स्वस्थ्य र फिट हुनका लागि महिलाहरु पनि व्यायाम गर्न फिटनेश केन्द्रमा पुग्ने गरेका छन्
पछिल्लो समय शारीरिक फिटनेशनका लागि पुरुष मात्रै नभएर महिलाहरु पनि व्यायामका लागि फिटनेश केन्द्र पुग्न थालेका छन् । बाँकेमा केही बर्ष अघिसम्म पुरुषहरुका लागि फिटनेश केन्द्र रहेपनि महिलाहरुका लागि भने थिएन । पछिल्लो समय बाँकेमा सञ्चालित आधुनिक फिटनेश केन्द्रहरुमा महिलाहरुलाई पनि व्यायाम गर्ने व्यवस्था गरिएपछि आकर्षण बढ्दो रुपमा पाइन्छ । स्वास्थ्यका साथै आकर्षक शरीर बनाउनका लागि फिटनेश केन्द्रमा जानेहरुको संख्या बढ्दै गएको बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेश संघका अध्यक्ष मनोज कुमार श्रेष्ठ बताउँछन् ।
बाँकेमा हाल १३ वटा फिटनेश केन्द्रहरु सञ्चालनमा रहेका छन् । जसमा आधा बढी नेपालगन्जमै स्थापना भएका छन् । आधा दर्जन फिटनेश क्लबहरुले महिलाहरुका लागि पनि व्यायाम गर्ने व्यवस्था मिलाएको छ । जसले गर्दा महिलाहरुलाई व्यायाम गर्न सहज भएको छ । बाँकेमा रहेका क्लबहरुमा दैनिक २ हजार जनाले व्यायाम गर्ने गरेको अनुमान संघका अध्यक्ष श्रेष्ठको रहेको छ । जसमध्ये ४ सय जति महिला गरेको उनी बताउँछन् ।
बाँकेमा १५ लाख देखि करोड बढी लगानीमा फिटनेश केन्द्रहरु सञ्चालनमा रहेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । ‘व्यायामका लागि नेपालगन्जमा स्थापित आधुनिक फिटनेश केन्द्रहरुमा प्रशिक्षक समेतको व्यवस्था गरिएको छ । जसमा नियमित रुपमा व्यायाम गर्नेलाई प्रशिक्षण सञ्चालन हुने गरेको छ । उद्यमी महिला रचना श्रेष्ठ व्यायामका लागि फिटनेश केन्द्र जाने महिलाहरुको संख्या दैनिकजसो थपिइरहेको बताउँछिन् । ‘स्वास्थ्यका लागि व्यायाम आवश्यक छ’, उनी भन्छिन्, ‘आधुनिक फिटनेश केन्द्रले महिलाहरुलाई सुरक्षित वातावरणमा व्यायामको व्यवस्था मिलाएपछि आकर्षण बढेको हो ।’
बेनी फिटनेश केन्द्रकी सञ्चालक बिनी टण्डनले उनको फिटनेश केन्द्रमा व्यायामका लागि आउने महिला, पुरुषको संख्या बराबरी नै रहेको बताउँछिन् । नेपालगन्जमा केही बर्षभित्रै महिलाहरुको शारीरिक सुंगठन प्रतियोगिताको सम्भावना रहेको समेत उनले औंल्याइन् । ‘फिटनेश केन्द्रमा महिला व्यायाम गर्ने महिलाहरुको संख्या बढिरहेकाले निकट भविष्यमा महिलाहरुको समेत शारीरिक सुगठन प्रतियोगिता नेपालगन्जमा आयोजना गर्न सकिन्छ’, उनी भन्छिन् ।