नेपालगन्जमा अत्याधुनिक डेरी मुख्यमन्त्रीबाट समुद्घाटन


डेरीमा नौ करोड लगानी

पश्चिम नेपालमैं सबैभन्दा ठुलो लगानीमा नेपालगन्जमा अत्याधुनिक दूध उद्योग स्थापना भएको छ । नेपालगन्जका उद्यमीहरुले सामुहिक ९ करोड लगानीमा स्थापना गरिएको ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’को आज सोमवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समुद्घाटन गरेका छन् । मुख्यमन्त्री पोखरेलले लगानीको सुरक्षामा प्रदेश सरकारको प्रतिबद्धता जनाए ।

https://www.youtube.com/watch?v=YOJNoMYYclg


बाँकेका सफल उद्यमी व्यवसायीहरुको समूहले भक्तपुरमा मोर्डन डेरी उद्योग चलाइसकेका सरोज प्रसाद पाण्डे नेतृत्वमा नेपालगन्ज–२२ मा एसके डेरी स्थापना गरेका हुन् । पाण्डेको अध्यक्ष रहेको एसके डेरीमा गुरुङसँगै टिपी न्यौपाने, सन्तोष पोखरेल र भगवती सहकारी मैनापोखरले साझेदारी गरेका छन् ।


अध्यक्ष पाण्डेले सरकारले आर्थिक भन्दा नीतिगत सहयोग गरिदिएमात्र पुग्ने बताए । ‘साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको यो डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने योजना छ,’ डेरीका निर्देशक किशन गुरुङले दैनिक नेपालगन्जसँग भने, ‘यसका लागि बर्दिया मैनापोखरस्थित भगवती डेरीसंग सहकार्य गरिएको छ ।’
‘यो प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशकै पहिलो ठूलो डेरी र संगठित दूध उद्योग हो,’ निर्देशक गुरुङका अनुसार, यो क्षेत्रमा स–साना डेरी मात्रै संचालनमा छन् ।

https://www.youtube.com/watch?v=n5CteyaIYS0


उद्योगमा भारतका एचएमटी र गोमा कम्पनीका प्लान्ट लगाइएको जानकारी दिंदै निर्देशक गुरुङले नेपालगन्जमा गुणस्तरीय दुग्ध पदार्थ विक्री गर्न ‘फुल्ली अटोमेटिक मेशीन’ लगाइएको बताए । ‘दूधको गुणस्तरमा कुनै समस्या नआओस् भनेर उच्चस्तरीय मेशनरी सामाग्रीको प्रयोग गरेका छौं,’ उनले भने, ‘एसके डेरी उद्योगबाट रोयल च्वाइस ब्राण्डमा दूधका उत्पादन बजारमा आउनेछ ।’


उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम लगायत १२÷१४ उत्पादनहरु हुनेछन् । संगठित उद्योग स्थापना गर्दा त्यसले पशुपालन किसान समेत लाभान्वित हुने विश्वास उद्योग सञ्चालकको छ । प्लान्टमा कुनै कम्प्रोमाइज नगरेको दावी गर्दै निर्देशक गुरुङले दूधको क्वालिटीमा कुनै समस्या नआओस् भनेर आरओ वाटर प्रयोग गरेको जानकारी दिए ।
उद्योगका लागि आवश्यक कच्चा दूध संकलनमा पनि विशेष ध्यान दिइएको बताइएको छ । दूध संकलन गर्नु अघि त्यहाँका किसानलाई विशेष जनचेतना जगाउने कार्यक्रम पनि गरिरहेको एसके डेरीका निर्देशक गुरुङले बताए । उद्योगमा सहकारी संस्था पनि लगानीकर्ताको रुपमा सहभागी भएकाले दूधको गुणस्तर कायम रहँदै त्यहाँका किसान समेत लाभान्वित हुने विश्वास उद्योगको छ । उद्घाटनसँगै उत्पानदको औपचारिक विक्री वितरण शुरु गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए । प्रदेश कृषिमन्त्री आरती पौडेल, प्रदेश सभा सदस्य आइपी खरेल, पूर्वमन्त्री दिनेशचन्द्र यादव लगायत कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया