सुब्बा निमित्त प्रमुख, सेवा प्रभावित
भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा दैनिक सयौं सेवाग्राहीको लाम देखिन्छ । उस्तै त मालपोतमा सेवा सुस्त हुने गरेको सेवाग्राहीको गुनासो रहने गरेको छ । ‘भोलि र पर्सीको भाखाले हप्तौंसम्म काम रोकिइन्छ’, मंगलबार कार्यालयमा भेटिएका एक सेवाग्राहीले भने, ‘आउँदा, जाँदा अनावश्यक खर्च ब्यहोर्नु परिरहेको छ ।’ मालपोतका कर्मचारी भने प्रक्रिया र कागजात अपुग हुँदा ढिलाई भएपनि सकेसम्म काम नरोक्ने गरेको दाबी गर्छन् ।
संघीयता पछि मालपोत र भूमिसुधार कार्यालय गाभिएको छ । दुवैमा गरी पाँच अधिकृत सहित ५१ कर्मचारीको दरबन्दी रहेको छ । पाँच अधिकृत रहने मालपोत कार्यालय अहिले अधिकृत विहीन बन्दा धेरै कामहरु रोकिएका छन् । यसअघि दुई अधिकृत कार्यरत रहेपनि उनीहरुको उपसचिवमा बढुवा भएसँगै काठमाडौं लागेका छन् । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्याल सुब्बालाई निमित्त दिएर हाल काठमाडौंमा रहेका छन् । उनले फागुन २० पछि नै नेपालगन्ज फर्कने बताएका छन् ।
मालपोतका प्रशासन फाँटका कर्मचारी भरत बहादुर नेपालीले सेवाग्राहीलाई सकेसम्म सहज तरिकाले सेवा दिइरहेको बताएका छन् । ‘अधिकृतले नै गर्नुपर्ने बाहेकका सबै सबै सेवामा बाधा पुगेको छैन’, उनले भने ।
कतिपय न्यायिक निर्णयका लागि कार्यालय प्रमुख र अधिकृतको आवश्यकता पर्छ । गत आइतबारदेखि अधिकृत विहीन भएपछि मालपोतमा त्यसखालका निर्णय हुन सकेका छैनन् । ‘कतिपय निर्णयको अधिकार प्रत्यायोजन गर्न मिल्दैन’, मालपोतका एक कर्मचारीले भने, ‘त्यसले सेवाग्राहीले कुर्नपर्ने अवस्था छ ।’