उत्सवमय महानगर

नेपालगन्जको भविष्य के हो ? प्रादेशिक संरचनापछि धेरैले चिन्ता गर्दैछन्, नेपालगन्ज पछाडी पर्दैछ । ‘नकारात्मक चर्चामा चिन्ता गरिरहने की हल्ला चिरेर नेपालगन्जलाई अगाडी बढाउने ?’ राजनीतिक रुपमा जे जस्ता हल्ला गरिएपनि आर्थिक रुपमा नेपालगन्जलाई उत्सवमय बनाइँदैछ ।


पर्सि विहीवारदेखि नेपालगन्जमा नेपालमै उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरि प्रदेश स्तरीय शैक्षिक मेला आयोजना हुँदै छ । शुक्रवार १ सय ५० करोड लागतमा तयार भएको भाटभटेनीको शुभारम्भ । ‘बाँके बर्दियाका ६५ हजार नागरिकका घरदैलोमा निमन्त्रणा पठाएका छौं,’ बुटवल पश्चिमको पहिलो सुपर मार्केट प्रसिद्ध कम्पनि भाटभटेनीको व्यवस्थापन स्रोत भन्छ, ‘ओपेनिङ अफर भएकाले बाँके, बर्दिया, सुर्खेत, दाङ लगायतका जिल्ला र भारतीय क्षेत्रबाट पनि सहुलियतको खरिददारीका लागि सेवाग्राही आउने विश्वास गरिएको छ ।’


विहीवार फाल्गुन १५ र १६ मा ‘स्वदेशी शिक्षा सबैको इच्छा ‘ भन्ने मुल नारा बोकेर नेपालगन्जमा प्रदेश स्तरीय शैक्षिक मेलाको आयोजना गर्न लागिएको प्रादेशिक मेला कोर्डिनेटर भरतसिंह बिष्टले दैनिक नेपालगन्जसँग भने, ‘यस आयोजनाले नेपालगन्ज शैक्षिक हबका रुपमा विकास गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश पनि प्रवाह गर्नेछ ।’ विष्टकै पहल र प्रयासमा गत वर्षपनि यसै खालको शैक्षिक मेला नेपालगन्जमा आयोजना गरिएको थियो ।


प्लस टु पास गरेर ब्याचलर्स पढ्ने तयारी गरिरहेका र ब्याचलर्स सकेर मास्टर्सको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि मेलाको आयोजना गर्न लागिएको जानकारी दिंदै मेलाका प्रदेश कोअर्डिनेटर विष्टले भने, ‘मेलाको मुख्य उद्देश्य भनेको उच्च शिक्षाको लागि बिदेश जानु पर्दैन भन्ने सन्देश प्रवाह गर्नुनै हो ।’ त्रिभुवन विश्वविद्यालय, काठमाडौं, पोखरा र पुर्वाञ्चल बिश्वबिद्यालयसँगै सुदुर पश्चिमाञ्चल विश्वविद्यालय र त्यस अन्तर्गतका कलेजहरुको सहभागिता रहने शैक्षिक मेलामा नेपालगन्जका ब्राइटल्याण्ड कलेज, महेन्द्र बहुमुखी क्याम्पस , अल्पाइन कलेजको स्टल राखिंदैछ ।


यसैसाता अन्तर्राष्ट्रियस्तरको प्रधानमन्त्री कप महिला भलिवलको आयोजना गरिंदैछ । ‘देश विदेशका तमाम खेलाडी, अफिसियल र गाउँसहरका दर्शकहरुले प्रधानमन्त्री कपले नेपालगन्जलाई खेलकुदमय बनाउने छ,’ नेपालगन्जमा फागुन १८ गतेदेखि आयोजना गरिने प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करणको तयारीमा काठमाडौं पुगेका संघका केन्द्रीय सचिव भीम ओलीले भने । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्डहलमा फागुन २२ गतेसम्म चल्नेछ । ‘हामी आर्थिक स्रोत व्यवस्थापनका लागि राजधानीमा सक्रिय छौं,’ प्रतियोगिता आयोजक मूल समितिका संयोजक, प्रदेश सभा सदस्य कृष्णा केसीले दैनिक नेपालगन्जसँग भनिन्, ‘खेलकुद मन्त्रीदेखि विभिन्न सरकारी गैरसरकारी निकायसँग भेटघाट गरिरहेका छौं ।’

https://www.youtube.com/watch?v=qaEiaM0D2K8


भलिबल संघले प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबहरुलाई आमन्त्रण गरिएको जानकारी दिएपनि विश्वव्यापी आतंकको छाया बनिरहेको महामारी कोरोना भाइरसका कारण यसपाली विदेशी टिम आउने सम्भावना कम छ । ‘अहिले सम्म नेपाली र भारतीय टिमहरुको कन्फर्मेशन आइसकेको छ,’ इभेन्ट डाइरेक्टर, बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले भने,’ यसअघिका भन्दा इभेन्टलाई भव्यता दिन हरसम्भव प्रयास गरिएको छ ।’ प्रतियोगितामा प्रथम हुने रु.२ लाख, उपविजेताले रु. १ लाख र तृतीय हुनेले रु.५० हजार नगद पाउनेछन् ।

‘प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर १ प्रतियोगिताका रुपमा स्थापित गराउने योजना अनुरुप अगाडी बढिएको छ,’ यस बर्षदेखि समाजका प्रतिष्ठित व्यक्तिहरुलाई मूल आयोजक समितिमा राखिएको जानकारी दिंदै बाँके जिल्ला भलिबल संघका अध्यक्ष ठकुरीले दैनिक नेपालगन्जसँग भने । ३० लाख खर्च हुने अनुमान प्रतियोगिताका लागि संयोजक केसी सहितको टोली प्रदेश सरकारदेखि केन्द्र सरकारको सहयोग जुटाउन केन्द्रीत छ । ‘यो प्रतियोगिताले नेपालगन्जलाई ब्राण्डिङ गर्छ, देश विदेशमा चिनाउँछ,’ केही भएन भनेर रोइरहनु भन्दा आ–आफ्नो ठाउँबाट केही गर्न प्रयासरत रहनुपर्नेमा जोड दिंदै हालैमात्र नेपालगन्ज म्याराथनको सफलतापूर्वक आयोजना गरेका ठकुरी भन्छन्, ‘नेपालगन्जलाई इभेन्टहरुले जीवन्त शहरका रुपमा विकसित गर्छ ।’


यसैसाता नेपालगन्जमा क्यान इन्फोटेक मेलाको तयारी तिव्ररुपमा भइरहेको छ । क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म आयोजना भइरहेको इन्फोटेकमा पहिलो पटक रोबटिक फाइट सहितका तमाम प्रविधि भित्र्याइएको छ । क्यान इन्फोटेकको चौथो संस्करणको तयारीमा सक्रिय क्यान महासंघ बाँकेका अध्यक्ष रमणी प्रसाद शर्मा भन्छन्, ‘ विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा नेपालगन्जमै जानकारी प्रदान गरिने भएकाले यो विशेष हुनेछ ।’


हुनपनि पछिल्लो पुस्ता प्रविधिसँग धेरै नजिक छन् । उनीहरुलाई पछिल्लो समय बजारमा आएका नयाँ टेक्नोलोजीका बारेमा धेरैलाई ज्ञान लिन क्यान इन्फोटेकको चौथो संस्करणमा निकै सहयोगी हुन सक्छ । ९४ वटा प्रदर्शनी स्टलमा राखिने हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्सका सेवा सुविधाले ५० हजार बढी दर्शक तान्ने अध्यक्ष शर्माको अनुमान छ ।


ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयरसँग सम्बन्धित सामाग्रीहरुका स्टल रहने इन्फोटेकलाई बिगतको भन्दा परिष्कृत गरिएको आयोजकको भनाइ छ ।


पाँच दिनसम्म करोडबढीको कारोबार र ५० हजारबढी दर्शक ल्याउने अपेक्षा गरिएको क्यान इन्फोटेकमा अवलोकन र खरिददारीका लागि बाँकेसँगै बर्दिया, सुर्खेत, दाङलगायतका छिमेकी जिल्लाहरुबाट पनि ‘आइटी फ्यान’हरु आइपुग्नेमा क्यान महासंघका अध्यक्ष शर्मा ढुक्क छन् । ‘प्रतिष्पर्धात्मक किनमेल हुने भएकाले सहुलियतमा र नयाँ नयाँ प्रविधि सोझौ कम्पनिबाट स्टल राखिने भएकाले यो ठुलो अवसर हुनेछ,’ शर्माले फागुन २० देखि २४ सम्म नेपालगन्ज सूचना प्रविधिमय हुने विश्वास व्यक्त गरे ।

यसैसाता ‘नेपालगन्ज महोत्सव’ गरिंदैछ । एउटा निजी कम्पनिले ‘समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार’ भन्ने मुल नारा सहित यहि फागुन २१ गतेदेखि चैत २ गतेसम्म महोत्सवको आयोजना गर्न लागेका ेहो । महोत्सवलाई भव्यता दिन नेपालगन्ज कोहलपुर सडक खण्डको विभिन्न स्थानमा गेट लगाउने, स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको काम गरिरहेको देख्न सकिन्छ ।


एजी सर्भिस प्रा.लि. आयोजना गर्न लागेको नेपालगन्ज महोत्सवको यो दोस्रो संस्करण हो । ‘यो नेपालगन्जका लागि उत्सवमय समय हो,’ आयोजक कम्पनि एजी सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले कलाकार सहितको नेपालगन्ज महोत्सवमा भारतीय दर्शक पनि आउने विश्वास गरिएको दावी गर्दै दैनिक नेपालगन्जसँग भने, बाँके, बर्दियालगायतका छिमेकी जिल्लाबाट २ लाख बढी दर्शक नेपालगन्ज ल्याउने लक्ष छ ।’ महोत्सवमा रेखा थापादेखि अन्जली अधिकारी सम्मका कलाकार आउदैछन् । कमला घिमिरे,भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी,गोपाल नेपाल जिएम समेतका प्रस्तुति राखिएको आयोजकको भनाइ छ । टीका सानु, सिर्जु अधिकारी,जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत, चक्र बम, लिला वलीलगायतका कलाकारहरु आउने दावी आयोजकको छ । ‘३ करोड बढीको कारोबार हुने अनुमान छ,’ महोत्सव मार्फत पर्यटन वर्ष २०२० लाई सफल बनाउने गरि स्वदेशी उत्पादलाई प्राथमिकतामा राखेर ३ सय बढी स्टल राखिएको जानकारी दिंदै अध्यक्ष बुढाले भने, ‘नाफाबाट संस्कृतिको जगेर्नासँगै कृषि उद्यमको प्रोत्साहनमा लगानी गरिनेछ ।’


त्यसैबीच बाँकेको नेपालगन्जमा अर्काे मौलिक उत्सव आयोजना गर्दैछ, होटल व्यवसायी संघ बाँके नेपालगन्जले । फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव २०७६ ले नेपालगन्जको खानालाई नेपालमंै चिनाउने विश्वास आयोजकको छ । महोत्सवका प्रचारप्रसार संयोजक समेत रहेका होटल व्यवसायी संघका प्रवक्ता डिलाराम पौडेलले मौलिक खानाहरुको स्टल राखि बजारीकरण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर खाना महोत्सव गर्न लागिएको बताएका छन् ।


नेपालगन्जका तारे होटल समेतलाई साथमा लिएर संघले खाना महोत्सव गर्न लागेको आयोजक मूल समितिका संयोजक भिमलाल कंडेलको भनाइ छ । नेपालगन्ज पहिलो पटक गर्न लागिएको सडक खाना महोत्सवमा ५० हजार स्वादका पारखीले अवलोकन गर्न अनुमान आयोजकको छ ।
अध्यक्ष कंडेलका अनुसार, सुर्खेतरोड धम्वोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भागमा भब्य लाइट, टेन्ट सहितको व्यवस्थापनमा आयोजना गरिने महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढि स्टल समावेश गरिने छ । ‘सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाइने यस फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ,’ कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘सडकमै बसेर साँगीतिक आनन्दसँगै तारे होटलको स्वाद सहुलियतमा खान पाइनेछ ।’ उनले छिमेकी देश भारतबाट समेत पर्यटक सहभागी हुने फुडफेस्टिभलमा रु २ करोड बढिको कारोबार हुने लक्ष्य राखिएको बताए ।

खानाको पारखी मात्र नभई भिजिट नेपाल बर्ष २०२० लाई मुलरुपमा अंगिकार गरि यसलाई सफल पार्ने र स्वरोजगारिताको विकास गरि देशको आर्थिक विकासमा योगदान गर्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया