राप्तीबाट आउँदै नेपालगन्जका लागि खानेपानी, चार किलोमिटर पाइप विछ्याइयो

नेपालगन्जमा खानेपानीका भूमिगत जलस्रोतको प्रयोग हुँदै आएको छ । खानेपानी संस्थान होस् वा व्यक्तिका घर वा व्यवसाय पानीका लागि भूमिगत स्रोतकै प्रयोग हुँदै आएको छ । हाते पम्प, ट्युववेल, डिप बोरिङ्ग लगायतका माध्यमबाट उपलब्ध खानेपानी नेपालगन्जमा उपलब्ध छ । त्यसैले नेपाल खानेपानी संस्थानले नेपालगन्ज उपमहानगरपालिकाको खानेपानीको आपूर्तिका लागि दीर्घकालीन योजना बनाएर राप्तीनदीबाट पानी ल्याउने योजनामा काम गरिरहेको छ ।


राप्तीको पानी ल्याउन खानेपानी संस्थानले झण्डै २५ करोड लगानी गरेको छ । त्यसका लागि पाइप यसअघि नै ल्याइसकिएको छ । राप्ती किनारमा इन्टेक बनाएर नेपालगन्जसम्म पानी ल्याउने संस्थानको योजना अनुसार काम सुरु भैसकेको खानेपानी संस्थान नेपालगन्जका प्रमुख मोहन दत्त भट्टले जानकारी दिएका छन् । उनका अनुसार, राप्तीनदीदेखि नेपालगन्जसम्म झण्डै १७ किलोमिटर पाइप विछ्याइने छ । ‘त्यसका लागि फिल्डमा काम सुरु भैसकेको छ’, उनले भने, ‘४ किलोमिटर पाइप विछ्याउने काम भैसकेको छ ।’


योजना सकिएपछि हाल निश्चित समयमा ३५/४० लाख लिटर पानी वितरण गर्देै आएको खानेपानीले दैनिक ढाई करोड लिटरसम्म पानी वितरण गर्न सक्छ । ‘दशकौंका लागि खानेपानी उपलब्ध गराउने दीर्घकालीन योजना हो’, संस्थानका नेपालगन्ज प्रमुख भट्टले भने ।


चालु आ.व.को अन्त्यसम्म पानी नेपालगन्जसम्म ल्याउने योजना भएपनि विभिन्न कारणले ढिलाइ हुनसक्ने संस्थानका नेपालगन्ज प्रमुख भट्ट बताउँछन् । ‘पाइप विछ्याउने भनिएको ठाउँमा सडक कालोपत्रे भएको छ’, उनले भने, ‘झण्डै ५ किलोमिटर क्षेत्र पिच भैसकेकाले पुनः खनेर पाइप विछ्याउँदा लक्ष्य गरे भन्दा बढी समय लाग्न सक्छ ।’ काम गर्दा देखिएका बाधा सुल्झाउन सरोकारवालासँग छलफल पनि अगाडि बढाएको भट्टले बताए । ‘कतिपय ठाउँमा सडक, नाला र घर बनेका ठाउँमा पाइप विछ्याउनु पर्ने अवस्था छ’, उनले भने ।


राप्तीनदीबाट पानी नेपालगन्जसम्म २० इन्च पाइपबाट झण्डै १७ किलोमिटर राप्तीपथ हुँदै खानेपानी मेन लाइन बिस्तार गर्ने योजना रहेको छ । राप्तीनदीबाट ल्याइने पानी नेपालगन्जमा रहेका खानेपानीका ट्यांकीमा पुर्याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ संस्थानका नेपालगन्ज प्रमुख भट्टले जानकारी दिएका छन् । आयोजना सकिंदा संस्थानको कारकाँदो र घरबारीटोलमा रहेको ट्यांकीसम्म राप्तीको पानी पुर्याइने छ ।


प्रमुख भट्टले राप्तीको पानी पिउन योग्य बनाउनका लागि शुद्धिकरणका लागि राप्ती नदी वा नेपालगन्जमै त्यसखालको संरचना निर्माण पनि आवश्यक रहेको बताएका छन् । शुद्धिकरणबाट इन्टेकमार्फत पानी ल्याउने योजना भएपनि त्यसरी शुद्ध खानेपानी सम्भव नभए ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गर्ने संस्थानको योजना रहेको छ । संस्थानका नेपालगन्ज प्रमुख भट्टले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १८ र १९ मा पनि खानेपानी आपूर्तिको योजना अघि बढेको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया