लागुऔषधको चपेटामा बाँके, परामर्श केन्द्र उद्घाटन

‘बाँके प्रहरीमा विगत ५ वर्षको अवधीमा लागुऔषधका सात सय ८ वटा मुद्दाहरु दर्ता भए । ती मुद्दामा एक हजार एक सय २५ जना पक्राउ परेका छन् । यो संख्या प्रहरीमा पुगेको मात्रै हो,’ बाँकेमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओली भन्छन् ।


ओलीका अनुसार, प्रहरीको अनौपचारिक अध्ययनमा बाँकेमा ३ हजारभन्दा बढी गाँजा र मदिरा बाहेकको लागुऔषध दुव्र्यसनीहरु रहेको अनुमान गरिएको छ । यो संख्या वर्षेनी १० प्रतिशत भन्दा बढीले बढिरहेको प्रहरीको अनुमान छ ।


नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुुमार लामाका अनुसार, २०६९ सालमा नेपाल प्रहरीले संकलन गरेको तथ्यांकले अप्राकृतिक रुपले हुने मृत्यु मध्ये ८० प्रतिशत लागुऔषधका कारण हुने गर्छ । लामाले ७० प्रतिशत अपराधको कारण पनि लागु औषध दुव्र्यसनी भएको प्रहरीको अध्ययनले देखाएको जानकारी दिए । लागुऔषध सम्बन्धी अपराध वर्षेनी ११.३८ प्रतिशतले बढिरहेको पनि लामाको बताए । प्रहरीका अनुसार, नेपालमा हाल २ लाखको हाराहारीमा लागुऔषध दुव्र्यसनीहरु छन् । प्रहरीले कारबाही गरेका र सुधार गृहबाट उपचार गरि फर्केका मध्ये ९५ प्रतिशत मानिसहरु पुनः कुलत मै फसेको पाइएकोले पनि सबैभन्दा प्रभावकारी उपयुक्त विधी भएको प्रहरी वरिष्ठ उपरिक्षक लामाको भनाइ छ ।


भयावह बन्दै गएको लागुऔषध दुव्र्यसनी र त्यसको नियन्त्रण र रोकथामका लागि सरकारी तवरबाट ठोस काम हुन नसकेको बेला नेपालगन्जमा निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा आएको छ । सामुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत नेपाल प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको परामर्श केन्द्रको उद्घाटन बुधवार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले गरे ।


नेपालगन्जको गणेशमान चोकस्थित प्रहरी कार्यालय भवनमा सञ्चालनमा आएको परामर्श केन्द्रबाट लागुऔषध दुव्र्यसनीको एकिन तथ्यांक संकलन गरिने, दुव्र्यसनी र तिनका अभिभावक र इच्छुक नागरिकहरुलाई मनोसामाजिक एवं कानुनी परामर्श प्रदान गरिने बाँकेका प्रहरी प्रमुख ओलीले जानकारी दिए । त्यसका लागि परामर्श केन्द्रमा एकजना प्रमाणित विशेषज्ञ मनोचिकित्सक, भोलेन्टियर मनोचिकित्सक, लागु औषध सम्बन्धि विज्ञ चिकित्सक, रेकर्ड म्यानेजमेन्टका कर्मचारी एवं सुरक्षाका लागि प्रहरी समेत रहने छन् ।


खण्डहर बन्न लागेको तत्कालिन प्रहरी कार्यालयलाई रंगरोगन र व्यवस्थापन गरि सञ्चालनमा ल्याइएको केन्द्रको उद्घाटन गर्दै प्रहरी महानिरिक्षक खनालले प्रहरी र स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएको परामर्श केन्द्र दिगो र प्रभावकारी हुने दाबी गरे । लागुऔषध दुव्र्यसनीहरुलाई हिरासतमा राखेर नियन्त्रण सम्भव नहुने प्रमाणित भइसकेकोले अब निःशुल्क परामर्शका लागि केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । प्रहरी एक्लैको प्रयासले लागुऔषध नियन्त्रण सम्भव नहुने भन्दै खनालले सोही तथ्यलाई मध्यनजर गरेर प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाबीच सहकार्य गरि केन्द्रको सञ्चालन गरिएको प्रष्ट पारे । उनले परामर्श केन्द्रमा लागुऔषध पीडित जो सुकैले पनि निःशुल्क कानुनी र मनोसामाजिक परामर्श लिन पाउने बताए । लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरिक्षक लामाले परामर्श केन्द्रले लागुऔषधको वास्तविक अवस्था, कारण र निवारणका उपायहरु पत्ता लगाउन सघाउने बताए । उनले केन्द्र मार्फत लागुऔषध तस्करहरुको सञ्जालका बारेमा पनि सुचना संकलन गर्न सकिने र त्यसलाई तोड्न सघाउने विश्वास लिए ।


उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणा र प्रहरी महानिरिक्षक खनालले केन्द्र सञ्चालन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख डा. राणाले लागुऔषध दुव्र्यसनीको नियन्त्रण उपमहानगरपालिकाको पनि चुनौतीको विषय रहेकोमा अब परामर्श केन्द्रले त्यस चुनौतीलाई घटाउन सघाउने विश्वास व्यक्त गरे । उनले उपमहानगरपालिका मात्रै नभई बाँकेका सबै स्थानीय तहका लागि परामर्श केन्द्र उपयोगी साबित हुने भएकोले दिगो र प्रभावकारी सञ्चालनका लागि सबैतिरबाट प्रहरीलाई सहयोग मिल्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


कार्यक्रममा बोल्दै लागुऔषध दुव्र्यसनी विरुद्धका परामर्शदाता दिपेन्द्र कुमार जोशीले परामर्श केन्द्र लागुऔषध विरुद्धमा काम गरिरहेकाहरुका लागि ड्रिम प्रोजेक्ट भएको बताउँदै उक्त योजनाले पूर्णता पाएकोमा खुसी व्यक्त गरे । उद्घाटन कार्यक्रममा सहभागीहरुले केन्द्रको अवधारण वर्तमान आवश्यकता भएको बताउँदै अब दिगो र प्रभावकारी सञ्चालनका लागि प्रहरी र उपमहानगरपालिका जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।


बाँकेमा सञ्चालनमा आएको परामर्श केन्द्रसँगै अब निजी र सरकारबाट सञ्चालित लागुऔषध दुव्र्यसनी विरुद्धका संस्थाहरुको संख्या १५ पुगेको छ । हाल बाँकेमा निजी क्षेत्रबाट लागुऔषध दुव्र्यसनीहरुलाई लतबाट मुक्त गराउन क्रियाशिल १४ वटा पुनस्र्थापना केन्द्रहरु सञ्चालनमा छन् । परामर्श केन्द्र लागुऔषधको रोकथाम र नियन्त्रणका लागि राज्यको तर्फबाट सञ्चालनमा आएको प्रदेश ५ कै पहिलो भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया