बढ्दो कोरोना कहर : आज नेपाल–भारत सुरक्षा बैठक

पूर्व सतर्कताका लागि आवश्यक रणनीति बनाउन दुई देशका स्थानीय अधिकारीहरुको संयुक्त बैठक बस्न लागेको हो

सरुवा रोगका रुपमा विश्वव्यापी सन्त्रास फैलाइरहेको कोरोना भाइरसको संक्रमण विरुद्ध पूर्व सतर्कताका लागि नेपाल–भारत सीमा स्थित अधिकारीहरुको संयुक्त बैठक आज आइतबार बर्दियाको ठाकुरद्वारामा आयोजना गरिएको छ ।

बर्दिया प्रशासनको आतिथ्यतामा आयोजना गरिएको बैठकमा नेपाल तर्फ बर्दिया, बाँके र दाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, सीमा तथा स्वास्थ्य सम्बन्धी अधिकारीहरुको सहभागिता रहने बताइएको छ । भारततर्फ बहराइच, बलरामपुर र श्रावस्तीका डिष्ट्रिक मजिस्टेड, प्रहरी तथा वन, स्वास्थ्य सम्बद्ध अधिकारीहरु सहभागी हुनेछन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार, कोरोना भाइरसको पछिल्लो सन्त्रासलाई लिएर दुई देशबीचका सम्बद्ध स्थानीय अधिकारीहरुको बैठक राखिएको हो । ‘नियमित सुरक्षाका सवाल बाहेक मुख्य केन्द्र बिन्दु कोरोना भाइरस संक्रमणबाट कसरी जोगिने भन्ने संयुक्त रणनीतिका लागि बैठक राखिएको हो’, बर्दियाका प्रजिअ लामिछानेले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, बर्दियाका विभिन्न सात ठाउँमा मेडिकल टिम सहितको संयुक्त हेल्थ डेस्क राखेर भारततिरबाट आउने नागरिकहरुको स्वास्थ्य चेकजाँच गरिंदै आएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कोरोना संक्रमण विरुद्ध संयुक्त रुपमा पूर्व तयारीको योजनाका लागि बैठक महत्वपूर्ण हुने विश्वास गरिएको बताए । ‘खुल्ला सीमाना रहेकाले संयुक्त रुपमा पूर्व सतर्कता आवश्यक रहेको छ’, प्रजिअ खड्काले दैनिक नेपालगन्जसँग भने, ‘बैठकले त्यसका लागि आवश्यक रणनीति बनाउने छ ।’ कोरोना भाइरस संक्रमण विरुद्धका रणनीतिक योजनासँगै सीमा सरोकारका नियमित सवालहरुमा पनि छलफल गरिने बताइएको छ ।


शनिबार मात्रै बाँकेमा राखिएका हेल्थ डेस्कहरुको स्थलगत अनुगमन गरेको प्रजिअ खड्काले पूर्व तयारीका आवश्यक सबै प्रयासहरु गरिएको जानकारी दिंदै यथासम्भव प्रभावकारी पहल भैरहेको बताए ।


बाँकेको नेपाल–भारत जमुनाह नाका, नेपालगन्ज विमानस्थलमा मुख्यगरी हेल्थ डेस्क राखी स्वास्थ्यकर्मीले आवागमन गर्नेहरुको चेकजाँच गर्दै आएका छन् । ‘थप प्रभावकारी बनाउन जमुनाह नाकामा जनशक्ति र थप कोठाको व्यवस्थापन गरिएको छ’, प्रजिअ खड्काले आइतबारबाट नेपालगन्ज बसपार्कमा समेत हेल्थ डेस्क राख्ने तयारी भैरहेको जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया