर शाही, कौशलकुमार बर्मा, बल बहादुर चन्द ,सुदिप भटराई, राकेश सोनीले बहस गरेका थिए ।

व्यवसायीलाई सचेतना

कोरोना संक्रमणबाट जोगिन र फैलन नदिन अपनाउनु पर्ने सावधानीबारे नेपालगन्ज उद्योग वाणिज्य संघले सचेतना कार्यशाला गर्ने भएको छ । संघका महासचिव चिरन्जीवी ओलीका अनुसार, विशेषतः मध्यमखाले होटल व्यवसायीलाई लक्षित गरि पहिलो चरण कार्यशाला गर्न लागिएको हो ।


‘पहिलो चरणमा यहाँका मध्यम खाले होटल सञ्चालकलाई सहभागी गराउँदैछौं,’ महासचिव ओलीले दैनिक नेपालगन्जसँग आज मंगलवार सय बढी व्यवसायीहरुलाई सम्बद्ध चिकित्सकहरुको उपस्थितिमा सचेतना कार्यशाला गरिने जानकारी दिंदै भने, ‘खासगरि भारतीय पर्यटकहरुलाई आतिथ्य प्रदान गर्ने सम्भावित होटललाई समावेश गरेका छौं ।’
कार्यशालामा भेरी अञ्चल अस्पतालका प्रमुख डा. प्रकाश थापा र डा. खगेन्द्रजंग शाहले विषयगत जानकारी गराउने संघले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया