‘कुपोषण भएको थाहा पाउँदैनन् आमाहरु’

भेरी अस्पतालमा चालु आ.व.को ६ महिनामा ७० कुपोषित शिशुको उपचार

बर्दियाकी फूलमती चौधरी १६ महिनाकी छोरी लिएर भेरी अस्पतालको पोषण पुनःस्थापना केन्द्रमा आएकी छिन् । जन्मिदै तालुमा प्वाल भएकी छोरीको अप्रेसन गर्नुपर्ने भनेपछि काठमाडौ लग्दा तौल कम भएकोले अपरेसन गर्न नमिल्ने बताइएपछि उनले नेपालगन्ज लिएर आइन् । उनी दुई हप्तादेखि भेरी अस्पतालको पोषण पुनःस्थापना केन्द्रमा बसेर छोरीको उपचार गराइरहेकी छिन् । जन्मिदा तीन केजी तौल भएकी छोरीलाई आवश्यक पोषक खानेकुरा खुवाउन नजान्दा कुपोषित हुन पुगेको हुनसक्ने चौधरी बताउँछिन् ।


१७ वर्षको उमेरमा विवाह गरेकी सल्यानकी–१९ वर्षीया दिलमाया बुढाथोकीले २४ दिनअघि छोरीलाई जन्मदिइन् । ‘जन्मिदा छोरीको तौल तीन केजी रहेको थियो’, उनले भनिन्, ‘तर, केही दिनमै उनको तौल घट्न थालेपछि छोरीलाई भेरी अस्पतालमा लिएर आएँ ।’


भेरी अस्पतालको पोषण पुनःस्थापना केन्द्रमा आईपुग्दा दिलमायाकी छोरीको तौल २ केजी ३ सय ग्राममात्रै थियो । ‘छोरीलाई दुध चुसाउन नजान्दा पर्याप्त पोषण पुगेन र कुपोषित हुन पुगिन्’, केन्द्रकी इन्चार्ज विमला पौडेलले भनिन्, ‘अर्काे तिर बुढाथोकीको कम उमेरले पनि केही प्रभाव पा¥यो ।’


बारबर्दियाकी परदेशनी थारुकी छोरी जन्मिदा दुई केजी तौल थियो । जन्मिदै कुपोषित जन्मिएकी छोरीलाई घरमा पनि पोषिलो खानेकुरा खुवाउन नसकेको परदेशनीले बताइन् । ‘घरमा कति धेरै मान्छे छन्, राम्रो खाना नै पाइदैन । त्यसकै असर छोरीमा पनि परेको हुनुपर्छ,’ परदेशनीले भनिन् ।


सल्यानकै २४ वर्षीया अमृता विकका छोरा जन्मिदा डेढ केजी तौल थियो । त्यतिबेला बच्चा कुपोषित भएको थाहा नपाएको अमृतको भनाइ छ । विभिन्न अस्पतालमा लगेर उपचार गर्दा पनि सञ्चो नभएपछि तीन वर्षपछि मात्रै बच्चा कुपोषित भएको थाहा पाएको उनले बताइन् । तीन वर्षका उनका छोराको उमेर अनुसारको तौल र उचाई छैन । २४ दिनअघि भेरी अस्पतालमा आईपुगेकी उनका छोरालाई पोषण पुनःस्थापना केन्द्रमा राखेर उपचार भइरहेको छ ।


कुपोषणका पछाडि गरिबि मुख्य कारण भएपनि आमाहरुमा ज्ञानको कमीका कारण सही तरिकाले शिशुलाई पौष्टिक आहार नखुवाउँदा कुपोषित हुने क्रम नरोकिएको पोषण पुनस्र्थापना केन्द्रकी इञ्चार्ज पौडेलको भनाइ छ । बाँकेमा रहेका कतिपय समुदायमा ८\९ महिनासम्म पनि आमाको दुध बाहेक अरु नखुवाउने चलनले पनि कुपोषण बढिरहेको पौडेलले जानकारी दिइन् ।
‘कतिपय आमाहरुलाई अहिले पनि दुध चुसाउने सहि तरिकाको ज्ञान नै छैन । कतिले समयमा दुध चुसाउन समेत पाउँदैनन्,’ पोखरेलले भनिन् । पोषक तत्वका लागि महंगा खानेकुरा नै खानुपर्छ भन्ने आवश्यकता नभएको बताउँदै उनले घरमै उपलब्ध खानाहरुलाई नै सही तरिकाले खुवाउने हो भने कुपोषणबाट शिशुलाई जोगाउन सकिन्छ । कुपोषणबाट बचाउन स्वास्थ्य संस्था र स्वास्थ्य स्वयंसेविकाहरु मार्फत जनचेतनाका प्रभावकारी कार्यक्रमहरु सञ्चालनगर्नु आवश्यक रहेको उनले बताइन् ।


भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. पिताम्बर सुवेदी पनि आमाहरुलाई कुपोषणको वारेमा ज्ञानको कमीले समस्या झन् बल्झिने गरेको बताउँछन् । ‘एकातिर सन्तुलित भोजनको वारेमा आमाहरुलाई ज्ञानको कमी छ भने अर्काेतिर कुपोषित भइसकेपछि उपयुक्त उपचारको विषयमा पनि उनीहरुले जानकारी नपाउँदा समस्या हुने गरेको छ,’ डा. सुवेदी भन्छन् ।


‘सही जानकारी नपाउँदा आमाहरु अनेक ठाउँ भौतारिएर अन्तिममा हामीकहाँ आउँछन्,’ सुवेदीले भने । सुवेदीले भनेझै कतिपय शिशुहरु कुपोषणले आँखा नेदेख्ने भइसक्दा मात्रै पुनस्र्थापना केद्रमा आएका धेरै उदाहरणहरु रहेको केन्द्रकी इन्चार्ज पौडेल बताउँछिन् । आमाहरुले गरिबिका कारणले मात्रै कुपोषण नहुने भन्दै सुवेदीले आमाको उमेर, पारिवारिक अवस्था, शिशुको हेरचाह र सन्तुलित भोजनको ज्ञान लगायतका कारण कुपोषण हुने गरेको उनले बताए ।


पोषण पुनःस्थापना केन्द्रले कुपोषित बालकालिकालाई केन्द्रमै राखेर उपचार गरि स्वस्थ बनाएर पठाउने गरेको छ । कुपोषित बालबालिका र तिनकाआमाहरुलाई निःशुल्क रुपमा पुनः स्वस्थ नभएसम्म आवास र सन्तुलित भोजनको सुविधा सहित उपचार गरेर पठाउने गरेको इन्चार्ज पौडेलले जानकारी दिइन् । चालु आ.व.को पौष मसान्तसम्म मात्रै केन्द्रले ७० जना कुपोषित बालबालिकाको उपचार गरिसकेको छ । जसमध्ये ४० जना छोरा र ३० जना छोरीहरु छन् । सबैभन्दा बढी ७ महिनादेखि २४ महिना भित्रका ५३ बालबालिकामा कुपोषणको समस्या लिएर अभिभावकहरु केन्द्रसम्म आइपुगेको तथ्यांक छ ।

प्रतिक्रिया

प्रतिक्रिया