धुमधाम सकियो ‘शैक्षिक महोत्सव’


बाँकेको खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा नेरा मावि मनकामनापुरमा संचालित २ दिने शैक्षिक महोत्सव बुधबार सकिएकोे छ । दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ मा विभिन्न १७ विद्यामा विद्यार्थीवीच प्रतिस्पर्धा गराइएको थियो ।
खजुरा क्षेत्रका सामुदायिक, निजी र मदरसा गरी ६० विद्यालयका ६७२ विद्यार्थी सहभागी शैक्षिक महोत्सवमा अतिरिक्त क्रियाकलाप पठनबोध, अनुलेखन, चित्रकला, एकल नृत्य, हाजिरीजवाफ, कविता लेखन, एकल गायन, सामुहिक नृत्य, वक्तृत्वकला, नियात्राः, निवन्ध लेखन, वादविवाद जस्ता विद्यामा विद्यार्थीले रुचीपूर्वक भाग लिएको पालिकाका प्रेस सल्लाहकार दुर्गा रोकायले जानकारी दिए ।


खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शैक्षिक महोत्सव निकै उपलब्धीमुलक भएको औल्याए । उनले शैक्षिक महोत्सवले खजुरा क्षेत्रको शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण योगदान पु¥याएको बताए ।
दोस्रो शैक्षिक महोत्सव बारे दैनिक नेपालगन्जसँग प्रतिक्रिया दिँदै शिक्षा तथा खेलकुद शाखा प्रमुख टिकानाथ गोसाईले विभिन्न विद्यामा गराइएको प्रतिस्पर्धाले विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गरेको बताए । उनले खजुरा गाउँपालिकाले शिक्षाको हब बनाउन खोजिरहँदा यस्ता महोत्सव कोशेढुंगा सावित हुने बताए ।
शिक्षा विज्ञ भक्तबहादुर केसीले खजुरा गाउँपालिकाको शिक्षा समितिले खजुरामा गत वर्षदेखि मेयर रनिङ्गशिल्ड प्रतियोगिता, शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलापको आयोजना गरी विद्यार्थीमा निखार ल्याउन खोजेको उल्लेख गरे । आधारभूत तह कक्षा १ देखि ५ सम्म १९३ जना, आधारभूत तह कक्षा ६ देखि ८ सम्म २७१ जना, माध्यमिक तह ९–१० कक्षाका १९३ जना र माध्यामिक तह (११–१२) कक्षाका १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।


दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ सचिवालय संयोजक मित्रलाल सापकोटाले शैक्षिक महोत्सव अत्यन्तै सफल भएको बताए । सहभागिता, व्यवस्थापन र दर्शकको हिसाबले महोत्सव सफल भएको बताउँदै सापकोटाले आगामी दिनमा समय थप गर्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरे । विद्यार्थीको सर्वाङगीन विकासमा महोत्सव टेवा पु¥याएको सचिवालय संयोजक सापकोटाको भनाइ थियो ।


कक्षा ९ र १० तर्फ ज्ञानोदय मावि प्रथम, जेनिथ स्कूल द्वितिय र अरुणोदय तृतीय भएका छन् । कक्षा १–५ दीपक स्कूल प्रथम, अरुणोदय द्वितिय, तिर्खा आधारभूत र जेनिथ स्कूल तृतीय भएका छन् । आधारभूत ६–८ तर्फ ज्ञानोदय प्रथम, दीपक द्वितिय, नेरा आधारभूत सिन्दुरी तृतीय भएका छन् । निवन्ध लेखनमा ११ र १२ कक्षातर्फ सविना चन्द(जनता नमूना) प्रथम, नम्रता श्रेष्ठ (जेनिथ) द्वितिय, शिवम श्रीवास्तव (ज्ञानोदय) तृतीय भए भने वादविवादतर्फ विद्या विक(ज्ञानोदय) प्रथम, आचल थापा(जेनिथ) द्वितिय, सोना रावल (जनता नमूना) र जक्की उल्ला सल्मानी (ज्ञानोदय) तृतीय भएका छन् । सफलता प्राप्त गरेका विद्यार्थी तथा विद्यालयलाई ट्रफी प्रमाणपत्र र नगद पुरस्कार वितरण गरी थप हौसला प्रदान गरिएको प्रेस सल्लाहकार रोकायले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया