प्रविधिसँग जोडिंदै सहकारी

केही बर्ष अघिसम्म बाँकेका सहकारीहरुमा सबै कारोबार कागजमै हुने गर्दथ्यो । तर, हाल सहकारीहरुले आफुलाई समयानुकुल ‘अपडेट’ गरिरहेका छन् । यसले सेवा प्रवाह दु्रत त भएको छ नै पारदर्शीताका लागि पनि सहयोग पुगेको सहकारीका सञ्चालकहरु बताउँछन् ।
नेपालगन्जस्थित वेस्टर्न बचत तथा ऋण सहकारी संस्थामा ५ हजारसम्मको कारोबार गर्नुप¥यो भने सहकारीको कार्यालयसम्म नै पुग्नुपर्दैन । यदि शेयर सदस्यहरुले आफ्नो मोबाइलमा मोबाइल बैंकिङ्ग एप राखेका छन् भने उनीहरु मोबाइलबाटै कारोबार गर्न सक्छन् । ‘हामीले सुरक्षाको सवाललाई लिएर मात्रै सिलिङ्ग राखेका हौँ । तर, अहिलेसम्म त्यस्तो कुनै समस्या रिपोर्टिङ्ग भएको छैन । शेयर सदस्यहरुको माग भयो भने बढाउन पनि सकिन्छ,’ सहकारीका प्रबन्धक थानिश्वर पाण्डेयले भने ।


बचत तथा ऋणको कारोबार गर्ने भएकोले त्यसलाई सहज, सुलभ र विश्वासिलो बनाउन अत्याधुनिक प्रविधिमा सहकारीलाई जोडिएको पाण्डेयको भनाइ छ । उनका अनुसार, सहकारीका दुई सय ५० भन्दा बढी शेयर सदस्यहरुले मोबाइल बैंकिङ्ग सुविधा उपभोग गरिरहेका छन् । उक्त प्रविधिबाट सहकारीका सेयर सदस्यहरुले आफ्नो खातामा हुने कारोबारको जानकारी लिन, मोबाइलमा रिचार्ज गर्न, सामान खरिद गर्दा वा सेवा उपभोग गर्दा बिल तिर्न, बिजुली बत्ति एवं होटेलको बिल तिर्न, हवाई र सिनेमाको टिकट खरिद गर्न समेत सक्छन् । वेष्टर्नले यो सेवाको सुरुवात गरेको करिब १ वर्ष भइसकेको छ । उक्त सेवा उपभोग गरे वापत सहकारीले वार्षिक पाँच सय रुपैयाँ शुल्क लिने गरेको छ ।


वेस्टर्न जस्तै सेवाको सुरुवात गरेको छ, नमस्ते बचत तथा ऋण सहकारी संस्थाले । नमस्तेले स्क्यान गरेर सिधै कारोबार गर्न सकिने क्युआर प्रविधि समेत प्रयोगमा ल्याएको छ । उक्त प्रविधि प्रयोगमा ल्याउने बाँकेका सहकारीमै पहिलो भएको नमस्तेले जानकारी दिएको छ ।
अब नमस्तेका स्मार्टफोन प्रयोगकर्ता शेयर सदस्यहरुले सहकारीको खाताको स्टेटमेन्ट हेर्नेदेखि लिएर हवाई टिकटसम्म मोबाइलबाटै खरिद गर्न सक्नेछन् । यी दुवै संस्थाहरुले हाम्रो टेक्नोलाजीसँग प्राविधिक सहकार्य गरेर अत्याधुनिक प्रविधिलाई प्रयोगमा ल्याएका हुन् ।

मानिसहरुका हातहातमा स्मार्टफोन पुगेका बेला सहकारीका सदस्यहरुलाई पनि प्रविधिको फाइदा उपभोग गराउन मोबाइल बैंकिङ्गको सुरुवात गरिएको सहकारीका अध्यक्ष विष्णुबहादुर रिमाल बताउँछन् । नमस्तेले यसअघिदेखि नै बचकर्ताको निक्षेप संकलन गर्न ट्याबको प्रयोग गर्दै आएको रिमालले जानकारी दिए । ‘बजारमा जाँदा हाम्रा कर्मचारीले एउटा ट्याब र मोबाइल पोस डिभाईस लगेर जान्छन्, बचतकर्ताहरुको खाताको इन्फर्मेसन त्यसमा हुन्छ । उनीहरुले जम्मा गर्ने रकम अपडेट त्यहीँबाट गर्छन् । यसबाट खर्च पनि कम लाग्ने, समय पनि कम लाग्ने, हिसाब मिलाउन पनि समय नलाग्ने भएको एकदमै सजिलो भएको छ,’ अध्यक्ष रिमालले भने ।
यसैगरि, मेगा बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यहरुका लागि मोबाइलबाटै मोबाइलमा रिचार्ज गर्न, सामान खरिद गर्दा वा सेवा उपभोग गर्दा बिल तिर्न, बिजुली बत्ति एवं होटेलको बिल तिर्न, हवाई र सिनेमाको टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । अब, निकट भविष्यमै थप प्रविधिलाई पनि जोड्ने तयारीमा रहेको मेगाका अध्यक्ष शिवलाल लामिछानेले जानकारी दिए ।


नीति, विधी र प्रविधिमार्फत सहकारीहरु सञ्चालन भएमा सहकारीहरु थप लोकप्रिय र विश्वासिलो बन्ने सहकारी विज्ञ सञ्जय तिमिल्सेना बताउँछन् । मानिसहरुमा आवश्यकता असिमित हुँदै गएकोले यतिबेला पैसा चाहिन्छ भन्ने एकिन हुँदैन । त्यस्तो बेला हातमा भएको मोबाइलबाटै आफ्नो खाताको पैसा प्रयोग गर्न पाइने भएपछि सहज हुने नै भयो,’ तिमिल्सेनाले भने । प्रविधिको प्रयोगले पैसा बोक्दा हुने जोखिम घटाउन, पैसा खातामा नै रहने भएकोले ब्याज पनि कमाइने, पारदर्शी कारोबार हुने र समयको बचत हुने तिमिल्सनको भनाइ छ । प्रविधिको प्रयोगले कर्मचारीहरुले बदमासी गर्न सक्ने सम्भावना पनि घट्ने र नयाँ पुस्ताको आकर्षण सहकारीतिर बढाउन सकिने उनले बताए ।


माथि उल्लेखित सहकारीजस्तै इन्टरनेट प्रविधिसँग जोडिएका सहकारीहरु बाँकेमा थोरै भएपनि सफ्टवेयरको प्रयोग गर्ने सहकारीहरु भने बढिरहेको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार बाँकेका ३० देखि ३५ प्रतिशत सहकारीहरु सफ्टवेयर प्रयोग गरेर कारोबार सञ्चालन गरिरहेका छन् । सफ्वेयरको प्रयोगले खर्च र समयको बचत सँगै कारोबारलाई सुरक्षित र पारदर्शी बनाएको सुवेदीको भनाइ छ ।


सहरी क्षेत्रका सहकारीहरु प्रविधीको प्रयोगमा स्वभाविक रुपले अघि रहेको र गाउँका सहकारीहरुलाई कागजी रुपमै कारोबार सन्चालन गर्नुपर्ने बाध्यता रहेको सुवेदीले बताए । सहकारी विज्ञ तिमिल्सेनाका अनुसार, हालसम्म देशभरका सहकारीमा प्रविधीको प्रयोग के–कस्तो छ भन्ने विषयमा यकिन तथ्यांक नभएपनि करिब दुई सय सहकारीमा एसएमएस प्रविधि सुरु भइसकेको, ५० बढी सहकारीले एटिएम सुविधा सुरु गरिसकेका र ५० प्रतिशत भन्दा बढी सहकारीमा चेकमार्फत कारोबार हुन थालिसकेको छ । नेपालगन्जको नमस्ते र वेष्टर्न सहकारीले पनि एटिएम सेवा सुरु गर्ने तयारीमा रहेको बताएका छन् । ती सहकारीहरुले कार्डलेस एटिएम सेवा सुरु गरिने जनाएका छन् ।


