महानगर गाथा

साईबाबा भन्छन् –‘कडा परिश्रम गरेर पाएको लाभ मात्र चीरस्थायी हुन्छ ।’ चर्चित हाडजोर्नी बिशेषज्ञ डा. विनोद थापाका हकमा साईबाबाको यो भनाइ लागु हुन्छ । सायद डा. थापा स्वयं साईभक्त हुन् । उनले खडा गरेको चिकित्सा विधाको भव्य विरासत र कार्यकक्ष नियाल्दा यस्तो अनुमान गर्न सकिन्छ । उनको यो विरासत सार्थक हुनमा कडा परिश्रम छ, दृढविश्वास छ, एउटा सुन्दर सपना छ । सिंगो समाजले प्राप्त गर्ने लाभ स्वास्थ्य क्षेत्रमा चीरस्थायी रहने संकेत मिलिसकेको छ ।


महानगर गाथा लेख्ने क्रममा भेट भयो डा. थापासँग उनकै कार्यकक्षमा । बिरामीको चेकजाँचमा व्यस्त थिए । उनी चल्तीका डाक्टर हुन्, तसर्थ अति व्यस्त रहनु स्वभाविक हो । समग्र पश्चिम नेपाल अर्थात प्रदेश नं ५, ६ र ७ गरी तीन प्रदेशका बिरामीहरुमाझ सुपरिचित डा. थापा हाड जोर्नी सम्बन्धमा आशा र भरोसाका धरोहर हुन् । कतिपय बिरामीहरु भारत उत्तरप्रदेशबाट पनि आउने गरेको डा. थापाले हामीलाई सुनाए । यसको खास कारण उच्चकोटीको सर्वसुलभ औषधिउपचार नै हो । सिमावर्ती भारतीय इलाकाबाट बिरामीहरु उपचारका लागि नेपालगन्ज आउनु विदेशी मुद्रा आर्जनको एउटा सुनौलो अवसर हो । जुन आम नेपालीका लागि आफैंमा गौरवबोधको बिषय पनि हो ।


महानगर गाथा कर्मशील नायकहरुको कथा हो । संघर्ष, सफलता र उत्प्रेरणाको कथा हो । जसले सपना देख्छ, सपना साकार पार्न कठोर मेहनत गर्छ, फलस्वरुप प्रतिफल देश र समाजलाई दिन्छ । त्यस्ता पात्रहरुको संक्षेपमा जीवन कथा लेख्ने सानो प्रयास हो महानगर गाथा । यसै सिलसिलामा हामीले भेटेका थियौं डा. थापासँग चारबाहिनी रोडस्थित वेष्टर्न अस्पतालमा । उनकै प्रत्यक्ष निगरानीमा सञ्चालित अस्पताल हो वेष्टर्न अस्पताल । जुन करिब दश कठ्ठा जमिनमा फैलिएको पाँच तल्ले बडेमानको भवनमा सञ्चालित छ ।

माथिल्लो दुई तल्लामा नर्सिङ कलेज छ । अनि बाँकी तीन तल्लामा हाड जोर्नी, स्त्री रोग तथा अन्य बिरामीको उपचार सर्वसुलभ ढंगबाट हुने गर्दछ । शल्यक्रियाका तीन तीनवटासम्म वैकल्पिक मेसिन राखेर उपचार गर्ने सुविधा वेष्टर्नमा छ । अन्य ठुला सहरमा मेसिन बिग्रने बित्तिकै इन्जिनियर तत्काल आउन सक्ने तर नेपालगन्जमा यति चाँडै इन्जिनियर आउन नसक्ने भएको हुँदा तीनवटा सम्म वैकल्पिक उपकरण राख्नुपरेको उनले सुनाए । उनलाई धर्मपत्नी डा. कल्पना थापाले अहोरात्र साथ दिइरहेकी छिन् । डा. कल्पना स्त्रीरोग बिशेषज्ञ हुन् । थापा दम्पत्तिले स्वास्थ्य क्षेत्रमा ठुलो विरासत खडा गरिसकेका छन् । उत्तराधिकारीका रुपमा एक मात्र सन्तान राहुललाई तयार पारेका छन्, डा. राहुल । जो एमबीबीएस सकेर यतिबेला एक बर्षे अभ्यासमा छन् । जुन चिकित्सक करिअरमा आवश्यक मानिन्छ । अब चाँडै बिशेषज्ञता हासिल गर्ने तयारीमा छन् । उनी पनि हाडजोर्नी बिशेषज्ञ पढ्ने तयारीमा छन् । सम्भवतः अबको तीन महिनापछि उनी यस बिषयमा एमडी गर्न जाँदैछन् ।


