युवा जनशक्ति लागुऔषधको कुलतमा

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले कानुन विपरित कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएका छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक ओलीले जस्तोसुकै अपराधका घटनामा दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउने गरेको बताए । स–साना घटनामा उन्मुक्ति दिंदा अपराधका घटना बढ्दै तर्फ संकेत गर्दै प्रहरी उपरीक्षक वलीले भने, ‘स–साना कुटपिटका घटना भनेर छाड्ने गरेका छैनौं ।’


प्रहरी उपरीक्षक ओलीले गत माघ १५ गते नेपालगन्ज–२ घरबारीटोलका विशाल सुनारमाथि भएको आक्रमणका घटनामा संलग्नलाई खोज्ने क्रममा तीन जनालाई हतियार सहित फेला पारिएको जानकारी दिएका छन् । प्रहरीले नेपालगन्ज न्यूरोडका सुवास शाही, सद्दाव अहमद र जीवन आरसीलाई तरवार सहित फेला परेको हो । ‘पक्राउ परेकाहरुलाई अभद्र व्यवहार कसुरमा अनुसन्धान गरिरहेका छौं’, उनले भने ।


प्रहरी उपरीक्षक ओलीले नेपालगन्जमा लागुऔषध नियन्त्रणका उद्देश्यले पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याएपछि लागुऔषध कारोबारी र सेवनकर्ता विरुद्ध प्रहरीलाई थप सक्रिय पारिएको जानकारी दिएका छन् । ‘लागुऔषध विरुद्ध सूचना संयन्त्रलाई सक्रिय बनाएका छौं’, ओली भने ।
‘लागुऔषध सेवनका कारण परिवारले समेत हैरानी व्यहोर्नु परिरहेको छ, त्यसैले परामर्श केन्द्र मार्फत पुस्र्थापनाको प्रयास सुरु गरेका छौं,’ बाँकेमा लागुऔषध रोगका रुपमा फैलदै गएको उल्लेख गर्दै प्रहरी उपरीक्षक ओलीले भने ।


प्रहरी प्रमुख ओलीले प्रहरीले लागुऔषधको सेवन कर्ता र कारवाही सँगै उनीहरुको सञ्जाल खोज्न थालेको बताएका छन् । ‘हामी लागुऔषधको सञ्जाल खोजेर ध्वस्त बनाउन अभियान चलाएका छांै’, ओलीले भने ।


चालु आ.व.मा १ सय ८ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक ओलीले जानकारी दिए । जसमा १ सय ५९ जनालाई कानुनी कारवाहीका लागि अदालत पठाइएको उनले बताए । ‘नेपाली १ सय ४८ पुरुष, ५ महिला र ६ भारतीय नागरिक रहेका छन्’, उनले भने । चालु आ.व.मा ६ सय ८.७४५ ग्राम ब्राउनसुगर, चरेश ९ सय ९० ग्राम, ४ किलो अफिम, गाँजा ४ किलो ७ सय ७५ ग्राम, कोरेक्स ३ सय एमएल, नाइट्रोजेपाम २ हजार ६ सय १२ ग्राम समातिएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ ।


प्रहरी उपरीक्षक ओलीले लागुऔषध सहित पक्राउ पर्ने र सेवनकर्तामा युवा बढी हुने गरेको बताए । ‘१६ देखि ४० बर्ष उमेर समूहका लागुऔषध दुव्र्यसनीमा फँसेको पाइन्छ’, उनले भने, ‘लागुऔषधमा पक्राउ पर्ने मध्ये २५ बर्ष मूनिका ६६ प्रतिशत रहेका छन् ।’

लागुऔषध मुद्दाका १ सय ८० फरार


लागुऔषध मुद्दामा १ सय ८० जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । दशक अघिसम्मका अदालतबाट सजाय फैसला भएका र प्रहरीमा मुद्दा रहेका लागुऔषध मुद्दामा फरार रहेको पाइएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, अदालतबाट कैद तथा जरिवाना भई फरार रहेकाहरुको संख्या ४ महिला सहित १ सय ५८ रहेको छ । त्यस्तै, प्रहरी कार्यालयमा मुद्दा रही फरार भएकाहरुको संख्या २ महिला सहित २२ जना रहेका छन् । प्रहरीमा मुद्दा रही फरार हुनेको सूचिमा रहेका अधिकांस नेपालगन्जकै रहेका छन् ।

पक्राउ परेका सार्वजनिक

लागुऔषध सहित एक भारतीय नागरिक र दिदीभाई प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध सहित पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले हालसम्मकै दोस्रो ठूलो परिणाम सहित ब्राउन सुगर सहित एक जना भारतीय नागरिकलाई जमुनाहबाट पक्राउ गरेको थियो ।


वि.सं. २०७४ सालमा बाँकेको हिरमिनियाबाट २ सय २५ ग्राम ब्राउन सुगर प्रहरीले फेला पारेको थियो । त्यसपछि शनिबार २ सय ग्राम ब्राउन सुगर सहित भारतीय नागरिक अब्दुल रसिदलाई पक्राउ गरेको हो । प्रहरीले शनिबार र आइतबार गरी लागुऔषधका तीन वटा घटनामा चार जनालाई पक्राउ गरेको हो ।


प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी तीन छुट्टाछुट्टै कारवाहीमा २ सय १८ ग्राम ब्राउन सुगर र २ सय ९५ थान लागुऔषध एम्पुल सहित चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले शनिबार साँझ नेपाल–भारत सीमाको जमुनाह नाकामा चेकजाँचका क्रममा भारतीय नागरिक अब्दुल रसिद २ सय ग्राम ब्राउन सुगर सहित फेला परेको बताएका थिए । ‘अन टेष्ट बाइकमा आएका रसिदले हेल्मेटको भित्री चार वटा प्लाष्टिकमा पोकामा राखेको खैरो हिरोइन (ब्राउन सुगर) सहित फेला परेका हुन्’, प्रहरी उपरीक्षक ओलीले भने ।


त्यस्तै शनिबार नै सीमामै कैलाली टिकापुर नगरपालिका वडा नं. १ बस्ने विष्णु पुरी र उनका भाई शिवराज पुरी १८ ग्राम ब्राउन सुगर सहित फेला परेको प्रहरी उपरीक्षक ओलीले जानकारी दिएका छन् । ‘स्कुटीको मेडगाड भित्र कालो प्लाष्टिकमा लुकाई राखेको खैरो हिरोइन फेला परेको हो’, ओलीले भने ।


आइतबार सुईद्वारा प्रयोग गरिने २ सय ९५ थान लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले जमुनाहबाटै नेपालगन्ज–२ का नगेन्द्र रानालाई मोटरसाइकलको लेगगार्डमा प्लाष्टिकमा झुण्ड्याएर ल्याएको लोरी ९५ थान एम्पुल, बिआइ नोरफिन १ सय एम्पुल, इमिगेन १ सय एम्पुल सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया