बिस्तारिंदै विद्युत
नेपालगन्जमा केही बर्षअघिसम्म भारतको मात्रै विद्युत प्रयोग हुने गर्दथ्यो । नेपालगन्जमा विद्युत अपुग भएपछि नेपाली प्रसारण लाइनसँग पनि नेपालगन्जको विद्युत लाइन जोडियो । तर, कुनै बेलाको विद्युतमा भारतको मात्रै भरोसा रहेकोमा हाल ‘रिजर्भ’ मा मात्रै रहेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज केन्द्रका प्रमुख लखन लला मल्लिकले जानकारी दिएका छन् । ‘सकभर राष्ट्रिय प्रसारण ग्रिडकै विद्युत प्रयोग गर्ने नीति रहेको छ’, वितरण केन्द्र प्रमुख मल्लिकले भने ।
चालु आ.व.को पुसमा दैनिक सरदर २१.५ एमभीए विद्युत खतप भएको प्राधिकरणले जानकारी दिएको छ । ‘नेपालको अपुग भएमा भारतको विद्युत प्रयोग गर्छौ’, मल्लिकले भने, ‘विद्युत नियमिततामा हाल समस्या छैन, यद्यपि, स्वीचिङ गर्दा ५÷१० मिनेट प्रसारण अवरुद्ध हुने गरेको छ ।’
फागुन महिना पछि नेपालगन्जमा गर्मी सुरु हुन्छ । गर्मी सँगै विद्युतको माग बढ्दै जान्छ । ‘हामीसँग ४० एमभीए विद्युत ल्याउन सक्ने क्षमता छ । भारत र नेपाल दुवै तर्फको विद्युत प्रयोग गर्न सकिने भएकाले लोडसेडिङ्गको गर्ने स्थिति आउने सम्भावना देखिंदैन’, वितरण केन्द्र प्रमुख मल्लिक भन्छन् ।
प्राधिकरण प्रमुख मल्लिकले विद्युत प्रसारण लाइन सुधारका लागि तार फेर्ने, ट्रान्सफरमर फेर्ने र थप्ने काम पनि गरिरहेको जानकारी दिएका छन् । उनले मानिसहरुले विद्युत पोल गाड्न र ट्रान्सफरमर राख्न नदिने गरेकाले काम गर्न समस्या हुने गरेको समेत सुनाए । ‘विद्युत सबैलाई चाहिन्छ । तर, पोल र ट्रान्सफरमर आफ्नो घर अगाडि राख्न लागे विरोध गरिन्छ’, उनले भने ।
वितरण केन्द्र प्रमुख मल्लिकले नेपालगन्जको विद्युत नपुगेका क्षेत्र र बाँकेको राप्तीपारी मटेहियासम्म प्रसारण लाइन बिस्तार गरेको जानकारी दिएका छन् ।