वेष्टर्न अस्पतालसँगै जीवन रक्षा केन्द्रले डा. थापाकै नेतृत्वमा सफल यात्रा अघि बढाइरहेको छ । जीवन रक्षा केन्द्र उच्चस्तरीय सेवा दिने डाइग्नोस्टिक सेन्टर हो । जहाँ अत्याधुनिक उपकरणबाट सेवा प्रदान हुँदै आएको छ ।


र, साथै डा. थापा परिवारको विरासतका रुपमा निकट भविष्यमै सञ्चालन हुने गरी फरक विधाको व्यवसाय पनि सुरु हुँदैछ, सिने रोयल । होटल स्नेहसँगै जोडिएको परिसरमा सिने रोयल निर्माणको अन्तिम चरणमा काम भइरहेको छ । यो अत्याधुनिक सिनेमा हल हो । जुन नेपालगन्जको प्रमुख आकर्षणमध्येमा सुचिकृत हुने अपेक्षा गर्न सकिन्छ । यो यति भव्य ढंगले तयार हुँदैछ, जुन नेपालकै लागि पहिलो हुनेछ । तसर्थ थापा परिवारको कथा डाक्टरको कथा मात्र हैन, यो सफल उद्यमीको कथा हो ।


डा. थापा आफैंमा प्रेरणादायी पात्र हुन् । उनको पारिवारिक कथा आफैंमा रोचक छ । दाङको जमिन्दार परिवारमा जन्मिएका हुन् डा. थापा । उनका बुवा सयौं बिगाहा जमिनका मालिक थिए । ठुला जमिन्दार थिए । तर शिक्षित थिए, दुरदर्शी थिए । सन्तानको पढाइलेखाइमा खर्च गर्नुपर्छ भन्ने मान्यता राख्थे । बुवाको सोंच बमोजिम नै डा. थापाले सुरुदेखि नै पढाइमा ध्यान केन्द्रित गरे, अन्ततः चिकित्सक बन्न सफल भए । त्यसमा पनि सफल चिकित्सक । २०३९ सालमा भेरी अञ्चल अस्पतालमा कार्यरत रहने गरी उनी नेपालगन्ज आएका थिए । त्यसअघि चितवन पश्चिममा हाड जोर्नी बिशेषज्ञ थिएनन् । यसहिसालबे उनी यस क्षेत्रमा पहिलो हाडजोर्नी डाक्टर हुन् । उनले भेरी अस्पतालसँगै नीजि क्लिनिक पनि सञ्चालनमा ल्याए, हस्पिटल बाहिर । यसलाई बिस्तार गर्नेक्रममा क्लिनिकलाई गणेशमान चोक नजिकै चार बाहिनी रोडसँगै रहेको भवनमा सारे ।

बिरामीलाई भर्ना गर्नेगरी उपचारसेवा दिने उद्देश्यले सुरु गरिएको यो क्लिनिक सुरुमा ४ बेडबाट सुरु भयो । यो १८ बर्षअघिको कुरा हो । सम्भवतः यो नै उनका लागि टर्निङ प्वाइन्ट बन्यो । क्लिनिक बिस्तार हुनेक्रममा १० बेड, १५ बेड हुँदै २५ बेडसम्म पुग्यो । उनको सोंच एउटा सानो अस्पताल बनाउने थियो । तर भेरी अञ्चल अस्पतालमै कार्यरत डा. थापाका सहकर्मी डा. श्यामसुन्दर यादवले ठुलो अस्पताल बनाउन पे्ररित गरे । फलस्वरुप अस्पतालले पाँच तल्लाको आकार ग्रहण गर्यो ।


अहिले १० कठ्ठा क्षेत्रफलको जमिनमा ५० बेडको अस्पतालले बार्षिक करिब २० हजार बिरामीलाई सेवा प्रदान गरिरहेको छ । जहाँ हाडजोर्नीका साथै गाइने, पेड्रियाटिक, जनरल सर्जरी र जनरल मेडिसिनको सेवा उपलब्ध भइरहेको छ । यी सबैको नेतृत्वकर्ता डा. थापा हुन्, उनी भेरी अञ्चल अस्पतालमा पनि कार्यरत नै छन् । हाडजोर्नी विभाग उनकै नेतृत्वमा छ । जसमा डा. तीर्थेन्द्र खड्का र डा. प्रकाश थापा छन् टिममा । आफ्नो टिमप्रति डा. थापा गर्व गर्छन् । ‘हाम्रो समन्वय एकदम राम्रो छ, अन्य दुवैजना डाक्टर निकै मेहनती र दक्ष हुनुहुन्छ ।’ डा. थापा भन्छन् –‘हाम्रो युनिटको नाम नै बिपीटी (विनोद, प्रकाश र तिर्थेन्द्र) रहेको छ ।’ डा. तिर्थेन्द्र र डा. प्रकाशको कामको उनी उच्च प्रशंसा गर्छन् । डा. थापा उमेरका हिसाबले ५९ बर्षका भए । नेपाल सरकारको सेवामा उमेरहदका कारण उनी एक बर्षपछि सेवानिवृत्त हुने चरणमा छन् । हरेक मानिसको आकांक्षा एक पटक आफु कार्यरत संस्थाको प्रमुख हुने गर्दछ । तर डा. थापालाई यस्ता इच्छा कहिल्यै भएन ।


मैले उनलाई सोधें–‘तपाईंलाई मेसु (मेडिकल सुपरिटेन्ड) बन्ने रहर कहिल्यै जागेन ?’
उनले निर्धक्क जवाफ दिए–‘अहँ, मलाई कहिल्यै यस्तो रहर पलाएन, मेसु हुने इच्छा कहिल्यै भएन ।’ यसको एउटै कारण छ, त्यो हो चिकित्सक कहिल्यै पनि प्रशासक हुन सक्दैन भन्ने मान्यता राख्छन् डा. थापा । चिकित्सकको काम नयाँ नयाँ खोज अनुसन्धान गर्नु हो, र बिरामीको उपचारमै तल्लीन हुनु हो । उनकै अनुभवमा बिरामीको उपचारमा जति बढी व्यस्त हुन सक्यो, उपचार विधि सहज र सरल तरिकाबाट पहिल्याउने उपाय भेटिंदै जान्छ । तसर्थ उनी आफु मेडिकल प्राक्टिसनरका रुपमा नै रहन रुचाउँछन् । सरकारी अस्पतालमा कार्यरत रहेकै बेला निजी अस्पतालमा व्यस्त रहने बिषयले बेलाबेला उनको आलोचना नहुने पनि हैन । तर उनी यसलाई त्यति अन्यथा मान्दैनन् । ‘सरकारी अस्पतालमा आफ्नो ड्यटी पुर्ण रुपमा पालना गरेको छु, ।’ उनी भन्छन्–‘त्यहाँको समय पुरा गरिसकेपछि निजीमा व्यस्त रहन्छु, साथै सरकारी जागिरबाट राजिनामा दिन्छु भन्दा पनि मन्त्रालयले नै मान्दैन ।’


चिकित्सा पेशा यस्तो पेशा हो, जसमा जति बढी अभ्यास गर्यो, त्यति नै विज्ञता बढ्दै जान्छ । त्यो विज्ञताले अन्ततः समग्र समाजलाई लाभ हुन्छ । नेपाली सेना अनुशासन पालन गर्ने मामिलामा अनुलनिय संस्था हो । त्यस्तो कडा अनुशासन पालना गर्ने गराउने संस्थामा कार्यरत चिकित्सकलाई पनि सेना मातहत बाहेकका अस्पतालमा काम गर्न छुट रहन्छ । यसले पनि चिकित्सकीय पेशा स्वतन्त्र छ, विज्ञता बढाउने शर्तमा । तसर्थ डा. थापा सरकारी अस्पतालमा कार्यरत डाक्टरले निजी क्लिनिक वा अस्पतालमा काम गरेको बिषयलाई अतिरञ्जित नगर्न सुझाउँछन् ।


यसैबीच मैले डा. थापालाई सोधें–‘तपाईं आफ्नो छोरालाई राम्रो डाक्टर भएको देख्न चाहनुहुन्छ वा सफल उद्यमी बनेको देख्न चाहनुहुन्छ ?’ सँगै रहेका छोरा डा. राहुलतर्फ पुलुक्क हेर्दै डा. थापाले जवाफ दिए–‘राम्रो डाक्टर ।’ किनकी आफु स्वयं पुख्र्यौली सम्पत्तिभन्दा शिक्षाका कारण सफल भएको उनको बुझाइ छ । यो सत्य पनि हो । शिक्षाले मानिसलाई सबल, सक्षम र सफल बनाइदिन्छ ।


महान दार्शनिक प्लेटो भन्थे आफ्नो सन्तानलाई तपाईंको इच्छा अनुसार हिंड्न बाध्य नगराउनुहोस, उनीहरु छुट्टै समयको लागि बनेका हुन् । डा. राहुल २१ औं शताब्दीका उर्जाशील युवा हुन् । उनका असिमित सपना छन् । देश र समाजमा पृथक परिचय स्थापित गर्ने सोंचमा छन् । यद्यपी बुवाको पदचाप भने पछ्याइरहेका छन् । अबको आधा दशकमंै बुवाको विरासत पुर्णरुपमा धान्ने तयारीमा उनी जुटिसकेका छन् । अहिले पनि बिहान उठ्नेबित्तिकै बुवासँगै चेकजाँच र शल्यक्रियामा व्यस्त रहनु उनको दैनिकी हो । यसैबीच उनी नयाँ बिजनेसका लागि समय निकाल्छन् ।


डा. राहुलको सोंचको दायरा निकै फराकिलो छ । उनी अस्पताल परिसरमा मात्र सिमित रहन चाहँदैनन् । उनलाई यो ठाउँप्रति अलग मोह छ । मतलब नेपालगन्जलाई उनी औधी माया गर्छन् । वैकल्पिक पेशा र व्यवसाय स्थापित गरेर देशभित्र रोजगारी सिर्जना गर्ने हुट्हुटी छ । त्यसैले त सिनेरोयल जन्माए । सिनेरोयलको अवधारणा सुनाइरहँदा मलाई लाग्यो, परिवर्तन त युवाबाटै सम्भव रहेछ । डा. राहुल जति ब्रिफिङ गर्न खोज्थे, बुवा डा. थापा बिचैमा रोकिहाल्थे । हरेक बुवा आमा आफ्ना सन्ततिलाई सानै देख्छन् भन्ने यो वार्तालापका क्रममा चरितार्थ भयो । हुनत आफु बाहेक अर्को व्यक्तिको प्रगति उन्नति रुचाउने भनेकै बुवा, आमा र गुरु हुन् । यस हिसाबले डा. थापा छोरा राहुलको प्रगति र उन्नति आफुभन्दा बढ्ता होस्, चौतर्फी छोराको नाम फैलियोस् भन्ने नै चाहन्छन् । त्यसैले त स्वास्थ्य भन्दा एकदम फरक विधाको लगानीमा पनि छोराको रहर पुरा गर्न कुनै कसर बाँकी राखेका छैनन् । आफ्नो जीवनभरको कमाइ छोरा डा. राहुलका सपना, सोंच र भिजन पुरा गर्न लगाइदिएका छन् ।


साईबाबाले भनेका छन् नि जब तपाईं केही गर्नका लागि गर्नुहुन्छ, यसलाई राम्रोसँग गर्नुहोस की केही पनि नगर्नुहोस् । सिने रोयल यस्तै खाले परियोजना हो । जहाँ तीनवटा पर्दा जडित हल हुनेछन् । अत्याधुनिक उपकरण जडान हुने सिनेरोयलको लुक्स र डिजाइन नै यति भब्य र आकर्षक छ कि जोकोही लोभिने निश्चित छ । डा. राहुलको ब्रिफिङ सुन्दा लाग्यो, सिनेरोयलभित्रको सेवा सुविधाका कारण यो नेपालकै नम्बर एक हलका रुपमा स्थापित हुँदैछ । ‘हामी अहिले नै धेरै बोल्दैनौं ।’ डा. राहुल भन्छन्–‘अबको दुई महिनाभित्र सञ्चालनमा आउनेछ, तपाईं आफैं यो सब महसुस गर्नुहुनेछ ।’


मैले डा. राहुललाई फेरि सोधें–‘तपाईं चिकित्सा बिषयको विद्यार्थी, कसरी यो सिनेमातिर चासो जाग्यो?’ उनले हामीसँग भने–‘सुविधासम्पन्न अस्पताल तयार भइसकेको छ, यसको ह्याण्डल गर्न मलाई गा¥हो हुँदैन । एउटै काममा दिनरात हुँदा मोनोटोनस हुन्छ, फरक विधामा काम गर्दा रिफ्रेसमेन्ट हुन्छ । त्यो भन्दा पनि बढ्ता रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सोचेरै वैकल्पिक व्यवसायमा हात हालेको हुँ ।’


डा. राहुल नेपालगन्जको समृद्धिमा ईंटा थप्न चाहन्छन् । जोकोहीले नेपालगन्जको गुणगान गाएको सुन्न चाहन्छन् । यहीं जन्मिए, यहीं हुर्के । यसै ठाउँलाई नै कर्मथलो बनाउने सोचे । त्यसैले अस्पतालबाहेक अरु क्षेत्रमा पनि लगानी गर्ने सोंच बनाए । फलस्वरुप सिनेरोयलले साकार रुप लिंदैछ । कतिपयले यस्तो सुविधासम्पन्न सिनेमाहल संघीय राजधानीमै बनाए वेश हुने सुझाव पनि नदिएका हैनन् । तर डा. राहुल यसमा दृढ थिए, उनी नेपालगन्जमै केही नयाँ र सिर्जनशील काम गर्न चाहन्थे । जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको ठाउँमा अनेकतालाई एकताको सुत्रमा बाँध्ने विधा खेलकुद, साहित्य र सिनेमाको महत्व उनले राम्रोसँग बुझेका छन् । तसर्थ सांस्कृतिक सहरको परिचय बनाउने अभियानमा सिनेरोयल एउटा सार्थक प्रयास हुनसक्दछ ।


मैले कतै पढेको छु, सबै मानिसको साेंच शक्तिशाली बन्ने हुन्छ । सबल र सक्षमता नै शक्तिको परिचय हो । तर विभिन्न कारणले उनीहरु शक्तिमा पुग्न सक्दैनन् । शक्तिमा पुराउने सबैभन्दा ठुलो भर्याङ भनेको पैसा हो भन्ने पनि कतै पढें । पैसा कमाउन मात्र होइन, वचत गर्न जानियो भने मात्र मानिस धनी बन्छ, अनि शक्तिशाली पनि । यसका लागि शिक्षा त अनिवार्य शर्त नै भयो । डा. थापाले अथक मेहनत र परिश्रमले पैसा कमाउन सफल भए । कमाएको पैसा रोजगारी सिर्जना गर्ने क्षेत्रमै लगानी गर्नुपर्नेमा दृढ रहे । त्यसैले अस्पताल खोले, सिनेरोयलसम्मको यात्रालाई निरन्तरता दिए ।


कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ । डा. थापाको जीवनमा पनि यो लागु हुन्छ । उनी कमाउँदै बचत गर्ने व्यक्तिमा पर्छन् ।


प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ । डा. थापासँग सिक्नुपर्ने यो पनि हो ।
अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन् –‘बचत धनी मानिसले मात्र गर्ने कुरा होइन, बरु यो गरिबहरुको साथी हो । आफ्नो कमाइबाट नियमित रुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । तर २ र ४ हजार बचत गरेर के नै हुन्छ र भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ ।’ हो, डा. थापाबाट सिक्नुपर्ने यही नै हो ।

प्रतिक्रिया

प्रतिक्रिया