टीएस ठकुरी
मैले कतै पढेको छु–‘जबसम्म धेरै पढेर राम्रो जागिर खाने सोंच मात्र रहिरहन्छ, तबसम्म समाजमा नोकर मात्रै जन्मिनेछन् । मालिक त तब जन्मन्छन्, जब हरेक समस्याबाट मानिसले एउटा नयाँ अवसरको सिर्जना गर्न थाल्छ ।’ यसको अर्थ जागिरे जति सबै नोकर भन्ने हैन, समस्याका माझ नयाँ अवसर सिर्जना गर्न सक्ने सबैलाई मालिक भन्न सकिएला । तर परनिर्भर प्राणीलाई भने नोकरकै दर्जा मिल्ने पक्का हो ।
युवा उद्यमी डा. ओमप्रकाश मिश्रसँग जब मेरो भेट हुन्छ, केही नयाँ र सिर्जनशील बिषयमै हाम्रो छलफल केन्द्रित हुन्छ । बिशेषगरी नेपालगन्जको समृद्धि र ब्रान्डिङका सवालमा हाम्रो विहंगम छलफल हुनेगर्दछ । उनको सोंच, आत्मविश्वास र सिर्जनशीलता साँच्चिकै लोभलाग्दो छ ।
डा. मिश्र निकै अध्ययनशील छन् । औपचारिक शिक्षा एमबीबीएस हो । अनौपचारिक अध्ययन कति हो कति छ । खोज अनुसन्धानमा बिशेष रुची छ । गुगलको जमानामा नेपालगन्जमा बसेर संसार नियालिरहेका छन् । बिश्व बजारको अध्ययन गरिरहेका छन् । नेपालगन्जलाई बिश्व बजारसँग जोड्ने योजना बुनिरहेका छन् । आजको समयमा उद्यमी बन्नका लागि पुँजीभन्दा पनि नयाँ सोचको खाँचो छ । सिर्जनात्मकताको खाँचो छ । नेपाल जस्तो उर्वर भुमिमा त झनै उद्यमको ज्यादै सम्भावना रहेको छ । नेपाल भुपरिवेष्टित राष्ट्र भएपनि इन्टरनेटको आगमनले विश्व सबैका लागि खुला छ । त्यसको भरपुर सदुपयोग डा. मिश्रले नेपालगन्जमै बसेर गरिरहेका छन् ।
अमेरिकन पुर्व राष्ट्रपति बाराक ओबामाले भनेका थिए –‘खोजलाई जारी राख । सपना देख्दै गर । प्रश्न सोध्दै गर । जे जानेका छौ त्यसैमा चित्त बुझाएर नबस । संसार परिवर्तनको निम्ति तिम्रो विचार गर, तिम्रो कल्पना अनि तिम्रो कडा मेहेनतको शक्तिमाथि विश्वास गर्दै अघि बढ ।’
वास्तवमा आजको युग अवसर खोज्ने होइन, अवसर सिर्जना गर्ने युग हो । इन्टरनेटको युग हो । हरेकको हात हातमा मोबाइल र कम्प्युटर भएको युग हो । विश्वको हरेक कुना कुनामा इन्टरनेट पुगेको युग हो । फेसबुक र इन्स्टाग्राम जस्ता साइटहरुमा समय व्यतित गर्ने ठुलो युवा पंक्ति पनि यहीं छन् जो हरेक समय सरकारले रोजगारी दिएन भनेर गुनासो गर्छन् । आज विज्ञानले हरेकलाई उत्तिकै अवसर दिएको छ चाहे त्यो व्यक्ति विकासोन्मुख मुलुकको होस् या विकसित देशको । कृतिम चतुरताको बढ्दो विकास र लोकप्रियता देख्दा लाग्छ, अबको तीस बर्षभित्र कुनै पनि काम मानिसले गर्नुपर्ने छैन । सम्पुर्ण परिश्रम रोबोटहरु र अन्य उपकरणहरुले गर्नेछन् । त्यस युगमा मानिसको शारीरिक परिश्रमभन्दा पनि विचारको प्रतिस्पर्धा हुनेछ । त्यस युगमा सर्टिफिकेटका अंकभन्दा पनि सिर्जनात्मकतालाई ज्यादा महत्व दिइनेछ ।
डा. मिश्रले पनि सर्टिफिकेट भन्दा सिर्जनात्मकतालाई अहिले नै प्राथमिकीकरण गरिदिए । औपचारिक शिक्षाको सर्टिफिकेट दराजमा थन्काइदिए । उनी पेशाले चिकित्सक पो हुन् । कुनै अस्पताल वा क्लिनिकमा बिरामीको चेकजाँचमा व्यस्त रहनुपर्ने व्यक्ति आज पर्यटनको सम्भावनालाई उजागर गर्न लागिपरेका छन् । त्यसमा पनि सिमावर्ती सहर नेपालगन्जको पर्यटन प्रवद्र्धनमा । नेपालगन्ज त्यसैपनि निरश ठाउँ हो पर्यटकीय दृष्टिकोणले । किनकी समग्र देशको पर्यटन प्रवद्र्धनको जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्डको प्राथमिकतामा नेपालगन्ज छैन । हुनत देशको नामबाट बनेको सहर संसारमै सम्भवत ः नेपालगन्ज मात्र हो कि? बुहजातीय, बहुधार्मिक र बहुसाम्प्रदायिक भएर पनि एकतामा गाँसिएर बसेको सहर पनि हो । आपसी मिलाप नै यहाँको सुन्दर पक्ष हो । व्यापार व्यवासायका लागि शान्त ठाउँ हो । विभेदरहित सहर हो । प्रदेश नं ५, ६ र ७ का मानिसहरु बसोबास गर्ने सहर हो । यद्यपी कसैप्रति रिसराग छैन् । सबै मिलेर बसेका छन् । तैपनि केही समस्या अवश्य छन् । यसमै यिनले सम्भावना खोजिरहेका छन् । एकहिसाबले यिनी नेपालगन्जको समग्र समृद्धिका अभियन्ता हुन् ।
महानगर गाथा यी र यस्तै उद्यमशीलतामा समर्पितहरुको कथा हो । कर्मशीलहरुको संघर्ष, सफलता र उत्प्रेरणालाई लिपिवद्ध गर्ने सानो प्रयास हो महानगर गाथा । यसै सिलसिलामा हामीले सुर्खेतरोडस्थित एस क्याफेमा भेट्ने तय गरेका थियौं । निर्धारित समयमै क्याफे पुगिसकेका डा. मिश्रले एक कप कफी रित्याइसकेका थिए । पर्यटन र नेपालगन्जको समृद्धिका सवालमा उनको अभिरुची र अध्ययन मेरालागि पनि केही सिक्ने अवसर बनिरहन्छ । त्यसैले बेला बेला उनीसँग भेट्ने वातावरण बन्छ । यसपटक मैले यिनीसँग अनौपचारिक भेटमा औपचारिक कुराकानी गर्ने सोंच बनाइसकेको थिएँ ।
प्रादेशिक राजधानी अन्यत्र गएपछि कतिपय मानिस निरश छन् । नेपालगन्जको व्यापार खस्कदो रहेको भनेर चिन्ता मात्र प्रकट गरिरहेका भेटिन्छन् । यस्तै बेलामा करोडौं लगानी गरेर नेपालगन्ज जस्तो ठाउँमा पर्यटक भित्राउने सपना देख्नु सायद चानचुने हैन ।
बिश्व चर्चित कम्पनी अलिबाबाका संस्थापक ज्याक मा भन्छन् –‘जब तपाईंले प्रयास नै गर्नुभएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा?’
नाडी छामेर पैसो लिने सजिलो पेशा छाडेर डा. मिश्र पर्यटनको अवसरलाई नियाल्न खोज्दैछन् । ज्याकमाले भनेझैं प्रयास नगरी अवसर परिक्षण गर्न नसकिने उनलाई थाहा छ । त्यसैले त उनी पर्यटन व्यवसायको भारी बोक्न तत्पर देखिन्छन् । पर्यटनमा यिनको अनौपचारिक ढंगबाट गहिरो अध्ययन छ । त्यसैले त झण्डै ४० करोड लगानीमा नौलो र भव्य फनपार्क निर्माण गरिरहेका छन् । मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालिबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा अबको दुई महिनामा सञ्चालनमा आउन लागेको नेपालगन्ज एक्वा एडभेन्चर पार्कमा केही यस्ता प्रोडक्ट छन्, जुन नेपालमा त के दक्षिण एशियाली देशमै छैनन् । करिब आठ विगाहा क्षेत्रफलमा निर्माण हुन लागेको फनपार्क एण्ड रिसोर्ट पुर्ण रुपले सञ्चालनमा ल्याउँदा करिब एक अरब लगानी हुनेछ । यद्यपी अहिले ३ विगाहा दुई कठ्ठा क्षेत्रफलमा काम भएको उनले बताए । यसमा मुख्यगरी तीन अवयव मुख्य छन् । एडभेन्चर फनपार्क(एक्वा र ननएक्वा), क्वीक सर्भिस रेष्टुरेन्ट(फास्टफुड क्याफे) र खुल्ला क्षेत्र(विवाह, पार्टी र सेमिनारका लागि) रहनेछन् । पुरै आठ विगाहा जमिन उपयोग हुनेगरी लगानी थप भयो भने त्यसमा थिम पार्क र रिसोर्ट पनि हुने डा. मिश्रले जानकारी दिए । अहिले सुरु हुने फनर्पाकमा नै पनि सय जनासम्मले रोजगारी पाउनेछन् । यो फनपार्क सञ्चालनसँगै नेपालगन्जको विकाससँग सहयात्री बन्ने निश्चित छ ।
नेपालको सम्भावनाको क्षेत्र भनेको उर्जा, पर्यटन र कृषि हो । डा. मिश्र पनि यसमा सहमत छन् । आर्थिक रुपले देशलाई माथि उठाउन सक्ने क्षेत्र नेपालका हकमा यी तीन हुन् । वैकल्पिक उर्जाका कारण नेपालको हाइड्रो पावर खपत हुने ठाउँ साँघुरिदै छ । कुनैबेला नेपाल कृषि प्रधान देश भनेर चिनिन्थ्यो । तसर्थ कृषि पनि प्रचुर सम्भावना भएको क्षेत्र हो । नेपालको प्रबल सम्भावना रहेको क्षेत्र भने पर्यटन नै हो । नेपालगन्जका सन्दर्भमा पनि पर्यटन अनि सम्भावना रहेको उनी मान्छन् । यस ठाउँको स्तर बढाउन स्वास्थ्य र शिक्षामा स्तरोन्नति पनि उत्तिकै जरुरी छ ।
तर बाह्य पैसा भित्राउने भनेको पर्यटन नै हो । यसमा पहिलो धार्मिक पर्यटन, दोस्रो प्राकृतिक पर्यटन र तेस्रो माइस पर्यटन हो । नेपालगन्ज यी तीन चिजका लागि काबील छ । बागेश्वरी मन्दिरका कारण धार्मिक पर्यटनको सम्भावना उत्तिकै छ । बाँके राष्ट्रिय निकुञ्ज तथा जिल्ला छेउछाउका जंगल खोला र चुरे पहाडका कारण प्राकृतिक पर्यटन पनि यहाँको सम्भावना छ । नेपालगन्जमा भएको हस्पिटालिटी बिस्तार देखेर यो दुईभन्दा पनि बढ्ता सम्भावना माइस पर्यटनमा देख्छन् डा. मिश्र । एमआईसीई माइस अर्थात मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिविसन । तारे होटलको संख्या देखेर यिनी पनि लोभिएका छन् । र, नेपालगन्जको विविधता, मौलिकता, सांस्कृतिक पक्ष पनि पर्यटक लोभ्याउने माध्यम हुन् । स्वादको परिकारमा पनि उत्तिकै विविधता छ । सडक सञ्जालले देश जोडिदिएको छ ।
नेपालगन्ज विमानस्थलले हवाइमार्गसँग पनि नेपालगन्जलाई जोडेको छ । भारतीय सहर लखनउ र नयाँ दिल्लीसँगको सोझो कनेक्सन पनि नेपालगन्जका लागि लाभदायक छ । यहाँ फनपार्कको आवश्यकता थियो । कोइ पनि पर्यटक नेपालगन्ज आइसकेपछि दिनभर बिताउने थलो थिएन । त्यसको प्रतिफल फनपार्क हो । नेपालगन्ज र आसपासमा अरु पनि दुई वटा फनपार्क निर्माण भइरहेका छन् । किनमेलका लागि सपिङ कम्प्लेक्स, अत्याधुनिक सिनेमा घर तयार हुँदैछन् । कुनै पनि पर्यटकले खोज्ने भनेकै यस्तै कुरा हुन् । प्राकृतिक स्रोत मात्र पर्यटनका आधार होइनन् । कृतिम साधनले धेरै पर्यटक आकर्षिक गरिरहेका छन् । सुविधायुक्त होटल, थिमपार्क, फनपार्क, सपिङ स्पट, स्वादका मौलिक परिकार र सांस्कृतिक विविधता नै कुनैपनि पर्यटकको मुख्य रुची हो । नेपालगन्ज अब यसका लागि तयार हुँदै गरेको डा. मिश्रको बुझाइ छ ।
माथि उल्लेख गरिएका सबै कुरा भइदिए राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुका कर्पोरेट बैठक गराउन सकिने सम्भावना उनले औंल्याए । नेपालगन्ज विमानस्थललाई नयाँ दिल्लीसँग कनेक्सन मात्र गरिदिए बर्षका ५२ साप्ताहिक बिदाका दिन नेपालगन्ज सबै तारेस्तरका होटल भरिभराउ गराइदिने उनको दाबी छ । उनीसँग यस्ता थुप्रै योजना छन् । त्यसैगरी कुनै पनि उत्पादनको बेचबिखनमा लक्ष्य भेटाएमा कम्पनीले दिने भ्रमण अफरलाई यहाँ सदुपयोग गराउन सकिने यिनको बुझाइ छ । ठुला सभासम्मेलनका लागि पनि हस्पिटालिटी क्षेत्रको विकासले टेवा पुराउँछ । यी सबैका कारण प्रदर्शनीहरु गर्ने थलोका रुपमा पनि विकास गर्न सकिन्छ । संसारमा माइस पर्यटन अर्को सम्भावना मानिन्छ ।
माइस पर्यटनका लागि पुर्ण रुपमा सहर चाहिन्छ । सहर भनेको राम्रा होटल, मनोरञ्जन थलो, किनमेल गर्ने थलो, विविध मौलिक परिकार र संस्कृति पाइने ठाउँ हो । अझ थिमपार्क र फनपार्कले यसलाई बिशेष सघाउँछ, तसर्थ यो अत्यावश्यक रहन्छ । माइस पर्यटन यस्तै सहरमा फस्टाउाछ । माइस पर्यटनको सुन्दर पक्ष भनेको ६० प्रतिशत पर्यटक फेरि परिवार र बालबच्चा लिएर आउँछु भनेर फर्कनेहरु हुन्छन् । सबैको मनमा कमाउने र खर्च गर्ने बच्चाको लागि हो भन्ने मान्यता छ । विश्वव्यापी पर्यटक आकर्षित गर्ने भनेको थिमपार्क र फनपार्क नै हो ।
डा. मिश्रले सञ्चालनमा ल्याउन लागेको फनपार्कभित्र अहिले नै पनि एक पटकमा २५ सय मानिसले मनोरञ्जन लिनसक्नेगरी पौडी पोखरीलगायत एडभेन्चर विधा निर्माण गरिएको छ । यस फनपार्कको खास बिशेषता भनेको विश्वकै पाँचौं ठुलो फ्रेस वाटर पुल हो । यसको लम्बाई र चौडाई समान ५०÷५० मिटरको छ । यसमा ४५ मिटरको पुलमा एउटा यस्तो कोर्ष छ, जुन पुरै भारतमा पनि छैन । डा. मिश्रका अनुसार यस्तो कोर्ष समुन्द्रसँग जोडिएको ठाउँमा मात्र सम्भव छ, तसर्थ कृतिम पोखरीका हिसाबले नेपाल र भारतमा यो नै पहिलो हो । यस क्षेत्रमै फरकपन दिनका लागि यो ल्याइएको उनले बताए । भव्य विवाह पार्टीका लागि पनि यहाँ भव्य प्यालेस निर्माण गरिएको छ । यसका लागि ३० वटा बेड रहेको लज पनि छ । विवाह पार्टी वा कुनै आवासीय बैठकका लागि यो तयार गरिएको हो । यद्यपी खास उद्देश्य लजिङ हैन । सबैले इमानदारीपुर्वक काम गरिदिएका नेपालगन्जको मात्र हैन, देशकै विकास र समृद्धि सम्भव छ । बाराक ओबामाले भनेका थिए –‘परिवर्तन सजिलो त छैन, तर असम्भव पनि हैन ।’ डा. मिश्र पनि यसै भन्छन्–‘यी सबै पुर्वाधार निर्माणसँगै बेलाबखत राम्रा राम्रा इभेन्टहरु भइदिए नेपालगन्जको पर्यटन सम्भव छ ।’
अमेरिकानोको चुस्कीसँगै मैले उनलाई सोधें –‘तपाईं चिकित्सक, यस्तो पर्यटनको नवीन सोंच कहाँबाट आयो?’ डा. मिश्रका बुवा पशुपति दयाल मिश्र जिल्लाका चर्चित र स्थापित व्यक्तित्व हुन् । उद्योग, व्यापार, राजनीति र सामाजिक कार्यका हिसाबले अगुवा नागरिक हुन् । नेपालगन्ज विश्वविद्यालयका अभियन्ता पनि हुन् । छोराहरु राम्रो पढेर समाजका लागि केही गरुन् भन्ने सोंचले राम्रै स्कुलमा पढाए । डा. मिश्र वास्तवमा शिक्षक बन्न चाहन्थे । स्कुले जीवनदेखि नै शिक्षण पेशामा जाने इच्छा थियो । तर पारिवारिक माहोलले चिकित्सा क्षेत्रमा जान प्रेरित गर्यो । कुनै दिन चिकित्सा बिषयको प्राध्यापक बन्ने सोच पनि नपलाएको हैन । तर आफुसँगै पढेका सहकर्मीको गन्तव्य अमेरिका बनिरहेको थियो । जुन अहिले पनि छ । यद्यपी यिनको मनमा विदेश पलायन कहिल्यै आएन । भेरी अञ्चल अस्पतालमा कार्यरत रहेकै बेला यिनका मनमा नयाँ केह ीगर्ने सोंच आयो । यिनले ठाने–‘बिरामीको चेकजाँचमा मात्र सिमित रहनुभन्दा अरु नै केही गरेर देशको अर्थतन्त्रमा पनि टेवा पुराउन सकिन्छ कि? मेरो योग्यता र क्षमता अलिक बढ्ता छ कि?’ अनि यिनले आफ्ना अभिभावकसँग परामर्श थालिहाले । महान दार्शनिक प्लेटोले भनेका छन् –‘आफ्नो सन्तानलाई तपाईंको इच्छा अनुसार हिंड्न बाध्य नगराउनुहोस, उनीहरु छुट्टै समयका लागि बनेका हुन् । ’ बुवा पशुपतिले पनि बाटो खुला गरिदिए । डा. मिश्रको इच्छा बमोजिम वातावरण तयार गरिदिए । बुवाको राजनीति तथा समाजसेवा गर्ने ठाउँ र आफु पनि जन्मिएको ठाउँमा केही नयाँ काम गर्ने दृढसंकल्प लिएर यिनी अघि बढिहाले । फलस्वरुप मुर्तरुप लिंदैछ, नेपालगन्ज एक्वा एडभेन्चर रिसोर्ट । यद्यपी यसको ब्रान्ड नामका बारेमा थप परामर्श भइरहेको पनि उनले सुनाए ।
यसको उदघाटनको दिनलाई लिएर डा. मिश्र उत्साहित छन् । किनकी विश्वकै पहिलो फनपार्क डिज्नेको उदघाटनमा ११ किलोमिटर सडक जाम थियो । टिकट मुल्यभन्दा दोब्बर रकम दिएर सिंढी उक्लेर हेर्नेको जमात पनि कम थिएन । आफ्नो फनपार्क पनि हरेक हिसाबले नयाँ दिन खोजेको भएर आम मानिसमा कौतहुलता हुने उनको आँकलन छ । तसर्थ उनले मुस्कुराउँदै सुनाए– ‘हाम्रो फनपार्कमा पनि त्यस्तै होस् ।’ निकै भलादमी र उर्जाशील युवा डा. मिश्रलाई सुन्दा लाग्छ –‘यहाँ अवसरको खाँचो छैन, यहाँ सिर्जनात्मक सोंचको खडेरी छ ।’