इन्टरनेट प्रविधिमा जोडिदा साइबर सुरक्षा मुख्य चुनौती हुने सहकारीकर्मीहरु बताउँछन् । यसका साथै शेयरसदस्यहरुलाई प्रविधिका वारेमा प्रशिक्षित गर्नुपनि उत्तिकै चुनौतीपूर्ण हुने उनीहरुको भनाइ छ । साइबर असुरक्षाको खतराबाट बच्न प्रयोग गरिने प्रविधि कतिको भरपर्दाे हो र प्रमाणित हो की होइन भन्ने विषयमा गहन रुपमा अध्ययन गर्नुपर्ने सहकारी वित्र तिमिल्सेनाको भनाइ छ । साथै, प्रयोग कर्ताहरुलाई प्रविधिको प्रयोगमा पोख्त बनाउन क्रमबद्ध रुपमा प्रयोगलाई बढाउनुपर्ने नमस्ते बचत तथा ऋण सहकारीका अध्यक्ष रिमाल बताउँनछन् । ‘एकैपटक सबै सेवाहरु प्रयोग गर्न लगाइयो भने त्यसले समस्या निम्त्याउन सक्ने भएकोले क्रमबद्ध रुपले प्रयोग गर्न सिकाउन जरुरी छ,’ रिमालले भने ।


नमस्तेमा मोबाइल बैंकिङ्ग

नमस्ते बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ्ग सेवा सुरु गरेको छ । संस्थाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विष्णु बहादुर रिमालले ‘नमस्ते एमबैंक नेस्ट जेनेरेसन’ मोबाइल बैंकिङ्ग सेवा सेवाको सुरुवात गरिएको जानकारी दिएका हुन् ।
‘हाम्रो टेक्नोजोजीको प्राविधिक संयोजनामा मोबाइल बैंकिङ्ग सेवा सुरु गरिएको हो’, पत्रकार सम्मेलनमा अध्यक्ष रिमालले भने, ‘उक्त प्रविधिबाट सहकारीका सेयर सदस्यहरुले आफ्नो खातामा हुने कारोबारको जानकारी लिन, मोबाईलमा रिचार्ज गर्न, सामान खरिद गर्दा वा सेवा उपभोग गर्दा बिल तिर्न, बिजुली बत्ति एवं होटेलको बिल तिर्न, हवाई र सिनेमाको टिकट खरिद गर्न र अन्य बैंकमा पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ ।’


हातहातमा स्मार्ट फोन भएको अवस्था र वित्तिय संस्थाहरु अत्याधुनिक प्रविधिसँग जोडिसकेको अवस्थामा सहकारीपनि प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता महसुस गरी मोबाइल बैंकिङ्ग सेवा सुरु गरिएको अध्यक्ष रिमालको भनाइ छ । रिमालले मोबाइल बैंकिङ्गमा क्युआर कोडमार्फत पनि कारोबार सुरु गर्ने बाँकेको पहिलो सहकारी भएको दाबी समेत गरे ।


हाम्रो टेक्नोलोजीका कार्यकारी निर्देशक संजय महासेठले मोबाइल बैंकिङ्ग प्रविधि पछिल्लो समय लोकप्रिय बन्दै गएको र एपको सुरक्षामा पनि विशेष ध्यान दिइएको बताए । अध्यक्ष रिमालले प्रविधिका विषयमा शेयर सदस्यहरुलाई पोख्त बनाउन प्रशिक्षण दिइने बताए । सहकारीका व्यवस्थापक शालिकराम डांगीका अनुसार, सहकारीमा हाल एक हजार सात सय ९४ जना शेयर सदस्यहरु रहेका छन् । ती मध्ये करिब ५० जनाले मोबाइल बैंकिङ्ग प्रविधिको प्रयोग गर्न थालिसकेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया