प्रहरी बन्यो, प्रधानमन्त्री कपको ‘च्याम्पियन’

(तस्विर : बिनोद अग्रहरी)

पूर्व निर्धारित तालिका भन्दा एक दिन अगावै प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बुधवार सकिएको छ । विश्वव्यापी प्रभावको सन्त्रास मच्चाइरहेको कोरोना भाइरसको हल्लाले विदेशी टिमको सहभागिता नभएपछि एक दिन पहिलेनै प्रतियोगिता सकिएको हो ।


बाँके जिल्ला भलिबल संघद्वारा गत आइतबारबाट शुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चार चर्चित टोलीसँगै आयोजकको एक टोली गरी ५ टोलीको सहभागिता रहेको थियो । ‘भारतले अन्तिममा नआउने सूचना दियो,’ कोरोना विरुद्धको सचेतनामा सरकारी अभियानलाई पनि हेक्का राख्दै प्रतियोगितालाई व्यवस्थित गर्दै नयाँ नयाँ अभ्यासबाट पनि अगाडी बढाइयो,’ संघका अध्यक्ष टिएस ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘आगामी वर्ष सातौं संस्करण अभूतपूर्व भव्य हुनेछ ।’


बुधवार भएको प्रधानमन्त्री कपको फाइनल खेलमा प्रतिष्पर्धी एपिएफलाई एकातर्फी दबाब बनाउँदै नेपाल पुलिस क्लब छैठौं संस्करणको ‘च्याम्पियन’ बनेको छ । पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पुलिसले एपिएफमाथि लामो समयपछि सहज जीत निकालेको हो । पुलिसको यो जीतले एफिएफले प्रधानमन्त्री कप उचाल्ने ‘ह्याट्रिक’को चाहना पनि चक्नाचुर पारेको छ । एफिएफले यसअघि एपिएफले पाँचौं र दोस्रो संस्करणमा उपाधि उचालिसकेको छ ।


बुधबार एपिएफ र पुलिसबीचको खेल प्रतिष्पर्धात्मक हुने अनुमान गरिएपनि पुलिसले एकपक्षीय खेल देखाउन सफल देखिएको छ । सुरुवात देखि नै एपिएफविरुद्ध अग्रता लिएको पुलिसले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । १९–१६ को अवस्थामा पुलिसले लगातार ७ अंक जोड्दै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो ।


दोस्रो सेटमा सुरुवातमा पछि परेपनि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । बराबरीकै अवस्थामा पुलिसले १८–१६ को अवस्थाबाट लगातार ६ अंक जोड्दै दोस्रो सेट आफ्नो पक्षमा पारेको हो । प्रतिष्पर्धात्मक तेस्रो सेटमा पनि पुलिसले पछि परेको अवस्था उल्ट्याउदै २५–१८ को जीत निकाल्दै च्याम्पियन बन्न सफल भयो ।


च्याम्पियन बनेको पुलिसले उपाधिसँगै २ लाख रुपैया हात पार्न सफल भएको छ । उपविजेता एपिएफलले १ लाख रुपैया रुपैयामा चित्त बुझाउनु प¥यो । बुधबारै त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । आर्मीले ५० हजार रुपैया प्राप्त गरेको छ ।

प्रधानमन्त्री कपको यो संस्करणमा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी उषा भण्डारी घोषित भएकी छन् । नेपालगन्जस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दा उषाले उच्च प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी घोषित भएसँगै उषाले १० हजार रुपैया र ट्रफी हात पारेकी छिन् । यस्तै व्यक्तिगत विधातर्फ एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुनिएकी छन् ।


पुलिसकी मनिषा चौधरी सर्भर र पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिइन् । आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भइन् । होङ्ग्वान्जी न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिंदा पुलिसका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५–५ हजार रुपैया हात पारे ।


एपिएफकी कप्तान घाइते

नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी घाइते भएकी छिन् । नेपाल पुलिस क्लबविरुद्ध बुधबार छैटौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा विनिता घाइते भएकी थिइन् । खेलको तेस्रो सेटमा पुलिस २२–१४ ले अगाडि रहेको बेलामा उनी घाइते भएकी थिइन् ।

विनिताको दायाँ खुट्टाको कुर्कुच्चा भन्दा केहि माथि मांशपेशीमा चोट लागेको छ । यसअघि चोटकै कारण टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी र नेविका चौधरीले यस नेपालगन्ज आउन सकेनन् । उपविजेतामा सिमित एपिएफले उनीहरु नआउनुको महँगो मुल्य पाएको उनीहरुकै ठम्याइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया