होलीमा कोरोनाको ग्रहण, औपचारिक कार्यक्रम भएनन्, व्यापार सुस्त

हरेक बर्ष नेपालगन्जमा होलीको छुट्टै रौनक हुने गरेको छ । तर, यसबर्ष अझै पनि सहरमा होलीको माहोल देखिएको छैन । होली पर्वको सुरु हुनु एक साता अगावैदेखि विभिन्न संघ, संस्थाहरुले होली मिलनको आयोजना गर्दथे । तर, यसबर्ष भने त्यस्ता औपचारिक कार्यक्रम भएका छैनन् ।

विश्वभर देखिएको कोरोना भाइरस संक्रमणका कारण सतर्कताका लागि सरकारले मानिसहरु समूहमा भेला हुने सभा, सम्मेलन, महोत्सव, औपचारिक कार्यक्रमहरु नगर्न आव्हान गरेको छ । प्रदेश सरकारले औपचारिक कार्यक्रमहरु रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन बाँकेले पनि त्यसै अनुसारको आव्हान गरेको छ ।

कोरोनाकै सतर्कताका लागि होली मिलनका औपचारिक कार्यक्रमहरु नभएको पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु बताउँछन् । ‘पत्रकार महासंघले पनि यस बर्ष होली मिलन गर्दैन’, उनले भने, ‘सतर्कताले ठूलो जोखिम टार्न सकिने भएकाले होली मिलन गर्ने भएका हौं ।’
अछामी सेवा समाजले बाँकेमा देउडा सहित दुई दिन होली मिलन कार्यक्रमको आयोजना गर्दथ्यो । तर, यस बर्ष कोरोना विरुद्ध सतर्कता अपनाउन समाजले पनि होली पर्वको कार्यक्रम स्थगित गरेको छ ।

होली मिलनका कार्यक्रमहरु नभएपनि बजार होलीलाई लक्षित टिसर्ट र कलरहरुका पसलहरु खुलेका छन् । त्रिभुवनचोकदेखि त्रिवेणीमोड, धम्बोझी, घरबारीटोल लगायतका क्षेत्रमा होली पर्वका लागि रंग बिक्रीका लागि राखिएका छन् ।

सर्वसाधारणमा होली खेल्ने इच्छा नहुने होइन । तर, समूहमा भने होली यसबर्ष नखेल्ने कतिपयले बताएका छन् । ‘घरमा आपसमै होली खेल्छौं, तर बाहिर समूहमा खेल्न नजाने सोंच छ’, फुल्टेक्राका राज पौडेलले भने ।

विश्वभर देखिएको कोरोना भाइरस ‘कोभिड–१९’ को जोखिमका कारण नेपालगन्जको होलीको सामाग्रीको ब्यापारमा नकारात्मक प्रभाव परेको ब्यापारीहरुले बताएका छन् । होली पर्वमा प्रयोग हुने टिसर्ट, रंग, पिचकारी लगायतका सामाग्रीहरुको व्यापार गतबर्षको तुलनामा ह्वात्तै घटेको व्यवसायीहरुले बताएका हुन् ।


नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणीमोडमा हरेक बर्ष झै यो बर्ष पनि होलीलाई नै लक्षित गर्दै होलीका सामाग्रीको पसलहरु राखिएको छ । तर, व्यापार भने खासै नभएको व्यवसायीहरुले बताएका छन् । ‘गत बर्ष जस्तो रौनक देखिएन’, उनीहरुले भने ।


बिश्वब्यापी रुपमा कोरोनाले त्रासमय वातावरण सृजना गरेको बेला होली प्रति नेपालगन्जबासीको ध्यान खिच्न सकेको छैन । नेपालगन्जमा हरेक बर्ष होलीलाई नै लक्षित गरि विभिन्न संस्थाले गर्ने होली मिलन कार्यक्रम समेत देख्न नसकिएको बेला केही संस्था तथा इभेन्ट कम्पनीले भने होलीलाई विशेष बनाउन प्रख्यात डिजेहरु नेपालगन्जमा उतार्ने तयारी गरिरहेको छ । पत्रकार महासंघ बाँकेले आइतबार विज्ञप्ति जारी गरी यसबर्ष होली मिलन नगर्ने सूचित गरेको छ ।


होली भित्रनु अगाडि नेपालगन्जको सम्भावित होलीको रौनकलाई प्रतिनिधित्व गर्ने त्रिभुवन चोकको होलीसँग सम्वन्धित सामाग्रीहरुको ब्यापारमा भने छिटपुट मात्र मान्छेहरु देख्न सकिन्छ । हरेक बर्ष होली सामाग्रीको व्यापार गर्दै आएका एकलैनी नेपालगन्जका केशब लखेर कोरोना जोखिमले होली सामग्रीको व्यापार सुस्ताएको बताउँछन् । ‘शनिबारबाट सुरु गरेको हो पसल । तर, अहिले सम्म ४÷५ सयको पनि व्यापार भएको छैन’, आइतबार उनले भने ।
उनी जस्तै हरेक बर्ष त्रिभुवन चोकमा होली सामाग्रीको ब्यापार गर्दै आएका राकेश पनि कोरनाको कारण नै ब्यवसाय चौपट्ट भएको बताउँछन् ।

राकेश भने आइतबार साँझ र सोमबारसम्ममा ब्यापार बढ्ने आशामा रहेका थिए । तराईमा मंगलबार होली खेलिने भएकाले सोमबार बिक्री बढ्ने झिनो आशामा भने व्यवसायीहरुमा पाइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया