खजुरा कृषि क्याम्पसले पायो क्याम्पस प्रमुख

खजुरा स्थित कृषि क्याम्पसले क्याम्पस प्रमुख सहित नयाँ नियुक्त कर्मचारीहरुको पदस्थापन गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायबाट प्राकृतिक स्रोत व्यवस्थापन कलेज (कृषि क्याम्पस) खजुराका लागि कर्मचारी पदस्थापन गरिएको हो । मंगलबार औपचारिक कार्यक्रम बीच विश्वविद्यालयका डिन जेपीदत्तले क्याम्पस प्रमुख डा. कृष्णहरी ढकाल लगायत ६ जना कर्मचारीलाई पदस्थापन गराए ।

केही दिनमै प्राध्यापकहरुको पदस्थापन पनि हुने जानकारी दिंदै डिन दत्तले तीन वटै तहका सरकारसँगको सहकार्य र समन्वयमा खजुरा कृषि क्याम्पसलाई पश्चिमकै नमूनाका रुपमा बनाउन सहयोगको अपेक्षा गरे । ‘यसका लागि स्थानीय जनतासँगै तीन वटै तहका सरकारको समन्वयात्मक भूमिकाको खाँचो छ’, दत्तले भने ।

क्याम्पस प्रमुख डा. ढकाल सहित लेखा अधिकृत, ल्याब असिस्टेन्ट लगायतका नयाँ कर्मचारीहरुलाई स्वागत गर्दै स्थानीय सरकारका तर्फबाट खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले प्रदेशकै नमूना क्याम्पसका रुपमा खजुरा कृषि क्याम्पसलाई विकास गर्न आफ्नो साथ रहने प्रतिबद्धता जनाए । ‘खजुरा पालिकाले आवश्यक सहयोग र समन्वयलाई मूर्त रुप दिन लागिसकेको छ’, चालु आर्थिक बर्षमा कृषि क्याम्पसका लागि १० लाख रुपैयाँ छुट्याइसकेको जानकारी दिंदै प्रमुख कक्षपतिले भने, ‘भौतिक पूर्वाधार निर्माणदेखि जनशक्ति व्यवस्थापनसम्मका आवश्यक ठाउँमा हामी सहयोग गर्नेछौं ।’

जनता नमूना मावि खजुराको दश विगाह जग्गा उपलब्ध भएसँगै खजुरामा कृषि क्याम्पसको सपना साकार भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष कान्तुराम गौतमले कृषि क्याम्पसको सपना साकार भएकोमा खुशी व्यक्त गरे । खजुरा गाउँपालिका प्रमुख कक्षपतिका अनुसार, क्याम्पसले ४० जना विद्यार्थी भर्ना लिइसकेको छ । ‘मध्य तथा सुदूरपश्चिममै यो पहिलो सामूदायिक कृषि क्याम्पस हो’, गाउँपालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘केही दिनमै अध्ययन, अध्यापन सुरु भएपछि थप पूर्वाधारहरुमा काम अगाडि बढाइने छ ।’

विद्यालयले उपलब्ध गराएको १० विगाह जग्गाभित्र रामपुर विश्वविद्यालयले डिपिआरको काम अगाडि बढाइसकेको छ । तत्कालका लागि जनता नमूना माविकै भवनमा अध्ययन सुरु गरिने क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया