सतिश निरौला
नेपालगन्ज शहरको अर्को परिचय बन्दै छ साइकल । यही कुरालाई स्थापित गर्ने अभियान अन्तर्गत नेपालगन्ज साइक्लिङ्ग क्लबले २०७५ बाट शुरु गरेको ‘टुर डे ठाकुरद्वारा’को दोश्रो संस्करण यही माघको २४–२५ गते आयोजना भयो । यो यात्राकै कारण देशभरका मानिसहरूले नेपालगन्ज मात्र घुमेनन् नेपालगन्ज हुँदै ठाकुरद्वारा र कर्णाली पुल पनि पुगे ।
सामान्य ज्ञानमा जुङ्गे महादेवको मन्दिर कहाँ छ ? भन्दा नेपालगन्ज भनेर पढेका हेटौंडाका इश्वरराज पौडेल जुङ्गे महादेव कै अगाडि उभिएर दर्शन गर्दै सेल्फी खिच्न पाउँदा बेजोड खुशी देखिए । यही साइकल यात्राका बहानामा पहिलोपटक नेपाल, त्यसको पनि नेपालगन्ज आएका भारत नैनीतालका पर्यटन ब्यवसायी शैलेन्द्र शाह बेहद खुशी देखिन्थे । उनले बागेश्वरी मन्दिर दर्शन गरे अनि उनको खुशी अझ झन् बर्दिया निकुञ्ज पुगेपछि यति बढ्यो कि अब अर्कोपटक समय मिलाएर अवश्य बर्दिया निकुञ्ज आउने त्यो पनि आफ्ना साथीहरूसहित आउने र भारतीय पर्यटकलाई समेत घुम्न सुझाउने बताए ।
भारत कै बरेलीबाट टुर डे ठाकुरद्वारामा सहभागिता जनाउन नेपालगन्ज आइपुगेका सन्जीव जिन्दल र रबिन्दर सिह ओबराय यहाँ पाएको आतिथ्यता र स्वागत सम्मानले गद्गद् हुन पुगे उनीहरुले आफ्नै लवजमा भने, ‘हम लोगोंका इतनाज्यादा प्यार मिला कि हम्ने सोचा भि नहि था ।’ सन्जीव जिन्दल यात्रा सकेर भारत फर्केपछि फेसबुकमा लेखे, ‘मैने ५१ सालमा जो प्यार पाया था उससे कहि ज्यादा प्यार नेपाल मे मिला लभ यु नेपाल ।’ जिन्दलका ती शब्दले भारत भरि सकारात्मक सन्देश प्रवाह गरेको छ ।
निजगढबाट साइकल यात्रामा सहभागी हुन आएका मधुसूदन थारुले नेपालगन्ज, बर्दिया र कर्णाली पुल साइकल मैं घुम्न पाएको भन्दै आयोजकलाई धन्यवाद दिए ।
बिश्व साइकल यात्री पुष्कर शाहले सुनाए, देशभर हुने गरेको ठुलो साइकलका इभेन्टको लिस्ट मा अब टुर डे ठाकुरद्वाराले स्थान पायो यो अब पक्कै एउटा स्थापित कार्यक्रम हुनेछ र यसले नेपालगन्ज शहरलाई समेत ब्रान्डिङ्ग गरेको छ । बुटवल, कपिलवस्तु, निजगढ, हेटौंडा, पोखरा, डोल्पा, काठमाडौ, सुर्खेत, धनगढी, झापा, उदयपुर, दाङ लगायतका शहरबाट आएका सबै साइकल यात्रीहरुले नेपालगन्ज शहरले साइक्लिङ्गका माध्यमले आफुहरुलाई बाँके र बर्दियाका पर्यटकीय गन्तव्य अनि सुदुरपश्चिमको कर्णाली पुल सम्म घुमाएकोमा खुसी व्यक्त गरे ।
पहिलो संस्करण ५४ जनाको सहभागिता रहेको साइकल यात्रा दोश्रो सस्करणमा आउँदा ११८ जना पुगे साइकलको माध्यमबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्र उजागर मात्र होइन यो इभेन्टले सिङ्गो देशलाई जोड्न सफल भएको छ सुदुरपश्चिमका साइकलले भरत बिक्रम शाहले आफ्नो अनुभूति सुनाए ।
साइकल यात्रामा नेपालगन्ज उपमहानगर पालिका मेयर डाक्टर धवल शमसेर राणा आफैं पनि सहभागी भए । उनले पुरै यात्रा साइकलमैं पुरा गरे साथमा नेपालगन्ज मेडिकल कलेजका डाइरेक्टर सुरेश कुमार कनोडिया, अर्थोपेडिक डाक्टर प्रकाश थापा, अधिकारकर्मी भोला महत लगायत नेपालगन्जका सबै क्षेत्रका अगुवाहरु यो यात्रामा सहभागी भएर यो कार्यक्रमको गरिमा मात्र बढाएनन् अब नेपालगन्ज ‘साइकलको शहर’ हो भन्ने सन्देश समेत प्रवाह गरे ।
वातावरण संरक्षण, पर्यटन र स्वास्थ्यका लागि साइक्लिङ्ग भन्ने मुल नारा सहित शुरु गरिएको साइकल यात्राले भ्रमण बर्ष २०२० लाई समेत सघाउ पुर्याउने भन्दै पर्यटन मन्त्री योगेश भट्टराई ले शुभकामना सन्देश समेत पठाएर यो कार्यक्रम आयोजना गर्ने नेपालगन्ज साइक्लिङ्ग क्लबलाई धन्यवाद दिए । अब अवश्य पनि यो कार्यक्रम सिङ्गो नेपालगन्ज शहरको भएको छ । आयोजकले दावाका साथ भन्न सक्छ, यो कार्यक्रमले नेपालगन्ज शहरलाई देश बिदेशमा चिनाउन कोशेढुङ्गा साबित भएको छ ! (साइकल गाथाकार निरौला टुर ड ठाकुरद्वाराका इभेन्ट डाइरेक्टर पनि हुन् ।)