नेपालगन्जमा क्यान इन्फोटेक सुरु

नेपालगन्जमा मंगलबारबाट सूचना प्रविधि महोत्सवका रुपमा क्यान इन्फोटेक सुरु भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ बाँकेले पाँच दिनसम्म सञ्चालन गर्ने इन्फोटेक मंगलबार औपचारिक कार्यक्रम बीच प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले समुद्घाटन गरेका हुन् ।

सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सरकारको लक्ष्यमा क्यानले सक्रिय भूमिका निभाउँदै आएको बताए । उनले डिजिटल नेपाल निर्माणमा क्यान महासंघले सक्रियतापूर्वक लागेको बताउँदै भने, ‘सरकारले डिजिटल नेपाल बनाउने भनेको छ, हामी त्यसका सारथी बनेका छौं ।’

महासंघका अध्यक्ष रमणिप्रसाद शर्माले विश्वमा सूचना तथा सञ्चार क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको जानकारी नजिकैबाट गराउने उद्देश्यले इन्फोटेकको आयोजना गरिएको बताएका छन् । ‘सचेतनासँगै सहुलियत दरमा खरिद, बिक्रीको सुविधा पनि इन्फोटेकमा उपलब्ध छ’, ९० वटा स्टल सहितको मुख्य प्रदर्शनी हल निर्माण गरिएको जानकारी दिंदै अध्यक्ष शर्माले भने, ‘स्थानीय स्तरमै विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हार्डवेयर र सफ्टवेयर सम्बन्धी स्टलहरु पनि राखिएका छन् ।’

सशुल्क प्रवेश व्यवस्था मिलाइएको इन्फोटेकमा विद्यार्थीहरुलाई विशेष फोकस गरिएको छ । ‘३० रुपैयाँको खुला टिकट, २० रुपैयाँको विद्यार्थी टिकटलाई अनलाइन मार्फत गरिद गर्नेहरुका लागि ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ’, आयोजकले आफै पनि प्रविधिको प्रयोगमा जोड दिएको संकेत गर्दै अध्यक्ष शर्माले विगतको भन्दा परिष्कृत ढंगबाट इन्फोटेकलाई भव्यता दिन खोजिएको जानकारी दिए ।

विशेष कम्प्युटर, मोबाइल तथा सूचना प्रविधिको बृहत प्रदर्शनीमा अनलाइन सपिङ्गदेखि अनलाइन अर्निङ्गसम्मका आइटी सचेतना, अनलाइन बिलिङ्ग लगायतका विषयमा दैनिकजसो प्रदर्शनी गरिने आयोजकको भनाइ छ । ‘रोबटिक फाइट प्रतिस्पर्धा समेत गराइँदैछ’, विभिन्न प्रतिस्पर्धात्मक प्रविधिको प्रयोग हुने इन्फोटेकको समुद्घाटनमै ड्रोनबाट पुष्प बर्षाको नयाँ प्रयोग गर्न लागिएको क्यान बाँकेका पूर्व अध्यक्ष सञ्जय थापाले जानकारी दिए ।

निकै महंगा प्रविधिलाई प्रतिस्पर्धात्मक रुपमा सहुलियत ढंगले उपलब्ध गराइने इन्फोटेकमा स्वदेशी ब्राण्डलाई प्रदर्शनीका लागि प्राथमिकतामा राखिएको क्यान महासंघ बाँकेका सचिव दिपक खड्काले जानकारी दिए ।

क्यान इन्फोटेकका प्रचार संयोजक शरद रिजालका अनुसार, इन्फोटेकमा सहभागिताका लागि विशिष्ट अतिथिका रुपमा क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुंवर, पूर्व अध्यक्षहरु, विभिन्न कम्पनीका राष्ट्रिय प्रतिनिधि लगायतको सहभागिता हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया