१६ हजारका लागि २० बर्ष मुद्दा, २ लाख खर्च

अन्ततः मिलापत्र गरेका मुद्दाका पक्ष भन्छन् ः ‘२० बर्ष मुद्दा लडेर थाकियो । इगोमा कसैले मुद्दा नलडोस्, साना कुरामा मुद्दा होइन आपस मिलेर बसौ, मुद्दाले नाता सम्बन्ध बिगार्छ, पैसा र समयको सत्यनास गर्छ ।’

वसन्त गौतम

नाताले मामा भान्जा । १६ हजारको लागि २० बर्षसम्म मुद्दा लडे । लेनदेनको बिषयबाट उठान भएको मुद्दा पछि बढ्दै जाँदा लिलाम बदर, कृर्ते जालसाझी हुँदै ४ वटासम्म पुगे । मुद्दा लड्दालड्दै दुवै पक्षको २/२ लाख सकियो । समय, श्रम, पैसाको नोक्सानी भएपछि उनीहरु अन्त्यमा मिल्ने निर्णयमा पुगे ।


बाँके खजुराका जलालुनि भन्ने जमाल खाँनले उढरापुरका झवरा खाँनलाई घर ब्यवहार चलाउन कागज गरेर १६ हजार सापटी दिएका थिए । बिभिन्न कारणले झवराले समयमै जमाललाई कर्जा रकम फर्काउन सकेनन् । जमालले २०५७ साल पौष २७ गते बाँके जिल्ला अदालतमा लेनदेन मुद्दा दर्ता गराए ।


अदालतले जमाल खाँनको पक्षमा फैसला ग¥यो । फैसला कार्यान्वयन गर्न जमालले अदालतमा निवेदन दिए । अदालतले जग्गा लिलामी गरेर साँवा ब्याज असुल गर्न लगायो । अरु अंशियारले जग्गा लिलामी उपर मुद्दा हाले । कृषि बिकास बैंकमा रोक्का रहेको जग्गा कसरी लिलामीमा चढी जमाल खाँको नाममा भयो भन्ने विवाद निस्कियो । जग्गा मुल्याङ्कन र लिलामीमा नाम भएकाले हाम्रो हस्ताक्षत कृर्ते हो भने भनेर कृर्ते जालसाझीको अर्को मुद्दा दर्ता गराए । २० बर्षसम्म मुद्दा चल्दा पक्षहरु कहिले जिल्ला त कहिले उच्च अदालतका तारेखमा धाइरहे । मामा भान्जाका नातामा रहेका उनीहरुको परिवारमा बोलचाल बन्द भयो । एकले अर्कोलाई हराएर छाड्ने इगोका कारण समय र पैसा सकेर पनि मुद्दा लडिरहे ।


तर, पक्षहरु २० बर्ष लडेको मुद्दा अदालतको फैसलाबाट नभई न्यायाधीश दुर्गा बहादुर भुषालको पहलमा मिलापत्रबाट टुङ्गिएको छ । मुद्दाको सुनुवाईको लागि गत माघ १९ गते तारेख तोकिएको थियो । २० औं बर्ष जकडिएर बसेको मुद्दा कसरी टुङ्याउने भन्नेमा न्यायाधीश भुषाल विचार मग्न थिए । मुद्दाको सुनुवाई हुने दिन न्यायाधीश भुषालले मुद्दाका दुवै पक्षलाई आपसमा मिल्न आग्रह गरे । दुवै पक्षका कानून ब्यवसायीलाई मेलमिलापको वातावरण मिलाउन आग्रह गरे । मुद्दाको फैसलाले भन्दा मेलमिलापले फाटेका मन जोड्न मद्दत पुग्ने कुरा न्यायाधीशले सुझाए । सो कुराले मुद्दाका पक्षलाई छोयो ।


न्यायाधीशका कुराले मुद्दाका पक्षहरु गम्भीर भएर सोंचे । उनका कानून ब्यवसायीहरु लोक बहादुर शाह, पवन गुप्ता, रिजवान मिर्जा, लच्छीराम सापकोटा, मोहन अर्यालले पनि मुद्दाका पक्षलाई मिल्न सुझाए । मुद्दा लड्दा गुमाएको नातासम्बन्ध खर्च भएको पैसा र समय सम्झे । परिणाम त उनीहरु मिल्ने निर्णयमा पुगे । घरसारमा लेनदेनमा चित्त बुझाएका उनीहरु दुवै तर्फबाट दिएका मुद्दा फिर्ता लिएर पूर्ववत् अवस्थामा मिल्ने निर्णय गरे ।


अदालतमा मिलापत्र गरे पछि प्रसन्न मुद्रामा देखिएका जमाल र झवरा खाँ लगायतका ब्यक्तिहरु आपसमा अंकमाल गरे हात मिलाए । मुद्दा लड्न अदालत उपस्थित भएका अन्य झगडियालाई आफ्ना अनुभव सुनाउँदै भने, ‘हामीले जस्तो इगोमा मुद्दा कसैले नलडोस् । सानातिना बिवादमा कसैले मुद्दा नलडोस् । हामी २० बर्षसम्म मुद्दा लडेर थाक्यौ । पैसा, समय बिना काम खेरा गयो । नाता सम्बन्धमा पनि दरार उत्पन्न ग¥यो । न्यायाधीशका कुराले हाम्रो चेत खुल्यो । मुद्दा मिल्नमा सहयोग गर्ने फाटवाला डम्मर बहादुर बिष्ट लगायत सबैलाई धन्यवाद ।’


मुद्दा लडेको अनुभव सुनाउँदै दैनिक नेपालगन्जसँगको प्रतिक्रियामा जमाल खान र झवराले यसरी आफ्नो सुनाए, ‘१६ हजार बिगोको लेनदेनबाट सुरु भएको मुद्दाको संख्या गएर ४ वटासम्म पुग्यो । दुई जनाबाट सुरु बिवाद मामा भान्जासम्म सीमित नभई अन्य नातेदारसम्म पुग्यो । नाता सम्बन्ध दरार उत्पन्न भयो । एकले अर्कोलाई सिद्धाउने खेल भयो । तर, अन्त्यमा हाम्रो बुद्धि फिर्यो । हामीले जस्तो इगोमा बर्षौ मुद्दा कसैले नलडोस् । यत्तिका बर्षसम्म हामीले सिकेको पाठ के भने इगोले पैसा, नाता सम्बन्ध समय बर्वाद पार्दो रहेछ । सानो कुरामा मुद्दा मामिला होइन गाउँठाउँमा मिलेर बस्नु राम्रो ।’


यसरी बाँके जिल्ला अदालतबाट दुई पटक फैसला भई पुनरावेदन गएको र उच्चबाट तेश्रो पटक पुनः फैसलाका लागि बाँके जिल्ला अदालतमा पठाइएको मुद्दा २० बर्ष पछि आएर दुवै पक्षको आपसी समझदारीमा टुङ्गिएको छ । यसले पहल गरे के हुँदैन भन्ने सन्देश दिएको र मिलापत्र बिवाद समाधान उत्तम बिकल्प हो भन्ने देखाएको न्यायाधीश दुर्गा बहादुर भुषालले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया