हात्तीपाइले विरुद्धको औषधीबारे प्रदेशसभामा चर्चा

प्रदेश नं– ५ को प्रदेशसभाका सदस्यहरुले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य विजयकुमार यादवले बाँकेको डुँडुवा गाउँपालिकाको २ मा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाउनुभयो ।

हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङलगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो । ती औषधिमध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको हो । बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गर्नुभयो ।

बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले प्रदेशमा बनाइने योजना, भइरहेका गतिविधि र विकास निर्माणका कामबारे सदस्यहरुलाई जानकारी हुन आवश्यक रहेको भन्दै जनप्रतिनिधिको सहभागितामा योजना बनाउँदा प्रभावकारी हुने धारणा राख्नुभयो । प्रदेशसभाका सदस्य विष्णुप्रसाद पन्थीले लगानी सम्मेलन सफल बनाउन लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभयो ।

लगानी सम्मेलनले लगानी भित्र्याउने र रोजगारी सिर्जना गरी उत्पादन बढाउने काम हुनुपर्ने उहाँको भनाइ थियो । अर्का सदस्य अष्टभुजा पाठकले प्रदेशको नामाकरण र राजधानी तोक्न अब ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।
–––

‘औषधी बारे भ्रम फैलाइयो’

बाँके डुडुवा गाउँपालिकामा हात्तीपाइले रोगविरुद्ध म्याद गुज्रिएको औषधी वितरण गरेको सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


डुडुवाको बेतहनी स्वास्थ्य चौकी अन्र्तगत वार्ड नंं २ का स्थानीय अज्ञाराम लोनियाको घरमा हेटराजन १०० एमजी नामक औषधीको म्याद गत २०१९ मा समाप्त भएको मितिको ट्याबलेटको पत्ता सामाजिक सञ्जालमा राखेर अरुलाई भ्रममा पार्नका लागि सुनियोजित ढङ्गले गाउँपालिकालाई बदनाम गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले जानकारी दिएका छन् ।


म्याद नाघेका कुनै पनि औषधी गाउँपालिका अन्र्तगत कुनै स्वास्थ्य चौकीमा नरहेको मौजदात खातामा देखिएको र त्यस्तो औषधी कसैलाई पनि वितरण नगरेको र पुरानो मौज्दात खातामा म्याद गुजे्रको औषधी नभएको स्वास्थ्य शाखाले जनाएको छ ।


सामाजिक संञ्जालमा यसरी समाचार आएपछि शाखा संयोजकको स्वास्थ्य टोलीले बेतहनी स्वास्थ्य चौकीमा अनुगमन गर्दा म्याद गुज्रेको कुनै पनि औषधी नभेटिएको भन्दै बुढाले उक्त घटनालाई खण्डन गर्दै अन्यत्र कतैबाट औषधी ल्याएर गाउँपालिकालाई नै बदनाम गर्ने कार्य भएको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया