के हुदैछ कोहलपुर क्याम्पसमा ?

क्याम्पस प्रमुखले स्वच्छेचारी काम गरेको भन्दै संघ, संगठनहरुको विरोध

बाँकेको कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा किचलो देखिएको छ । ‘क्याम्पस प्रमुख शिशिर शर्माले स्वेच्छाचारी ढंगले काम गरेको’ भन्दै प्राध्यापकहरुको वैचारिक संगठनहरुले संयुक्त विज्ञप्ति मार्फत असन्तुष्टि सार्वजनिक गरेपछि किचलो सार्वजनिक भएको हो ।
एक महिनादेखि क्याम्पसमा बढ्दै गएको किचलो बुधबार बाहिर आएको छ । ‘पटकपटक हाम्रो प्रयासलाई क्याम्पस प्रमुखले बेवास्ता गर्दा आन्तरिक विषयलाई बाध्य भइयो’, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका क्याम्पस इकाइ अध्यक्ष तोयानाथ पहाडीले दैनिक नेपालगन्जसँग भने, ‘अति भएपछि संगठित विरोध बाध्यात्मक बन्यो ।’


संगठनका अध्यक्ष पहाडीसँगै नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष ललित प्रकाश चन्द, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष टेकेन्द्र कुमार महतरा र प्राध्यापक तथा कर्मचारी हित सरोकार समितिका अध्यक्ष ज्ञानेन्द्र शाहीले संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ‘क्याम्पसको समग्र गतिविधि अस्तव्यस्त देखिएकाले क्याम्पस प्रमुखका यस्ता कार्यशैली सुधार नभए र सरोकारवालासँग छलफल गरी पारदर्शी ढंगले अघि नबढे कडा विरोधमा जाने अवस्था सिर्जना हुनेछ ।’


क्याम्पसका प्राध्यापक राजकुमार चन्दका अनुसार, क्याम्पसमा क्रियाशिल पेशागत संघ, संगठनहरुको उपेक्षा गरी अगाडि बढिरहेको क्याम्पस व्यवस्थापन विषयगत विभागका प्रमुखहरुलाई समेत मनोमानी ढंगले हेरफेर गर्न थालेपछि समस्या बढेको हो । ‘क्याम्पस प्रमुखले आफु अनुकुल गर्न सक्छन्, तर त्यसका लागि पारदर्शी ढंगबाट सम्बद्धहरुसँगको छलफलबाट होस् भन्ने हाम्रो माग हो’, प्राध्यापक चन्दले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेको यही अवस्थाबाट क्याम्पस प्रशासनले आपसी द्वन्द्व र कलह बढाउने गरी अगाडि बढ्दा निकै ठूलो समस्या आउने देखिन्छ ।’


पेशागत संघ, संगठनहरुले क्याम्पसमा हुने विकृति तथा विसंगति, नियम विपरित भैरहेका गतिविधिहरुका बारेमा आवाज उठाउँदै आइरहेको दाबी गर्दै भनेका छन्, ‘यसै सन्दर्भमा २०७६ माघ १० गते क्याम्पस प्रमुख समक्ष बुझाइएको १३ बुंदे मागपत्रको वेवास्ता गरियो ।’ उनीहरुले क्याम्पस प्रमुखले मध्यपश्चिम विश्वविद्यालयका डिन समेतलाई ‘झुक्याएर एक संकायको प्राध्यापकलाई अर्को समितिको शिक्षण संकायको अध्यक्ष सिफारिस तथा नियुक्ती गराएको, प्रकृति नमिल्ने विषयहरु राखी आफुखुशी शिक्षण समितिहरु निर्माण गरेका, विश्वविद्यालयको ऐन, नियमलाई मिचेर अन्तर संकायका विषयहरु राखी समिति बनाएको, वरिष्ठता तथा पूर्व शिक्षण समितिका अध्यक्षहरुको अपमान र मानमर्दन हुनेगरी नियुक्ति गराएको’ आरोप लगाएका छन् । ‘यसरी सिफारिस गरी आएका नियुक्ती पत्र कैयौं दिनदेखि क्याम्पस प्रमुखले गुपचुप राखी वितरण नगरेको र यो सम्पूर्ण प्रक्रिया विधि, विधान विपरित भएको’ उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।


क्याम्पसमा बढ्दो विवादलाई लिएर विवादबारे क्याम्पस प्रमुख शर्माले ‘त्यस्तो कुनै समस्या नभएको’ प्रतिक्रिया दिए । क्याम्पस प्रशासनले विधि विधान भित्रै रहेर आफ्ना काम गरिरहेको दाबी गर्दै क्याम्पस प्रमुख शर्माले दैनिक नेपालगन्जसँग भने, ‘त्यस्तो कुनै समस्या आइहाले आन्तरिक रुपमै बसेर छलफलबाटै समाधान गर्न सकिने छ ।’

प्रतिक्रिया

प्रतिक्रिया