कतै तपाई थाहै नपाई राजश्व बाँकी त हुनुहुन्न ?

नविकरण नगरे खारेज गर ः वाणिज्य प्रमुख पौडेल

उद्योग, व्यवसाय सञ्चालन गर्नुअघि कानुन बमोजिम विभिन्न कार्यालयमा दर्ता गर्नुपर्छ । साथै प्रत्येक बर्ष नविकरण, लेखापरीक्षण, करचुक्ता अनिवार्य हुन्छ । तर, कतिपय व्यवसायीले एक पटक व्यवसाय दर्ता गरेपछि पुनः नविकरण गर्दैनन् । कसैले व्यवसाय बन्द गर्दा वा बिक्रीपछि आफुले दर्ता गरेको फर्म बन्द÷खारेज गर्न चासो दिंदैनन् । तर, उनीहरु नाममा सम्बन्धित कार्यालयमा तिनुपर्ने विभिन्न खालका शुल्क र जरिवाना जोडिदै जाने गरेको छ । चासो नदिंदा कतिपय नाममा थाहै नपाई ठूलो रकम तिर्नुपर्ने बक्र्यौता देखिन्छ ।

वाणिज्य कार्यालय नेपालगन्जमा ३२ हजार फर्म दर्ता रहेका थिए । जसमध्ये करिब २६ हजार फर्म हाल सक्रिय पाइन्छन् । जिल्लामा पछिल्लो समय गरिएको उद्योग, व्यवसाय गणनामा १९ हजार भन्दा कम फर्महरु रहेको अभिलेखिकरण गरिएको थियो । यसले निष्क्रिय फर्महरु धेरै नै रहेको अनुमान गर्न सकिन्छ ।

व्यवसाय सुरु गर्नु अघि उपमहानगरपालिका, आन्तरिक राजश्व, वाणिज्य, घरेलु कार्यालय लगायतमा फर्महरु दर्ता हुने गरेका छन् । सबै कार्यालयमा प्रत्येक बर्ष कुन न कुनै किसिमको राजश्व तिर्नुपर्ने हुन्छ । ‘कानुन बमोजिम दर्ता भएका फर्महरु कानुन बमोजिम नै बन्द गर्नुपर्छ’, वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले भने, ‘त्यसो नगर्ने हो भने तत् कार्यालयमा ती फर्महरु सक्रिय नै रहेका हुन्छन्, उनीहरुले बुझाउनु पर्ने शुल्क र जरिवाना थपिंदै जान्छ ।’
वाणिज्य कार्यालयका प्रमुख पौडेलले वाणिज्यमा म्याद गुज्रेका फर्महरुको संख्या १७ हजारको हाराहारीमा रहेको बताउँछन् । ‘तर, हामीसँग नविकरणको जानकारी लिन आउनेको संख्या २ हजारको हाराहारीमा रहेका छन्’, उनी कतिपय फर्मले कारोबार बन्द गरेपनि वाणिज्यमा आएर फर्म बन्द नगरेको हुनसक्ने सम्भावना व्यक्त गर्दै भन्छन् ।

सरकारले नविकरण नभएका, विभिन्न शुल्क नतिरेका फर्महरुलाई कुनै पनि बेला कारवाही गरी असुली गर्न सक्छ । फर्म दर्ताका बेला नै उद्योगी, व्यवसायीको विवरण सम्बन्धित कार्यालयले राखेको हुन्छ । त्यसैले असुलीका लागि सरकारले कुनै पनि बेला कालो सूचिमा राख्ने, घरजग्गा रोक्ने, बैंक खाता नै रोकेर बाँकी, बक्र्यौता असुल्न गर्न सक्ने सरकारी अधिकारीहरु बताउँछन् । सरकारले लामो समय राजश्व नतिरेका फर्महरुलाई बेला बखत जरिवाना छुट दिने स्किम समेत ल्याउने गरेको छ ।

‘कारोबार गरेको छैन भनेर सम्बन्धित कार्यालयमा फर्म खारेज नगर्दा भोलिका दिनमा अनाहक ठूलो जरिवाना तिर्नुपर्ने हुनसक्छ’, अडिटरहरु भन्छन्, ‘त्यसैले प्रत्येकले कारोबार बन्द गर्दा दर्ता पनि खारेज गर्नुपर्छ ।’

शुक्रबार उद्योग वाणिज्य संघले वाणिज्य कार्यालय नेपालगन्जमा हेल्प डेस्क उद्घाटन कार्यालयमा वाणिज्य प्रमुख पौडेलले वाणिज्यमा बर्षौ नविकरण नभएका फर्महरुका लागि सरकारले जरिवाना र नविकरण दस्तुर मिनाह गर्ने सम्भावना नभएको बताएका थिए । ‘नविकरण गराउन नचाहने नियम बमोजिम जरिवाना र नविकरण शुल्क तिरेर खारेज गराएर बस्नुभयो भने थप दस्तुर, जरिवानाबाट बच्न सकिन्छ’, प्रमुख पौडेलले भने ।

फर्म नविकरणमा सघाउँदै संघ

सुरु भो म्याद गुज्रेका फर्मको नविकरण

नेपालगन्ज उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई फर्म नविकरणका लागि सघाउने भएको छ । सरकारले यसअघि रोकेको म्याद गुज्रेका फर्मको नविकरण सुचारु गरेपछि संघले व्यवसायीहरुलाई सघाउनका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जमा हेल्प डेस्क सञ्चालनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राईभेट फर्म रजिष्ट्रेशन (१२ औं संशोधन) नियमावली, २०७६ मार्फत नविकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नवीकरणको व्यवस्था मिलाएको हो ।

‘व्यवसायीहरुलाई फर्म नविकरणका लागि वाणिज्य कार्यालयमा पूरा गर्नुपर्ने प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क सञ्चालनमा ल्याएका हौं’, शुक्रबार हेल्प डेस्क उद्घाटन कार्यक्रममा संघका महासचिव चिरञ्जीवि ओलीले भने, ‘त्यसका लागि वाणिज्य कार्यालयसँग समन्वय गरेका छौं ।’ कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले लामो प्रयासले नविकरण खोल्न सरकार तयार भएको बताएका थिए ।
वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले सीमित अवधिका लागि मात्रै म्याद गुज्रेका फर्मको नविकरण खुलेकाले व्यवसायीहरुलाई अवसरको सदुपयोग गर्न सुझाव दिएका थिए ।

‘वि.सं. २०७७ को असार मसान्तसम्मका लागि मात्रै म्याद गुज्रेका फर्मको नविकरण हुने हो’, उनले भने, ‘त्यसैले समयमै नविकरण गराउनुहोस् ।’ कार्यालय प्रमुख पौडेलले हेल्प डेस्कले एकैपटक नविकरण गराउने व्यवसायीहरुको चाप बढेमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले व्यवसायीका समस्याहरु समाधानका लागि संघले निरन्तर पहल जारी राख्ने बताएका थिए । ‘फर्म नविकरण खोल्नका लागि पहल गरिरहेका थियौं’, उनले भने, ‘नविकरणको समस्या धेरै व्यवसायीको रहेको छ, अब समाधान हुनेभो ।’ अध्यक्ष चुन्नाले व्यवसायीहरुले नविकरणको विषयमा निरन्तर चासो राख्ने गरेको बताएका थिए । ‘उद्योगी, व्यवसायीका अन्य समस्या समाधानका लागि आफुहरु लागि परेका छौं’, अध्यक्ष चुन्नाले भने ।

सरकारले यसअघि नविकरण म्याद गुज्रेका फर्म नविकरणका लागि २०७४ बैशाख २५ गतेदेखि २०७४ असार मसान्तसम्म समय दिएको थियो । तर, त्यतिखेर पुनः म्याद थपिने आशामा धेरै फर्मले नविकरण गराएका थिएनन् । वाणिज्य कार्यालय नेपालगन्ज अन्तर्गत हाल २९ हजारको हाराहारीमा फर्म दर्ता रहेका छन् । जसमा १७ हजार जति फर्मको नविकरण म्याद गुज्रिएको वाणिज्य कार्यालयका प्रमुख पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया