कोहलपुरमा १२ किलो चरेश बरामद

बाँकेको कोहलपुरमा प्रहरीले बिहीबार ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले चरेश कारोबारलाई ‘ट्रयाप’मा पारेको हो । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिएका छन् ।


प्रहरी स्रोतले लामो समयदेखि चरेशको कारोबार गर्दै आएका कोहलपुर–१२ का ३२ बर्षीय आकाश आरसीलाई ग्राहक बनेर पक्राउ गर्न सफल भएको बताएको छ । ‘लागुऔषध कारोबारी खोजीका क्रममा सूचना संकलन गरिरहेका बेला आरसीले चरेश कारोबार गरिरहेको पत्ता लागेको थियो’, प्रहरी अधिकारीले भने, ‘उनलाई रंगेहात पक्राउ गर्न हामी योजनाबद्ध अघि बढेका थियौं ।’


ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेशसहित पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । ‘आरसीलाई नियन्त्रणमा राखेर चरेश कारोबारीको च्यानलबारे अनुसन्धान गरिरहेका छौं’, इप्रका कोहलपुरका प्रमुख चन्दले भने ।

प्रतिक्रिया

प्रतिक्रिया