नेपालगन्जमा पौडी पोखरी उद्घाटन

१९ करोडको लागतमा नेपालगन्ज रंगशालामा निर्माण गरिएको पौडी पोखरीको आज बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले पौडी पोखरीको उद्घाटन गरेका हुन् ।


बि.सं. २०६६ सालमा तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले पौडी पोखरीको शिलान्यास गरेका थिए । शिलान्यास भएपनि काम भने हुन सकेको थिए । शिल्यान्यासको एक दशकपछि आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा आयोजना हुने भएपछि पौडी पोखरी निर्माणको काम अघि बढेको थियो । यसअघि पौडी पोखरीको परीक्षण समेत भैसकेको छ ।

प्रदेश ५ खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष भीम ओलीका अनुसार, २०६६ सालमा डिपीआर तयार गर्न रु. ८ लाख, ०६७–०६८ मा डेढ–डेढ करोड, ०६९ मा रु. एक करोड बजेट खर्च भएको थियो । ०७० मा रु. २ करोड ५० लाख आए पनि फ्रिज भएर गएको ओलीले जानकारी दिए ।


त्यसपछि ०७१, ०७२ र ०७३ सालमा रकम विनियोजन नभएपछि पौडी पोखरी निर्माणको काम अलपत्र परेको थियो । १५ पुस, २०७३ मा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा आयोजना हुने निर्णय भएपछि फेरि पैँसा आउन थालेको थियो । ०७५–७६ मा रु. १८ करोड परेकोमा साढे १४ करोडको टेण्डर परेर काम सकिएको छ । काठमाडौँ पछि नेपालगन्जमा निर्माण भएको पौडी पोखरी दोस्रो सुविधा सम्पन्न भएको प्रदेश ५ खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष ओली बताउँछन् ।


नेपालगन्ज जस्तो गर्मी ठाउँमा स्वीमिङ्ग पुलको अति आवश्यकता रहेको हुनाले सर्व साधारणका लागि र खेलाडी उत्पादनमा पौडी पोखरीले टेवा पुग्ने विश्वास गरिएको छ । नेपालगन्जस्थित पौडी पोखरीमा पौडीका ठूला प्रतियोगिता गराउन सकिने खेलकुद विकास समितिले बताउँदै आएको छ । एक पटकमा साढे तीन सय जनाले पौडी खेल्न सक्ने क्षमता भएको उक्त पौडी पोखरी सर्वसाधारणका लागि खुला गर्ने हो भने प्रचण्ड गर्मी झेलिरहेका नेपालगन्जवासीलाई केहि राहत मिल्नेछ । तत्कालीन प्रदेश ५ खेलकुद विकास समितिले निश्चित मापदण्ड बनाएर पौडी पोखरी सर्वसाधारणका लागि समेत खुला गर्ने भनेपनि अझैसम्म खुला भने गरिएको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया